उपत्यकामा भूकम्प पीडितलाई राहत रकम कहिले पाउने?
उपत्यकामा भूकम्प पीडित जनताले सरकारी निर्णयअनुसार पहिलो किस्ताबापत पाउने रू. ५० हजार अहिलेसम्म पाएका छैनन्। भूकम्प पीडितहरूसँग सम्झौता भएको महिनौं बित्दा पनि राहत नपाएकोमा पीडितहरू आक्रोशित छन्। सुरूमा सम्झौता भएको हप्ता दिनमै उक्त राहत दिने विश्वास गरिएको थियो। भूकम्प पीडितले ऋण काढेर, जग्गा बेचेर घर निर्माण गर्दैछन्। घर पुनःनिर्माणमा सहयोग गर्नुपर्ने सरकार बेखबरझंै भइरहेको छ। पहिलो किस्ताबापत पाउने रकम पाउन अहिले केले छेकेको छ? कसको कारण वितरण गर्न समस्या भइरहेको हो?
रकम प्रदान गर्ने काममा सरकार किन ढिलाइ गर्दैछ? अन्य कुनै कार्य क्षेत्र या निकायमा कारणबस ढिलाइ भए पनि सरकारले छिटोभन्दा छिटो पहल गरेर रकम प्रदान गराउनुपर्ने हो। पहिलो चरणअन्तर्गत पाउनुपर्ने किस्ता नै अहिलेसम्म पाइरहेको छैन भने दोस्रो र तेस्रो किस्ता पाउने हो कि होेइन? शङ्का गर्ने ठाउँ छ। सरकार घर निर्माण गरिसकेका भूकम्प पीडित घर धनीलाई एकमुष्ठ रकम प्रदान गर्ने नीति बनाइन्छ तर व्यवहारमा पहिलो किस्ता पनि पाउन सकिरहेको छैन। के यो सरकारको बेवास्ता होइन? सरकार किन आफ्नो निर्णय पालना गर्न कञ्जुस्याइँ गर्छ?
भूकम्प पीडितलाई राहत दिन उहिल्यै बजेट छुट्याइएको जानकारी प्रकाशमा आएको हो। छुट्याइएको बजेट पीडितसमक्ष पुर्याउन केले रोक्यो या बाधा हाल्यो? कतिपय भूकम्प पीडितहरूको प्राविधिक कारण सम्झौता नै हुन सकिरहेको छैन। समस्या बुझेर निकास निकाल्नुपर्छ। कतिपय भूकम्प पीडितहरूको घर बुबाको नाउँमा रहेको र परिचयपत्र छोराको नाउँमा रहेको छ भने कतिपयको परिचयपत्र बुबाको नाउँमा र घर छोरोको नाउँमा परेको छ। यस्तै अरू थुप्रै घरायसी समस्याहरू देखिएका छन्। नगरभित्र हाल देखिएका सबै समस्याहरू वडा वडामार्फत बुझ्नुपर्छ र निकास निकाल्नुपर्छ। समस्याको निकास नखोजी त्यसै छोडेमा या बेवास्ता भएमा असन्तोष बढ्छ र अनावश्यक रूपमा सम्बन्धित निकायले आरोप सहनुपर्ने हुन्छ। आइपरेको समस्यालाई छलफलमार्फत निकास निकाल्नु बुद्धिमानी हुनेछ र सबै पीडितले सहजै राहत रकम पाउन सकिनेछ।
– दानबहादुर कपाली
|