लम्पसारवाद के हो?
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र काङ्ग्रेसको गठबन्धन सरकारले मंसिर १४ गते राति संविधान संशोधन विधेयक सदनमा दर्ता भएलगत्तै काठमाडांैका सडकहरूमा एकाएक चर्चित बनेको शब्द हो–लम्पसारवाद। विशेषतः एमाले र उसका जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ताहरू यो शब्द खुब स्वाद लिएर उच्चारण गर्ने गर्दछन्। यो शब्दलाई राजनीतिको शब्दकोशमा भित्र्याउने श्रेय एमालेका अध्यक्ष केपी ओलीलाई नै जाने गर्दछ। अनेरास्ववियु र युवा सङ्घ नेपालले त बानेश्वरको सडकमा लम्पसार पर्नेहरूलाई व्यङ्ग्य कस्दै लम्पसार प्रदर्शन नै गरेका थिए।
प्रचण्ड सरकार भारतीय विस्तारवादसामु झुकेको मात्र होइन, लम्पसार नै परेर ताबेदारी गरेको अर्थमा यो शब्द प्रयोग गरिएको देखापर्दछ। सरकारले भारतीय विस्तारवादकै इसारामा देशलाई अहित हुने, देश टुक्राउने र भारतीय योजनाअनुसार नै संविधान संशोधन प्रस्ताव ल्याएर भारतसामु लम्पसार परेर अति झुकेर भारतको आदेश पालना गर्ने प्रवृत्तिलाई नै लम्पसारवाद भनिएको हुनुपर्दछ।
त्यसो त प्रचण्डले आफ्नो दलसमेत संलग्न केपी ओली सरकारलाई अचानक र रहस्यमयी तरिकाबाट समर्थन फिर्ता गर्नु पनि भारतीय इसारामा चालिएको चाल थियो। भारतको आदेश नकार्न नसकेर प्रचण्डले भारतसामू लम्पसार परेर त्यसप्रकारको राजनीतिक नैतिकताविपरीतको काम गरेकोलाई पनि लम्पसारवाद शब्दमा सम्बोधन गर्न खोजिएको हुनुपर्दछ।
जे होस्, भारतीय शासक वर्ग र सरकारका सामु नतमस्तक हुने शासकहरूको प्रवृत्तिलाई नै लम्पसारवाद भनियो। तर कतिबेला आफूले कसैका लागि बनाएको धनुषवाणको निशाना आफैलाई पनि पर्नसक्दछ। एमाले नेताहरू भन्थे–प्रचण्ड सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक संविधानविपरीत र देशको सार्वभौमिकता, स्वाधीनता र भूअखण्डतालाई कमजोर बनाउने खालको भएकाले त्यस्ता विषयमा सदनमा छलफल गर्नु हुन्न। त्यो स्वयंमा असंवैधानिक कदम हो। त्यही भावनालाई शिरोपर गरेर एमालेलगायत नौ वटा प्रतिपक्षी दलहरूले सदनमा अवरोध गर्दै आएका थिए। कुनै पनि हालतमा संविधान संशोधन विधेयक छलफलमा प्रवेश नगराउन अभिव्यक्ति दिएका थिए–एमाले अध्यक्ष ओली र अन्य नेताहरूले।
तर पुस २४ गते सदनमा जब सभामुखले संसदीय प्रणाली, मूल्यमान्यताविपरीत न्यूनतम प्रजातान्त्रिक अभ्यासको समेत ख्याल नगरी संशोधन प्रस्ताव टेबुल गराउन दिइन्, एमालेका नेताहरूको प्रस्तुति नेपाली जनता र एमालेकै पार्टी कार्यकर्ताहरूको अपेक्षाभन्दा नितान्त भिन्न थियो। संसदमा कुटाकुट अशोभनीय होला, तर जुन प्रस्तावले देशको सार्वभौमिकता नै ध्वस्त बनाउँछ, त्यो प्रस्तावलाई अघि बढाउन लगाउनुभन्दा कुटाकुट र तानातान धेरै जाति काम हुने थियो। इतिहासले त्यो कदमलाई देशको सार्वभौमिकता रक्षाको लागि गरिएको सङ्घर्षको रुपमा दर्ज गर्ने थियो।
सबभन्दा विडम्बनाको कुरा त के थियो, सदनमा सो विधेयक टेबुल एमाले अध्यक्ष ओलीसँग सहमतिमा भयो। प्रधानमन्त्रीले २६ पुसको दिन चितवनमा त्यही बोले। के पुस २२ गते राजधानीमा भएको विशाल जनसभामा ओलीले जनतालाई दिएको वचन झूट थियो। संविधान संशोधन विधेयक नेपालको सार्वभौमकताविपरीत भएकाले सदनमा छलफल हुन नसक्ने ओलीको बोली जनता झुक्याउने मेलोमात्र थियो। कसको सङ्केत पाएर ओलीले बोली फेरे? भोलि सदनबाट कदाचित यो विधेयक पास भए ओली र एमालेलाई के भन्ने? एमालेको आन्दोलनमात्र स्वाङ र जनता झुक्याउने मेलोबाहेक केही हुनेछैन। गांसेगुसे एकै नासे हुनेछन् माओवादी केन्द्र र काङ्ग्रेसजस्तै एमाले पनिअर्थात् एमाले पनि लम्पसारवादकै परिभाषाभित्र पर्नेछ।
एमाले र ओलीलाई आज समयले इतिहासमा तिनले गरेका सबै देशघाती काम चोख्याउने अन्तिम मौका दिएको छ। महाकाली सन्धिमा खुस्केको एमालेको देशभक्ति फेरि पनि जोगाउन यो ओली र एमालेगणलाई अन्तिम मौका हो। एमाले पनि माओवादी केन्द्र, काङ्ग्रेस र मधेसवादीजस्तै लम्पसारवादी हो वा होइन, आज नेपाली जनता गौर तरिकाले मूल्याङ्कन गरिरहेका छन्।
लम्पसारवाद भनेको भारतीय विस्तारवादसामु लम्पसार पर्नुमात्र होइन बरु जनताका बीच देशभक्तिको स्वाङ पारेर भित्रभित्रै भारतकै ताबेदारी गर्नु पनि हो भन्ने सिद्धान्तको प्रतिपादन गर्ने आधार एमालेको व्यवहार बन्न सक्छ।
तर अब लम्पसारवाद एमालेको मात्र प्याटेन्ट प्राप्त शब्द होइन। एमाले पनि लैनचौरसामु लम्पसार पर्ने जाने हो भने लम्पसारवाद उसैकाप्रति लक्षित भएर पनि प्रहार हुनेछ। लम्पसार पर्नुमात्र लम्पसारवाद होइन, बेइमान गर्न नपाएसम्म मात्र इमानदार भएजस्तो गर्नु अनि अन्ततः आफूलाई फाइदा भएपश्चात् ढोग्नै जानु कुनै राष्ट्रवाद होइन, लम्पसारवाद नै हो। तसर्थ लम्पसारवादको आफूले तुनेको जालमा आफै परौला होश गर है लम्पसारवाद शब्दका प्रबर्द्धकहरू।
– कृष्णभक्त श्रेष्ठ
|