September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अस्थिरता र सङ्कट निम्त्याएर फाइदा लिने भारतको चाल

नेपालमा राजनीतिक सङ्कट निम्त्याउने र अस्थिर सरकार बनाएर सङ्कटको फाइदा उठाउने काम विदेशी शक्ति राष्ट्र भारतले गरिरहेकोमा शङ्का छैन। एमालेको सरकार ढालेर माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्नुको कारण पनि अस्थिर र सङ्कट निम्त्याउने खेल नै मान्न सकिन्छ। सङ्घीयताको स्वर पनि सल्काउने अनि लागू पनि नगर्ने चलखेल भारतीय शासक वर्गबाट भइरहेको देखिन्छ। एक एक पाइला गरी माग पूरा गर्दै हात खुट्टा हुँदै घाँती नै समाउने मोर्चाको षड्यन्त्रबारे सत्तारुढ दलका  नेताहरू किन बुझ पचाउँछन्? देशको अधिक श्रम र समयको खर्च र लगानी सङ्घीयताकै सवालमा भइरहेको हो र सबभन्दा बढी विवाद  त्यही सङ्घीयता र प्रदेशको विभाजनमा भइरहेको छर्लङ्ग छ। 

प्रदेश नम्बर ५ लाई खाने मधेसी मोर्चाको बाघले पछि प्रदेश नम्बर १ र ७ लाई खाँदैन भन्न सकिंदैन। सिङ्गो नेपाललाई पछि सिङ्गो देश एक मधेस बनाएपछि शिर निहुराएर के गर्ने, पछुताएर के गर्ने? समय बितिसकेपछि जति पछुताए पनि देशलाई लागेको त्यो रोगको उपचार गर्न सकिने छैन। क्षमा मागेर रोग निको हुनेछैन। प्रस्तावित संविधान संशोधन नै भए पनि मधेसी मोर्चा सन्तुष्ट हुनेछैन, अहिले पनि परिमार्जन हुनुपर्ने भन्दै असन्तोष पोखिरहेको छ। मोर्चाकै मागअनुसार पहिलो पटक संविधान संशोधन गरी माग पूरा गरिसकेको छ। अहिले दोस्रो पटक माग पूरा गर्न मोर्चाको दबाबमा सरकारको कसरत भइरहेको छ।  

मोर्चाको दबाबमा नेकाको समर्थनमा माओवादी केन्द्र डेमोकमल्सको तरवारमा किन झुण्डिदै छ? केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल किन नालायक नेता बन्दैछन्? देश सङ्घीय बनेपछि नयाँ नेपाल बन्ने सपना बाँडेको र बोकेको दल माओवादी केन्द्र नै हो। जनयुद्धताका जातीय राजनीति गरेर जातीय राज्य बनाउने वाचा र आश्वासन दिने दल तिनै माओवादी नेताहरू हुन्। जातीय राज्य र जातीय राजनीतिको देशभक्त दल र सच्चा कम्युनिष्टहरूले विरोध नगरेका भए नेपालमा जाति जातिबीच उपद्रव भइसक्थ्यो। नेपालमा जातीय हिंसा भत्किसक्थ्यो तर दबाबकै कारण थालनी भएको जातीय हिंसा र राजनीतिपछि शान्त भयो। अहिले त्यस्तै रोग प्रदेश र सीमाङ्कनमा लागिरहेको छ। सो रोगको निदान गर्न पनि देशभक्त जनताको एकताको खाँचो छ। 

– मेरिना शाक्य