|
ऐतिहासिक नवदुर्गा नाच (जात्रा) –एक परिचय
नारायणमान बनमाला
सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक श्री नवदुर्गा को माछा मार्ने जात्रा २०७३ पुस २९ गतेदेखि भक्तपुर नगरपालिका वडा नं १ सूर्यमढी (त्वचा) बाट वापी पाछाकिगु जात्राबाट शुभारम्भ भयो। हरेक वर्षझैं परापूर्वकालबाट निरन्तर चल्दै आइरहेको नवदुर्गा देवगणको माछा मार्ने जात्रा भक्तपुर नगरपालिकामा मात्र ८ महिनाभित्र २१ स्थानमा गरिन्छ। यस जात्रा सञ्चालन गर्न नेवारी जातिहरूमा जतिसुकै समस्याहरू देखिय तापनि जात्रालाई वर्तमान अवस्थासम्म निरन्तर सञ्चालनमा बढीजस्तो उजाजु (वनमाला) जातिको महत्त्वपूर्ण भूमिका देखिन्छ। सोही जात्राको निरन्तरताबाट उजाजु जाति सबै क्षेत्रमा पछाडि परेको देवगणहरूको भनाइ छ। हरेक वर्ष टोलटोलमा घुमाई भक्तजनहरूको श्रद्धाको पूजा प्रसादग्रहण गरी किन माछा मार्ने जात्रा सञ्चालन गरिन्छभन्नेबारे छोटो जानकारी यहाँ प्रस्तुत छ।
नवदुर्गाको जात्रा मल्लकालदेखि सञ्चालन हुँदै आएको भए तापनि यसको कुनै तथ्य प्राप्त गर्न सकिरहेको छैन। यस नवदुर्गाको जात्राबाट मानव समाजको सन्देश दिइरहेको पाइन्छ। यसको कुनै लिपि लेख–रचना नभएको कारण जात्राको महत्त्वमा कमी आइरहको देखिन्छ। मातृसत्तात्मक समाजदेखि देवीहरूको समूहबाट यस जात्रामा मानव समाजको बारेमा दिशानिर्देशन गराउन यो जात्रा चलाएको हुनुपर्छ। देवीहरूको पहिरण, मुकुन्दो लगाई गीति नाटकको रुपमा देखाइने सो जात्रामा खिंबाजा, छंबाजा, कंशबाजा, भैरव, महाकाली, बाराही, कुमारी, गुजेकाली, महालक्ष्मी, महादेव, गणेश, ब्रह्मायणी, महेश्वरी, भद्रकाली, पुजारी नकीं, बालकुमारी, दुम्हा, सिम्हा, श्वेतभैरव देवगण रहेको छ। पाँच रङ्ग(रातो, कालो, सेतो, हरियो र पहंेलो) बाट विभिन्न किसिमको नाच प्रस्तुतिमा शाकाहारी र मांसाहारी छुट्टै रहेको छ। यस नाचमा पारिवारिक भूमिका, नारीप्रति अपहेलनाबाट उत्पन्न नारीक्रोध, दानव नरसंहार, चेलीबेटीको विलाप, केटाकेटीको चकचके व्यवहार, दैनिक जीवनमा गर्नुपर्ने सरसफाइ, मानव जीवनमा गर्ने वेलविवाह, दाम्पत्य जीवनमा हुने रीतिरिवाज र मतिनानाच आदिको जात्राले दिशाबोध गरिरहेको पाइन्छ। यस जात्राबाट दैनिक जीवनमा खानपिनाबारे पनि विशेष रुपमा जानकारी गराएको पाइन्छ। द्यो ब्वोकेगु अथवा प्रसादग्रहण गर्नेबारे पनि परिकारकोे आधारमा देखाइरहेको छ। माछा, अण्डा, बारा, चतामारी, योमारी, भटमास, सम्हेबजी, मासुको परिकार, गेडागुडी, दही चिउराको साथै चौरासी व्यञ्जनको पनि यस जात्रामा जानकारी गरिन्छ। पञ्चबलिको रुपमा हाँस, कुखुरा, राँगो, बोका र भेडा बलि दिने गरेको पाइन्छ। मुःबाँहाको रुपमा सुँगुर लखेटेर बाँहा लिकेगु जात्रा गर्नुको साथै जाँडरक्सी चढाउने विशेषता रहेको छ। मानव समाजमा हुने व्रतबन्ध शुभविवाहजस्ता शुभकार्यमा यस नवदुर्गा देवगणलाई द्यो ब्वोकेगु कार्य गर्दा आफ्नो सन्तान निरोगी हुने, गरेको काम सफल र कुल स्थिर हुने जनविश्वास रहेको छ। कुनै दिन आफ्नो दशा बिग्रेको बेला नवदुर्गाको प्रसाद ग्रहण गर्नेमध्ये दही–चिउरा पञ्चरङ्गी धागो ,मूल पात्रको जल कालो टीका (मोहनी) ग्रहण गर्दा विघ्न बाध्ाा हट्नुको साथै निरोगी हुने विश्वास रहेको पाइन्छ। कुनै दिन आफ्नो नयाँ घर निर्माण गर्दा घरमा शान्ति हुने,कुनै डर त्रासबाट मुक्त हुने विश्वास रहेको पाइन्छ। यो नवदुर्गाको जात्रा भक्तपुरनगरमा मात्र सीमित नभई पशुपति, टोखा, गोकर्ण, साँखु, चाँगु, ठिमी, साँगा, नाला, धुलिखेल, बनेपा, खम्पु, पनौती गरी विभिन्न स्थानमा जात्रा सञ्चालन गरिन्छ। यस जात्राबारे नयाँ पींढिलाई जनचेतना दिने उद्देश्यका साथ मानव जीवनमा आधारित ऐतिहासिक महत्त्व बोकेको सांस्कृतिक धरोहरलाई जोगाउन सम्बन्धित निकाय र जनचासोको निम्ति पहल गरी संरक्षण गराउनुपर्ने देखिन्छ।
|