सांसदहरू पैसामा बिक्ने होइन
अहिले संसदमा संशोधनसहित पेस भएको प्रस्तावित संविधान पारित भए पनि पूर्णता पाउने होइन। त्यो संविधान सबैको निम्ति सन्तुष्ट पनि हुँदैन। संयुक्त लोकतान्त्रिक मेधसी मोर्चा आफै प्रस्तावित संविधान परिमार्जन हुनुपर्ने माग गर्दैछ। मोर्चाको अहिलेको माग पूरा भए पनि फेरि अर्को माग राख्दै आन्दोलन गर्नेमा शङ्का छैन। संविधान संशोधन गर्नै नहुने होइन। संविधान संशोधनविना निर्वाचन गर्न नदिने या विथोल्ने काम प्रजातान्त्रिक आचरण होइन। संविधान संशोधन नहुने कारण निर्वाचन रोक्न मिल्दैन, रोक्नु हुँदैन। अहिलेलाई एकचोटि मोर्चाको मागप्रति समर्थन गरौंला भनेर देशलाई बर्बादीको खाल्डोमा जाक्ने काम गर्नु उचित होइन।
सत्तारुढ दलका नेताहरू संविधान पारित गर्नेतर्फ गणितीय हिसाब गर्दैछन् सांसदहरूको मत तान्ने अनेक तिकडम गरिरहेका छन्। हो, प्रस्ताव पारित गर्न सांसदहरूको किनबेच हुनसक्छ, सांसदहरूलाई अनेक लोभलालचमा फसाएर मतदान गराउनबाट वञ्चित गराउन सकिन्छ, विदेश पुर्याएर सांसद बेपत्ता पारेको संसदीय व्यवस्थामा नदेखिएको होइन। कहिले मन्त्री पद दिएर त कहिले किनबेच गरेरै सांसदहरूको मत खिच्ने काम विगतमा नभएको होइन। त्यही रोग अहिले दोहोरिंदैन भन्न सकिंदैन। संशोधन संविधान देश र जनताको पक्षमा छैन भने जसले जस्तोसुकै लोभलालच देखाइए पनि फस्नु र फसाउनु हुँदैन।
सासंदको भाउ विदेश शयर गर्न पाएर बढ्ने होइन न त १०/२० लाख रुपैयाँ पाएर नै बढ्छ। विगतमा सांसदहरूको हुनसम्मको बेइज्जत भएको थियो। पुरुष सांसदले सुत्केरी भत्ता लिनसमेत पछि परेनन्। सांसद किनबेच भयो, विदेश लगियो। पार्टी फुटाइयो। सांसदहरू विनाभिसा विदेश गए र थुनिए र देशकै बेइज्जत भयो। माओवादीका एक सांसदले नक्कली विद्यार्थीमार्फत आफ्नो एसएलसी परीक्षा दिलाइयो। कतिले पदको दुरुपयोग गरेर अकुत सम्पत्ति कमाए। संविधान संशोधन पारित गराउन पनि सरकारले त्यस्तै षड्यन्त्रहरू गरिरहेको हुन्छ। यसरी दलगत, व्यक्तिगत स्वार्थ पूरा गर्न अघि सर्ने कुनै सांसद रमन्त्रीलाई खबरदारी गर्नैपर्छ।
–वस्तुराज 'शीतल'
|