September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

छोरा मार्ने आमाको बयान

कथा 

सुरेश यक्सो 

'मेरो दश वर्षे कार्यकालमा तिमीजस्तो पापी आईमाई मैले कैले पनि देखिना। संसारमा तिमीजस्तो आमा पनि हुँदो रै छ। कसरी छोराको हत्या गर्न सक्यौ। त्यो बच्चाको के दोष थियो? लु भन तिमीले छोराको हत्या किन गर्‍यौ?' प्रहरी निरीक्षकले आक्रामक शैलीमा हत्यारालाई सोधे। साब, मेरो नाम लक्ष्मी हो। मलाई गाउँमा माइली पनि भन्छन्। म अहिले २६ वर्षकी भएा। मेरो श्रीमान्को नाम जीतबहादुर हो। हाम्रो ६ वर्षको छोरा थियो। मेरो घर यहाँबाट दुई घण्टामा पुगिन्छ। हाम्रो सानो परिवार थियो। मेरो लभ म्यारिज भएको हो। हामी हाँसीखुसी नै बसेका थियौं। उहाँको पैसा आउने खालको काम केही थिएन। मेरो साथीहरूले सुन र नयाँ साडी लाएर हिंडेको देख्दा मलाईभन्दा बढी मेरो बुढाले पीर मान्नु हुन्थ्यो।  

प्रायः गाउँमा सबैका बुढा विदेशमा थिए। उहाँ पनि विदेश जान्छु र तिमीलाई पनि सुन किन्दिन्छु भनिराख्नु हुन्थ्यो। सुन र नयाँ साडी लाउन कुन छोरी मान्छेलाई मन पर्दैन होला। तर विदेश जानेहरूको कहिले के कैले के नराम्रो खबर सुनिराख्थे। त्यही भएर बुढालाई विदेश पठाएर सुन र साडी लाउन पटक्कै मन थिएन।  श्रीमान्को आयश्रोतको नाममा केही थिएन। सासु–ससुराले दिएकै भरमा गुजारा चलाउनुपर्थ्यो। जब हाम्रो छोरा जन्मियो। त्यसपछि जिम्मेवारी बढ्दै गयो। अरूको बच्चाहरूले नयाँ–नयाँ लुगाहरू लगाएर हिंडेको देख्थें। खेलौनाहरू खेलाएर रमाइलो गरेको देख्थें। छोराले पनि किन्दिनु भनेर खुब लडिबढी गर्थ्यो। उसको रहर पूरा गर्न नसक्दा भने मरे जत्तिकै हुन्थेा। त्यसपछि म आफैंले बुढालाई विदेश जानु भनेर घच्घच्याउन थालेा। बूढाले पासपोर्ट बनाएको तीन महिनामै भिसा लाग्यो। उहाँ मलेसिया उड्नुभयो।  महिनैपिच्छे पैसा पठाइ राख्नुहुन्थ्यो। प्रायः हामी इमेलबाट कुरा गर्थ्यौं। त्यसो गर्दा खर्च कम हुन्थ्यो। उहाँको प्रत्येक छुट्टीको अघिल्लो दिन हामी राति अबेरसम्म कुरा गर्थ्यौं। छोरालाई खुब माया गर्नुहुन्थ्यो। छोरा पनि बाबा भने पछि हुरूक्कै हुन्थ्यो। वर्षदिन त उहाँले फोन गरिराख्नुहुन्थ्यो। पछि कम हुँदैगयो। पैसा पनि घर खर्चमात्र पुग्ने पठाउन थाल्नुभयो। मैले फोन गर्दा आजकल अलि व्यस्त छु, कामको लोड धेरै छ भन्नुहुन्थ्यो। होला नि त भनेर सम्झेा। 

उहाँको तीन वर्षको भिसा सकिन चार–पाँच महिना थियो। कसै–कसैले तेरो बुढा अर्को केटीसँग लागेको छ भनेर सुनाउँथे। म वास्ता गर्दिनथें। खासमा मलाई ज–जसले सुनाउँथे उनीहरूको बुढा पनि अर्कैसँग लागेको छ भनेर सुन्थेा। छोरो मान्छे हो वर्ष दिनसम्म त्यतिकै त के बसेको होला र भन्ने लाग्थ्यो। बस् आँखाले देख्न नपरोस् भन्थें।  सौता चै नहालिदिए हुन्थ्यो प्रभु भनेर प्रार्थना गर्थें। मलाई जे कुराको ठूलो डर थियो आखिर त्यही भएरै छोड्यो। भिसा सकिएपछि मेरो श्रीमान् नेपाल फर्किए। घर आएको एकसाता पछि नै तल्लो गाउँको केटी भगाएर लगे। उनीहरूको पहिलादेखि नै चिनजान थियो। त्यो केटीलाई म पनि चिन्छु। जहाँसम्म लाग्छ उनलाई हाम्रो परिवारबारे पनि थाहा थियो। उनी कन्ये केटी नै थिइ। तर ब्वाइफ्रेण्डहरू थुप्रै थियो भन्नेसम्म सुनेको हो। उनीहरूको जिस्किँदा जिस्किँदै फेसबुकबाट लभ परेको रहेछ। अरूको जीवनमा मात्र यस्तो घटना सुनेको थिएा। आफैंलाई पर्दा त विश्वास गर्नै गार्‍हो हुँदोरहेछ। धेरै दिन बाटो हेरें। नआएपछि विश्वास गर्न करै लाग्यो।  

बुढाले दोस्रो विवाह गरेपछि मेरो दुःखको दिन सुरू भयो। घर, आफन्त र गाऊलेहरूले पनि हेला गर्न थाले। मबाट सबै टाढा हुन थाले। माइतीमा माइतीहरूको आफ्नै बिजोग थियो। पीडामाथि पीडा के दिनु भन्ने लाग्यो। ज्वाँईले केटी भगायो भनेको थाहा पाएपछि दाईले एकचोटी फोनबाहेक कसैले सम्झेनन्। यो बेला बा–आमा खुब सम्झें। उहाँहरू भएको भए रोएर भए पनि दुःख बिसाउथें भन्ने लाग्यो। साथी सङ्गीहरूले बाटोमा, मेलापात जाँदा कुरा काट्न थाले। अगाडि सन्त्वना दिए पनि पछाडि ठीक्क पर्‍यो भन्थे। बुढाले भएको गरगहना सबै लगे। सासुससुराले पनि वास्ता गर्न छाडे। मसँग छोरालाई खुवाउन पैसा पनि हुन्थेन। कसैबाट पनि सहारा नपाएपछि आत्महत्याबाहेक अरू उपाय देखिना। अन्त्यमा म आत्महत्या गर्ने निर्णयमा पुगेा। मैले पटक–पटक आत्महत्या गर्न खोजें तर छोरोको बिजोग हुन्छ भनेर गरिना। सोच्थें यदी मैले आत्महत्या गरें भने सौताले भोकै राख्छ। पिट्छ। सार्‍है दुःख दिन्छ भन्ने लाग्थ्यो। त्यो सम्झेर मन सार्‍है रून्थ्यो। बरू एकछिन गार्‍हो होला मरे पनि सँगै मर्ने भन्ने लाग्यो र विष खाएर दुवै जना मर्ने सोच बनाएा। गाउँमा मुसाको विष किन्दा शङ्का गर्छ भनेर बजार आएँ। ५/५ प्याकेट गरी दुई ठाउँमा किनेा। आधा किलो कुखुराको मासु पनि किनेर लगेा। छोरालाई कुखुराको मासु खुब मन पर्थ्यो। पकाए। त्यसपछि मासुमा विष मिसाएर खान दिए। सबै खायो। छोरा सुत्न लागिराथ्यो। म उसैलाई हेरिराथेा। खाएको केहीबेरपछि पेट दुखो भनेर रून थाल्यो। ऊ आत्तिएजस्तो गर्न थाल्यो। खाटमा लडिबडी गर्न थाल्यो। ऊ झन् कहालिएर रून थाल्यो। उसमा अचम्मको डर देखेा। खाटबाट झरेर मलाई गर्लम्म अङ्गाल्यो। मम्मी पेट दुख्यो भनिरह्यो। खै के सम्झेर हो कोनि मैले औषधी राखेको बट्टातिर देखाउँदै औषधी खाने भन्यो। टाउको दुखेको बेला र जुकाले पेट दुखेको बेला त्यही बट्टाबाट औषधी झिकेर दिन्थेा। ऊ निको हुन्थ्यो। शायद आज पनि निको हुन्छु भनेर होला औषधी मागिरह्यो। मैले उसलाई सुत्न भने। सुते निको हुन्छ भनेा। मेरो विश्वास गरेर आज्ञाकारी भई मेरो काखमा सुत्न खोज्यो। तर निदाउन सकेन। रूईरह्यो। निकै बेरपछि मुखबाट फिंज निकाल्न थाल्यो। घरिघरि तिर्खा लाग्यो पनि भन्थ्यो। मसँग जीवनको भिख मागिरह्यो। तर मैले उसको कुनै पनि अनुरोध सुनिनँ साब। नौ महिना गर्भमा राखी ज्यान जोखिम मोलेर जन्माएा। राति सुत्दा थिच्छु कि भनेर खुब सजग हुन्थेंं। पटक–पटक ब्युँझदैं हेर्थें। ऊ कतै लड्छ कि, हतियारले काट्छ कि वा आगोले पोल्छ कि भनेर डर लाग्थ्यो। उसको स–सानो बिमारले पनि मलाई पटक्कै निन्द्रा लाग्दैनथ्यो। तर त्यो दिन ऊ जति सक्दो चाँडो सुतेको हेर्न चाहन्थेा। विस्तारै उसको आवाज कम हुँदैगयो। घरिघरि आँखा खोलेर मलाई हेर्थ्यो। केही आश गरेको जस्तो लाग्थ्यो। आँसु निरन्तर बगिरहेको थियो। मुखबाट रगत निस्केपछि लामो–लामो गरी सास तान्न थाल्यो। विस्तारै उसले सास फेर्न छाड्यो। छोराको शरीर चिसो भएपछि म पनि विष खाउला भनेर पर्खिरहें। चिसो हुन धेरैबेर लाग्यो। त्यतिञ्जेलसम्ममा मैले आत्महत्या गर्ने सोच त्यागेा। मैले जिन्दगीदेखि फेरि पनि हारेा। मैले छोरालाई मारे सा'ब। म छोराको हत्यारा हुँ सा'ब। हत्यारा हुा।  

हत्याराको कुरा सुनेर प्रहरी निरीक्षक झन् झन् रिसले चूर भए। 'थुक्क ज्यानमारा। बच्चाले ज्यानको भिख माग्दा पनि कसरी मार्न सकिस्। तलाई अलिकति पनि दया लागेन है। बच्चाले आमालाई विश्वास नगरेर अब कसलाई गर्ने। तँ जस्तोलाई त सिधै सुट गर्नुपर्ने', जङ्गिदै प्रहरी निरीक्षक कराए। छेउमा बयान लेख्ने हवल्दारले संयम हुन आग्रह गर्‍यो। हत्याराको देब्रेपट्टि छेउमा महिला प्रहरी चुपचाप उभिएर सुनिरहेकी थिइन्। उनलाई पनि भित्रभित्रै रिस उठेको थियो तर सिनियरहरूको अगाडि रिस लुकाएर बसिन्। प्रहरी निरीक्षकले खाउँलाझैं गरेर सोध्यो 'त्यसो भए तँ चाइ किन मरिनस्? कि तलाई मर्न डर लाग्यो?' सा'ब ! सोचेकी थिएँ विष खाने बित्तिकै मरिन्छ भनेर। तर त्यति सजिलै मृत्यु पनि काँ हुँदोर'छ र। छोरो निकैबेर छट्पटाइरह्यो। धेरै बेर रोइरह्यो। उसको पीडा देख्न सकिनँ। मन भत्भती पोल्यो। सोचें त्यती सार्‍हो पीडा त सौताले पिटे पनि हुँदैन थियो भन्ने लाग्यो। भोकै राखे पनि त मार्दैन थियो होला नि। बाऊले केही नगरे पनि मार्न त दिदैनथ्यो होला नि भन्ने लाग्यो। छोराले दुई–चार वर्ष सहेको भए मागेर भए पनि खाइहाल्थ्यो भन्ने सोचेा। त्यसपछि मर्ने योजना त्यागेा। किनकि मेरो गाउँमा थुप्रै महिलाहरू मेरैजस्तो सोच राखेर बसेका छन्। उनीहरूलाई पनि भोलि बुढा वा बुढीले छाडे मेरैजस्तो सोंच राख्नेछन्। उनीहरूकै कुरा सुनेर नै मैले यस्तो सोंच बनाएा। मैले गलत गरेा। उनीहरूलाई सुनाउनमात्र भए पनि म बाँचेको हो। आफ्नो गलत निर्णयको शिकार छोराछोरी बनिनु हुन्न भन्ने लाग्यो। आफूले त छोरा गुमाएँ गुमाएँ तर अरूले आफ्नो सन्तान नगुमाओस् भन्नलाई जिउँदो लास तपाईंको अगाडि उभिएको छ। मलाई मर्न रत्तिभर डर छैन। म त त्यस दिनदेखि नै मरिसकेकी छु। मलाई संसारको जुनसुकै सजाय दिए पनि कम हुन्छ सा'ब। त्यसो भनेपछि अब भने भक्कानिएर रून थालिन्।  

उनको कुरा सुनेपछि प्रहरी निरीक्षक खङ्ग्रङ भए। बयान लेख्ने हवल्दार पनि एकछिन रोकिए। उभिरहेकी महिला प्रहरीले पनि पिलपिल आसुँ झारिरहेकी थिइन्। त्यसपछि इन्स्पेक्टरले केही सोध्न मन गरेन। हत्याराले हत्या कबुल गरिसकेको थियो। जीवनमा यस्तो पनि केस देख्नु पर्दोरहेछ भनेर टोलाइरह्यो। एकछिन पछि प्रहरी निरीक्षकले हत्याराको हतकडी खोलिदिएर जेलभित्र राख्न महिला प्रहरीलाई आदेश दिए। हत्यारा महिला जेलको ढोकामा छिर्नै लाग्दा फर्किएर भनिन् 'सा'ब मेरो एउटा अन्तिम इच्छा छ। हजुरलाई बिन्ती चढाउँछु।' भारी स्वरले प्रहरी निरीक्षकले भन्यो 'हजुर भन्नुहोस्' सा'ब, अब मेरो दिल र दिमाग मेरो बसमा छैन। कुनै पनि बेला काम नगर्न सक्छ। मैलेजस्तै सन्तान मारेर आफू पनि मरेको समाचारहरू पढेको छु। यो गलत हो भन्न चाहन्छु। यो ठूलो पाप हो भन्न चाहन्छु। यहाँ हात खुट्टा नहुनेले पनि गरेर खाएको छ। परिवार पालेको छ। यही सन्देश दिन बाँचेर आएको हुा। हजुरले मेरो कथा पत्रिकाहरूमा छपाई दिएर सारा जगतले थाहा पाओस् भन्ने इच्छा छ सा'ब। 'हुन्छ, अवश्य' भनेर प्रहरी निरीक्षकले वचन 

दिए।