September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

बन्द जिन्दावाद ! बन्द मुर्दावाद !

लघुकथा 

। सरगम भट्टराई 

सडकमा चना बेच्ने नन्दप्रसादले गत महिना सडकमा एउटा भयावह घटना देख्छ, सुन्छ। 

सरकारको विरोधस्वरूप विपक्षी पार्टीले नेपाल बन्द गरेको, टायर बालेको, सवारी साधन तोडेको, जलाएको, खुकुरी हानाहान गरेको। संसद अवरूद्ध गरी चल्न नदिएको, सरकारले आन्दोलन दबाएको, कार्यकर्ता गिरफ्तार गरेको आदि। 

सत्ताधारी मन्त्रीले पत्रकार सम्मेलन गरी यस्ता विरोधलाई अमानवीय, उच्छृङ्खल र अभद्रताको पराकाष्ठा भने। जङ्गली प्रवृित्त र परिवर्तनका विरोधी र बाह्य शक्तिको इसारामा गरिएको आततायी घटना भने। 

मन्त्रीज्यूले चोर औंला ठड्याएर भने – 'हाम्रो पार्टीले बन्द सधैंका लागि बन्द गर्ने घोषणा गर्दछ, बन्द गर्ने जोसुकैलाई पनि कडा कारबाही गरिनेछ। जुनसुकै प्रकारको आतङ्कवादको हामी विरोध गर्छौं। यस्ता कार्यले मुलुक बीस वर्ष पछाडि धकेलिएको छ। आन्दोलनको स्वरूप नफेर्नेहरू सिद्धिएर जानेछन्।” मन्त्रीले यस्तो कुरा गर्दा कार्यकर्ताको तालीको गडगडाहट भयो। सबैले अब देश बन्छ भन्ने आशा गरे। 

गत हप्तामात्रै देशको राजनीतिक समीकरणले कोल्टे फेर्यो, गत महिना सरकारमा भएका पार्टी फेरि सरकारबाट हटेर सडकमा आए। सरकारी रवैयाका विरूद्ध जोडदार आन्दोलन गर्ने उद्घोष भयो। 

सरकारले माग पूरा नगरेपछि त्यसको विरोधस्वरूप कार्यकर्ताले प्रहरी बिट जलाए। सडक अवरोध गरे। टायर बाले, गुडिरहेको सरकारी गाडीलाई पेट्रोल छर्केर जलाए र नारा लगाए: हत्यारा सरकार मुर्दावाद, अमुक पार्टी जिन्दावाद ! हाम्रो आन्दोलन जारी छ! फलानो सरकार राजीनामा दे 133! 

तिनै भू.पू. मन्त्रीले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दै विरोध सभामा कड्िकए: 'हाम्रो आन्दोलन जायज' छ, बन्द हाम्रो बाध्यता हो। यो जारी छ, हामी पूरै देश ठप्प पार्छौं। गाडी त के हामी सरकारको एक एक सम्पत्ति जलाउँछौं। यो त ट्रेलरमात्र हो, हामी मर्न मार्न तयार छौं।” 

कार्यकर्ताले परर ताली पड्काए र गर्जिए: फलानो पार्टी जिन्दावाद ! फलानो सरकार मुर्दावाद! हाम्रो आन्दोलन जारी छ! 

टाउकोमा चना बोकेर हिंडेको नन्दप्रसाद हेरेको हेर्यै भयो। यो जिन्दावाद र मुर्दावादको अर्थ नबुझेर अक्क न बक्क भयो र आफ्नो ज्यान जोगाउन आफ्नो बाटो लाग्यो। 

राति सपनामा नन्दप्रसाद बर्बराएछ – जिन्दावाद ! मुर्दावाद !!