गर्भवती भएको जानकारी घरपरिवारलाई भन्दा पहिले महिला स्वयम्सेविकालाई
विष्णु नेपाल
नुवाकोट। जनचेतना र व्यवहारमा परिवर्तन गर्न सकिएमात्र सुत्केरी हुन नसकेर गर्भवती आमा र सङ्क्रमणबाट नवजात शिशुलाई अकालमा मृत्युको मुखबाट जोगाउन सकिने रहेछ भन्ने उदाहरण यहाँका वलामी र दर्जी (नेपाली) समुदायले पुष्टि गरेका छन्।
सुत्केरी हुन स्वास्थ्य संस्थामा अथवा दक्ष स्वास्थ्यकर्मीबाट नै गराउनुपर्छ र विशेषगरी पाँच वर्ष मुनिका बालबालिका बिरामी हुने बित्तिकै स्वास्थ्य चौकीमा गइहाल्नुपर्छ भन्ने ज्ञान र सोअनुरुपको व्यवहार ती दुई अति विपन्न समुदायमा मौलाउँदै जाँदा पछिल्लो दुई दसकमा यहाँका एकजना पनि गर्भवती आमा र निमोनिया, मलेरिया, पखाला, कुपोषण र दादुराबाट पाँच वर्षमुनिका बालबालिका अकालमा मृत्यु हुन परेको छैन।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा स्वास्थ्य सेवा लिन आउने पाँच वर्षमुनिका बालबालिका मध्ये प्रत्येक चारजनामा तीनजना बालबालिका ती पाँच रोगमध्ये एकभन्दा बढी रोगबाट पीडित हुने गरेको पाइएको छ। अर्काेतर्फ सङ्क्रमण, जन्मदा सास नफेर्नु वा नरुनु, समयअगावै जन्म तथा कम तौलजस्ता मुख्य कारणले नवजात शिशुको मृत्यु र गर्भवतीको अवस्थामा दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा नपाएकै कारण आउने विविध जटिलताबाट गर्भवती आमा पीडित हुने गर्छन्।
यस गाविसका वडा नं २ र ९ मा ४५ घर वलामी र १० घर नेपालीको बस्ती रहेको छ। पछिल्लो समय यी दुई समुदायका महिला आफू गर्भवती भएको कुरा श्रीमान्, सासू, ससुरालाई भन्दा पहिला महिला स्वयम्सेविकालाई सुनाउँछन्।
पारिलो घाममा सात महिनाको नवजात शिशुलाई तेल लगाइरहेकी सैलिना वलामीले लजाउँदै भनिन् “के गर्नु गर्भवती (बच्चा पाउने) भो भन्ने कुरा श्रीमान्, सासू, ससुरालाई पहिला भन्यो भने त झाँक्री खोज्न निस्किहाल्छन्। घरमा झाँक्री ल्याइहाल्छन्। झाँक्री देखायो भने देउदेउता खुसी हुन्छन् भन्छन्, मैले श्रीमान्लाई भन्दा महिला स्वयम्सेविका दिदीलाई महिनावारी रोकियो भनें।”
गतवर्ष वलामी समुदायका चार र नेपाली समुदायका तीन गर्भवती महिलाले चतुराले स्वास्थ्य चौकीबाट प्रसूति सेवा लिएका थिए भने १२ भन्दा बढी बालबालिकाले खोप सेवा लिइरहेका छन्। चौकीका प्रमुख सिनियर अहेब जीवन भट्टराई भन्नुहुन्छ– “गर्भवती भएपछि स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ, घरमा प्रसूति हुँदा आउने जोखिम, शिशुमा लगाउनुपर्ने खोपको मात्रा, नवजात शिशु र बालबालिकासम्बन्धी रोगका विषयमा ती दुवै समुदायमा ज्ञान रहेको छ। स्वास्थ्य संस्थामा सेवा लिन आउन उनीहरू हिचकिचाउँदैनन्। सेवा लिन आउँछन्।”
ती दुई वडामा पविता वलामी र सम्झना नेपालीले महिला स्वयम्सेविकाको रुपमा सेवा प्रदान गरिरहनुभएको छ। विसं २०५१ मा स्थापना भएको चतुरालेमा स्वास्थ्य चौकीलाई ती दुई समुदायबाट महिला स्वयम्सेविका तयार गर्न लामो समय लागेको थियो।
महिला स्वयम्सेविका सम्झना नेपाली भन्नुहुन्छ– “लौन सम्झना के भो, के भो? पेट दुख्छ, खान मन लाग्दैन, वाक््वाकी हुन्छ, भनेर फोनमा कुरा गर्ने महिलाको घरमा गैहाल्छु। आफूले जानेका कुरा सिकाउँछु र स्वास्थ्य चौकीमा आफंै लिएर जान्छु, अहिले यहाँका महिला गर्भवती भएको कुरा आफ्ना परिवारलाई भन्दा मलाई पहिले भन्नुहुन्छ।”
उहाँले आफूलाई समुदायका आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमअन्तर्गत सेभ दि चिल्ड्रनले सुरक्षित प्रसूति सेवा खासगरी नाभी मलमको प्रयोग, नवजात शिशुको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिन शिशुको पाइताला नाप र आमाको बिगौती दूधको महत्त्वको बारेमा तालिम दिएको बताउनुभयो। उहाँ भन्नुहुन्छ – “अहिले घरमा नै प्रसूति हुने महिला कोही हुनुहुन्न, प्रसूति हुन स्वास्थ्य चौकीमा नै जानुपर्छ र लानुपर्छ भन्ने महिला र पुरुष सबैमा जानकारी छ।” उसो त चतुराले गाविसलाई शून्य 'होमडेलिभर' घोषणा गर्न लागिएको छ।
साल झार्न सुत्केरी महिलाको पेटमा कोदाला/कोदाली
घरमा नै सुत्केरी भएका महिलाको पेटमा कोदालो र कोदाली राख्दा साल मुटुतिर सर्दैन, झर्छ र बच्चाको नाभीसमेत काट्नु हुँदैन भन्ने गलत अन्धविश्वासले विगतमा विशेषगरी वलामी समुदायमा लामो समयसम्म जरो गाडेर बसेको थियो। तर अहिले यस्तो अन्धविश्वास हटेर गएको अहेब भट्टराईले जानकारी दिनुभयो।
उहाँ सोही समुदायका महिला स्वयम्सेविका, सरकारी तथा गैरसरकारी क्षेत्रका जनचेतना जगाउने कार्यक्रमका प्रयासमा सो कुप्रथा अन्त्य भएको तर अहिले पनि कहिलेकाहीँ झाँक्री देखाउने कार्य अझै नरोकिएको बताउनुहुन्छ।
चार छोरा, तीन छोरीका गरी १४ नाति/नातिना भएका ७२ वर्षीया सानी वलामीले विगत सुनाइन् “चार भाइ छोरा र तीन छोरी घाँस, दाउरा, मेलापात गर्दै पाएँ। बच्चा पाउन भनेर अस्पताल देखिन, कहाँ डाक्टर पाउनु। अहिलेको जस्तो घर घरमा गर्भवती महिला खोज्दै हिँड्ने हुँदैनथे। धामी झाँक्रीले जे सिकायो त्यही गरियो।”
“सरकारले अस्पतालमा सुत्केरी हुने महिलालाई खर्च दिन थालेपछि घरमा सुत्केरी गराउन छाडे”– उनले भनिन्। उसो त जिल्ला अस्पतालपछि बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने चतुराले पहिलो स्वास्थ्य चौकी हो। नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रमले यस सेन्टरलाई आवश्यक पर्ने ३९ प्रकारका उपकरण र महिला स्वयम्सेविकालाई आवश्यक तालिम सहयोग प्रदान गरेको थियो। स्वास्थ्य चौकी परिसरमा छुट्टै दुईकोठे पक्की प्रसूति गृहसमेत रहेको छ।
अर्काेतर्फ, यसैवर्ष जिल्लामा नै पहिलो पूर्णखोप गाविसको रुपमा चतुराले गाविसलाई घोषणा गरिएको थियो। जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई आवश्यक मात्रामा खोपको मात्रा पूरा भएपछि पूर्णखोप घोषणा गर्ने गरिन्छ। भूकम्प प्रतिकार्य कार्यक्रमले स्वास्थ्य चौकीलाई सो कार्यमा पनि सहयोग गरेको थियो। हाल सो कार्यक्रमले सामुदायिक स्वास्थ्यका गतिविधिमा घरदैलो गरी जनचेतना जगाउने गरिराखेको छ।
सो गतिविधिअन्तर्गत गर्भवती महिलाको घरमा गई उनीहरूलाई स्वास्थ्य सेवा लिन, खोप सेवा, झाडापखाल लागेका प्राथमिक उपचारका विधि, व्यक्तिगत तथा घरवरिपरि सरसफाइ, मनोसामाजिक परामर्श र प्राकृतिक विपद्का समयमा जोगिने उपायको बारेमा समुदायलाई सचेतना जगाइरहेको छ।
रासस
|