भूलोकको गीत
डा. लेखनाथ काफ्ले
पिङडोङ, ताइवान
भिरोममा एउटा माग्ने भेटे
चीनबाट लगेको एउटा बिस्कुट दिएँ
उसले केही नहेरी फटाफट खायो।
न्यूयोर्कमा एउटा भिखारी देखें
हल्याण्डको एउटा वाफल दिएँ
उसले पनि तुरुन्तै मुखमा हाल्यो।
टोक्यो हाइवे मुन्तिर डेरा बसेको एउटा मैलो मान्छे थियो
अमेरिकामा किनेको ओखर मिसिएको कुकी दिएँ
उसले पनि त्यो सहजै लियो।
बेइजिङमा किनेको नुनिलो–पिरो बदाम
राजधानी सोलको जाडोमा काम्दै गरेको मान्छेको हातमा सुम्पें
उसले पनि दायाँ–बायाँ नहेरी झटपट खायो।
ताइवानमा किनेको पाइनेपल केक
क्वालालम्पुरको एउटा गल्लीमा हात फैलाइरहेको मान्छेलाई दिएँ
उसले पनि केही नसोची चपायो।
मैले पेरुमा किनेको मकै बिस्कुटले
रियो दि जेनेरियोको एक भोकाको पेट भरियो
काठमाडौंबाट ल्याएको तिलको लड्डु
सुडान खर्तोम सहरको एक दीनदुःखीले ग्वाम्म मुखमा हाल्यो।
सारा संसार घुमेपछि मैले बल्ल पो ज्ञान प्राप्त गरें
ए भोक !
तँ त सर्वव्यापी
उही रुपमा जताततै रहेछस्।
भोक लाग्ने र त्यो पनि सम्हालेर बस्नुपर्नेहरूको लागि
कति धेरै यी सीमा, बन्धन र कानुनहरू जताततै
भोक लाग्न नै नपाउनेहरूको लागि संसार कस्तो सुन्दर !
केही मान्छेहरूका लागि यही पृथ्वी पनि सानो र साँघुरो भैसकेछ
उनीहरू चन्द्रमा, मङ्गल र त्योभन्दा पर
अन्तरिक्षमै शासन गर्ने धुनमा छन्
भोकाहरूको चन्द्र, मङ्गल र अन्तरिक्ष
स्वर्ग, मर्त्य पाताल त्यही एउटा खाली पेट पो रहेछ।
खाली पेटले चन्द्रमा, मङ्गल र अन्तरिक्षको गीत गाउन सक्दैन
कसले गाइदेला उनीहरूको गीत?
कसले रचिदेला भूगोलका भोकाहरूको गीत?
|