पृथ्वीनारायण शाहले कीर्तिपुरवासीको नाक काटेकै थिए
दिनेशराज पन्त
राजनीतिक परिवर्तन समयको माग हो। परिवर्तन भए पनि मान्छेले कतिपय अवस्थामा पुरानो कुरा बिर्सिन्छ। अर्कातिर, इतिहासलाई तोडमोड गर्ने, उपेक्षा गर्ने र वस्तुगत विश्लेषण नगरी कृतघ्न हुने प्रवृित्त पनि हामीकहाँ छ। पृथ्वीनारायण शाहको सन्दर्भमा यही कुरा भएको छ।
पछिल्लो समयमा पृथ्वीनारायणमाथि लगातार आक्रमण भएको पाइन्छ। उनी राष्ट्रनिर्माता हुन् कि होइनन् भन्नेमा विवाद गरिन्छ। खासमा नेपाल चाहिँदैन भन्ने कुराको कोही मतियार छन् भने उनको विरोध गरे हुन्छ। तर, नेपाल हाम्रो देश हो र यो चाहिन्छ भन्नेहरूले उनलाई गाली गर्न कदापि मिल्दैन। इतिहासको अध्ययन नहुने र उपबुज्रुकहरूले मात्र गर्ने काम हो त्यो।
हामी आज नेपाली भएर बसेका छौं। पृथ्वीनारायणलाई नमान्नु, बिर्सनु र उनको नामको दिवस नै वाहियात भन्नुको अर्थ हामीले नेपालको अस्तित्व नै स्वीकार छैन भन्नु हो। उनी राष्ट्रिय एकताको प्रतीक होइनन् भन्नुको अर्थ हामीलाई नेपाली भएर बस्न हामीलाई मन छैन भन्नु हो। हुनसक्थ्यो, त्यसबेला पृथ्वीनारायण नभएर यो देश एकीकरण गर्ने अर्कै व्यक्ति जन्मिन सक्थ्यो। त्यो त सम्भावनाको कुरा भयो। तर, उनले गरिसकेको काममा हामीले आँखा चिम्लिनु भनेको इतिहासको अपमान हो।
पृथ्वीनारायणलाई आक्रमण गर्नेहरूले विभिन्न आरोप लगाएको पाइन्छ। उनले हाम्रो राज्य खाए, उनले कुनै एकीकरणको भावना नराखी आफ्नै स्वार्थवश राज्य विस्तार गरेका थिए भनेको सुनिन्छ। खासगरी काठमाडौंका बासिन्दाले हाम्रो राज्य खाए भन्ने आक्रोश मिसिएको छ।
मानौं, पृथ्वीनारायणमा हजारौं दोष थियो रे। सुरुवाती चरणमा त उनले ठूलो राज्यको राजा हुनकै लागि राज्य विस्तार गर्दै लगेका हुन्। तर, त्यो कुराबाट हामीलाई फाइदा भयो। हामीले अहिले नेपाल हाम्रो राष्ट्र भन्न पायौं र नेपाली भएर बाँच्न पायौं।
पृथ्वीनारायणको मूल्याङ्कन गर्दा धेरै जना पूर्वाग्रही भएको देखिन्छ। उनी र उनका सन्तानका चरित्र हेरेर उनको मूल्याङ्कन गर्नु वस्तुगत हिसाबले न्यायसङ्गत हुँदैन। उनका सन्ततिको बदनामीसँग जोडेर उनले गरेको नेपाल एकीकरणको योगदान भुल्न मिल्दैन।
हुन त हिजोको समयमा पनि पृथ्वीनारायणको ठीक मूल्याङ्कन भएको थिएन। कतिपय पूर्ववर्ती इतिहासविद्हरूले नै चाकडीको दृष्टिकोणले उनको व्याख्या गरेका थिए। त्यस क्रममा देवत्वकरण पनि गरियो। तर, देवत्वकरण नगरी प्रमाणहरूको आधारमा हेर्दा नै उनको योगदान उच्च रहेको साबित हुन्छ।
हिजोका दिनमा उनका सन्तानहरूले पनि पृथ्वीनारायण हाम्रो पुर्खा हुन्, उनले इतिहासमा ठूलो योगदान गरेका थिए भनेर हेरेको पाइँदैन। सन्तानको रुपमा पुर्खाको नाम भजाएर खानुपर्छ भन्ने दृष्टिकोणमात्रै थियो। अहिलेका मान्छेहरूले पनि उनको योगदानको पाटो नहेरी एकोहोरो विरोध गरिरहेका छन्। उनीहरूले आफ्नै खुट्टामा प्रहार गरिरहेका छन्।
नेपाल फैलिँदा ऐश्वर्य भोगको दायरा बढ्यो हिजोको समयमा मल्लकालमा कान्तिपुर (काठमाडौं), पाटन र भक्तपुर गरी तीन वटा राज्य थिए। थापाथलीदेखि उता बागमतीपारि शत्रु राज्य थियो। हिजो काठमाडौंका मान्छेले कुपण्डोलको ऐश्वर्य भोग गर्न पाएका थिएनन्। यस्तै, पाटनको मान्छेले थापाथली र भक्तपुरको मान्छेले मनोहरापारिको ऐश्वर्य भोग्न पाएनन्।
काठमाडौं, पाटन र भक्तपुरका राजाहरू दाजुभाइ नै भए पनि आपसमा रिस उठ्यो र झैझगडा पर्दा चाडपर्व र जात्रामा सर्वसाधारणले अर्को राज्यमा जाँदा समस्या भोग्नुपर्ने अवस्था थियो।
आज मेचीदेखि महाकालीसम्मको ऐश्वर्य भोग गर्न सबै भूभागका मान्छेले पाएका छन्। त्यसको सुरुवात पृथ्वीनारायण शाहले नै गरेका हुन्। उनले काठमाडौंलाई राजधानी पनि बनाए। बरु त्यसपछि गोर्खा सुक्यो।
यदि पृथ्वीनारायणले राज्य विस्तार नगरेका भए अहिलेको नेपाल नै हुन्थेन। हो, सुरुमा त उनले राज्य विस्तारको दृष्टिकोणमात्र राखेका हुन्। तर, समय क्रममा नेपाललाई कसरी एउटै बनाउने भन्ने उनको ध्याउ' रह्यो। उनी राष्ट्रिय एकताको प्रतीक हुन्। यसको प्रमाण के भने नेपाल भएर त आज हामीले राष्ट्रिय एकतामा यो ठीक छ कि बेठीक छ भनेर हामीले बहस गर्न पाएका छौं।
यसो भन्दैमा हामीले पृथ्वीनारायणलाई शाहजहाँ भनेर तारिफ गर्ने पनि होइन। त्यो त उनका सन्तानले वा उनलाई भजाएर खानेहरूले गर्लान्। हामी सामान्य मान्छेले त वस्तुगत रुपमा हेर्ने हो।
क–कसको राज्य खाए?
काठमाडौं खाल्डो आसपासमा उतिबेला तामाङ, नेवारलगायत विविध जातजातिले यहाँ हाम्रो राज्य थियो भन्ने दाबी गर्छन्। पृथ्वीनारायणले गर्दा त्यो गुम्यो भनेर सत्तासराप गर्ने गरिन्छ।
यहाँ ती जातजातिको राज्य रहेको भए पनि पृथ्वीनारायणले राज्य विस्तारको क्रममा आफ्नो पकडमा नलिँदैमा ती राज्यहरू कसरी स्वतन्त्र रुपमा रहन सक्थे? किनकि अस्ताउँदै गएको मुसलमानी शक्ति र बढ्दै गएको अङ्ग्रेज शक्तिको चेपुवामा अवश्यै पर्थे उनीहरू। स्वतन्त्र रुपमा अस्तित्वमा रहन असम्भव थियो।
नेपाल भयो र हामीले आफ्नो राज्य गुमायौं भन्ने हो भने पृथ्वीलाई जति गाली गरे पनि हुन्छ। नत्र अरु आधार भएन।
तराईमा स्वतन्त्र राज्य थिएन
पृथ्वीनारायणमाथि अर्को आरोप लगाइन्छ, दुई सय ४० वर्षदेखिको तराईको राज्य खाइदिए भनेर। त्यो रिसले पनि कतिपयले उनीमाथि पूर्वाग्रह साँधेको पाइन्छ। विदेह र जनकहरूको युगमा तराईमा स्वतन्त्र राज्य थियो होला। तर, जुन बेलामा पृथ्वीनारायणले कब्जा गरे, त्यो बेलामा त तराई छुट्टै राज्य नै थिएन।
तराईका अधिकांश ठाउँमा पहाडी मूलका सेन राजाहरूको राज्य थियो। अवधका नबाब र त्योभन्दा अगाडि मुगलका बादशाहहरूले सेन राजाहरूलाई तराईको भूभाग कमाउन दिएका हुन्। त्यस हिसाबले तराई भन्नु त्यतिबेला सेन राजाहरूको राज्यको अङ्गमात्र हो।
आज हेपिएका, दबिएका भनिएका जातजातिले पृथ्वीनारायणकै कारण राज्य खोसिँदा जातिगत रुपमा आफूहरू पछि परेको बात लगाउँछन्। तर, उनले एकीककरण गर्नुभन्दा अगाडिको समयमा ती जातजातिको अवस्था कति राम्रो थियो त? त्यसरी पनि हेरौं। म त भन्छु, उनले एकीकरण अभियानबाट बरु बाहुन, क्षेत्री पो पीडित भए। गोर्खाली पीडित भए। किनकि उनीहरू भुरेटाकुरे भए पनि राजा भएर बसेका थिए।
पृथ्वीनारायणले कुनै राज्य जितेपछि त्यहाँका जनता कोही प्रताडित हुनु परेन। बरु अमनचैन पाए। यो ऐतिहासिक तथ्यले बोल्छ। वि.सं. १८२६ मा रणजित मल्ल नेतृत्वको भक्तपुरमाथि उनले जित हात पारे। त्यसपछि भक्तपुरअन्तर्गत ठिमीका त्यसबेलाका भारदार ज्योतिषी खलकले लेखेका छन्, 'रणजित मल्ल जुजु (राजा) हुँदा हरेक कुरामा महँगी थियो, पृथ्वीनारायण राजा हुँदा सस्तो भयो।' उनीहरूले बरु त्यतिबेला नै कुरा बुझेका रहेछन्।
पृथ्वीनारायणले आफूले जितेका ठाउँमा स्थानीय संस्कृतिलाई नै बढावा दिए। आफ्ना कुरा थोपरेनन्। उनले कान्तिपुरमा आक्रमण गर्दा कुमारीको जात्रा चलिरहेको थियो। कुमारी त मल्ल राजाले मानेकी देवी थिइन्। तर, उनले जितेपछि पनि कुमारीलाई नै मानेर शासन चलाइदिए।
वीर त अरु पनि थिए तर133
नेपालकै सन्दर्भमा कुरा गर्दा पृथ्वीनारायणभन्दा ठूला वीर त मुकुन्द सेन, यक्ष मल्ल थिए। पाल्पाका सेन त काठमाडौं उपत्यकासँग पनि लड्न आएका थिए। तर, उनीहरूमा सूक्ष्म भिजन थिएन। उनीहरूले राज्य भनेको राजाले बाँडेर खाने भनेर सम्झिए। पृथ्वीनारायणले भने त्यसरी सोचेनन्।
उनले आफ्नो उपदेशमा बाउआमाको नाम लिएका छैनन्, तर भाइहरूको बारेमा उल्लेख गर्दै 'हामी तीन खोपीका गरी पाँच पाण्डवका अवतार भयाका थियौं भनेका छन्। भाइहरूसँग राज्य बाँड्ने कुरामै उनको मत मिलेन। माहिलो भाइ महोद्दमकीर्ति शाहले विद्रोह गरेर तराईतिरको राजा हुन खोजेका थिए। तर, उनी टुक्रा नेपाल चाहँदैन थिए। राज्य बाँड्न नमानेपछि भाइहरू विरोधी भएर निस्किए।
यदि सिन्धुलीको लडाइँमा पृथ्वीनारायणले 'किन लकलाई हराउन नसकेका भए नेपालको वर्तमान स्वरुप नरहन सक्थ्यो। तर, त्यहाँ उनले किन लकको सेनालाई हराएको विक्रम सम्वत् १८२४ असोज १५ गते हो। यहाँ कार्तिक २४ गते मानिराखेका छन्। इतिहासलाई प्रामाणिक ढङ्गले राख्ने पद्दति नभएको देश भएर यस्तो जथाभावी भएको हो। हामीकहाँ वस्तुगत आधारमा व्याख्यान गर्ने पद्धति हैन, आफ्नो अनुकूल गर्ने प्रवृित्त छ।
कीर्तिपुर छुट्टै राज्य थिएन
कतिलाई अहिले के भ्रम छ भने त्यतिबेला कीर्तिपुर भिन्नै राज्य थियो। यो गलत बुझाइ हो। कीर्तिपुर छुट्टै राज्य नभई पाटनअन्तर्गतको राज्य थियो। त्यतिबेला पाटनका राजा थिए तेजनरसिंह मल्ल।
लडाइँको क्रममा कीर्तिपुर तहसनहस नै भए पनि त्यसबाट पनि पृथ्वीको औचित्यहीनता हुँदैन। हामीलाई नेपाल चाहिँदैन भनेको खण्डमा उनको औचित्य नामेट पार्न मिल्छ। गोर्खामा नरभुपाल शाह राजा हुँदाको समयसम्म सबै बाइसीचौबीसी टाकुरे राजाहरू थिए। पृथ्वीनारायणले ती सबै राज्यलाई एउटै मालामा उनेपछि नै आधुनिक नेपाल बनेको हो।
धार्नीको हिसाब नगरौं, नाक–कान काटेका थिए
पृथ्वीनारायणले विक्रम सम्वत् १८२२ चैत ३ गते कीर्तिपुरमाथि विजय प्राप्त गरेका थिए। त्यस क्रममा उनले विरोधीहरूको नाक काटेका थिए भनेर एकथरि भन्छन्। उनको तारिफ गर्नेे अर्काथरि भने नाक–कान काटेकै थिएनन् भनेर हिँड्छन्। उनले नाक–कान काटेकै हुन्।
पृथ्वीनारायणले कीर्तिपुरमा कतिपय विरोधीहरूको नाक काटे भनेर प्रामाणिक रुपमै देखिन्छ। त्यो विषय उनी आफैं पनि इतिहास लुकाउने पक्षमा थिएनन्।
उनका दरबारिया पण्डित ललितावल्लभले वि.सं. १८२७ मा लेखेको 'पृथ्वीन्द्रवर्णोदय' मा त्यसबारे प्रस्टसँग लेखिएको छ। त्यहाँ पृथ्वीनारायणको तारिफ गरेकै ठाउँमा कीर्तिपुरमा आफ्ना केही विरोधीहरूको उनले नाक काटिदिए भनेर लेखिएको पाइन्छ।
मेरो अनुसन्धान अनुसार, वि. सं. १८२२ चैत ३ गते कीर्तिपुर विजयपछि चैत २७ गते नाक काटिएको रहेछ। तर, कति जनाको काटियो? १७ धार्नी भयो कि १८ धार्नी भयो? त्यो त कसैले जोखेको थिएन होला। त्यो अर्कै पक्ष भयो। तर, पृथ्वीनारायणले त्यस्तो काम नगरेको भए हुन्थ्यो।
तीन पटकको प्रयासमा कीर्तिपुरमाथि विजय हासिल भएको थियो। वि. सं. १८१४ को पहिलो लडाइँमा पृथ्वीनारायणको प्यारा काजी 'प्रधानमन्त्री) कालु पाँडे मारिए। दोस्रोमा उनका कान्छा भाइ सुरप्रतापको आँखा फुट्यो। अर्का भाइ दलजित शाहको खगाली हाड (ढाडको) भाँच्चियो। यी कुरा प्रामाणिक हुन्। विजय प्राप्त गरिसकेपछि त्यसैको आवेगमा उनले रिस फेरेको हुनसक्छ।
अरु भनाइ के छन् भने, लडाइँको बेला केही कीर्तिपुरेले नै ढोका खोल्दिएर पृथ्वीनारायणको सेनालाई भित्र पसाउन सघाए। पछि धोकाले दुई–चार जना गोर्खालीलाई मारिदिए। पछि उनले त्यो घटनामा को–को संलग्न थिए भनेर नाइकेहरूको नाक–कान काटे भन्ने भनाइ छ।
त्यस्ता केही घटना अघि सारेर पृथ्वीनारायण क्रूर शासक थिए कि भनेर पगरी गुथाउने कोसिस गरिन्छ। तर, उनी त्यसबेलाका समसामयिक कुनै पनि शासकभन्दा क्रूर थिएनन्। उनी कुशल राजनीतिज्ञ थिए।
कुनै पनि शासकहरूले मान्छे मारेकै कुरा गर्ने हो भने पृथ्वीनारायणले काठमाडौं र पाटनमा आक्रमण गर्दा जनधनको खासै क्षति भएन। भक्तपुरमा भने अलि बढी भयो। लडाइँमा एउटा आफ्नै भाइ सुरप्रताप थिए भने अर्का योद्धा थिए वंशराज पाँडे। अधिराजकुमार रहेका सुरप्रतापमा उत्ताउलोपना भएकोले उनले भक्तपुरमा बढी मान्छे मारे भनेर पृथ्वीनारायणको मनमा पर्यो। त्यसैले त्यसको अपजस भाइलाई दिए।
उनी भावनामा बग्ने भए त भाइलाई माया गरेर वंशराजलाई नै दोष दिने थिए होलान्। पृथ्वीनारायण त्यसभन्दा माथिल्लो सोचका थिए। उनी शासकीय दृष्टिकोणले माथि थिए।
आफूमा दोष आएपछि सुरप्रताप दाजुसँग रिसाएर हिँडे। उनी पश्चिमतिर फन्किएर हिँडे। तर, त्यस क्रममा पश्चिमका राजाहरूले अर्कै सोचे। उनीहरूले यो त गोर्खालीले पठाएको जासुस भन्ने सम्झिएर सुरप्रतापलाई मारिदिए।
(नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ प्रा. पन्तसँगको कुराकानीमा आधारित) –अनलाइन खबर
|