September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नेमकिपाको स्थापना दिवसबारे

नेमकिपा स्थापना भएको बखत २०३१ साल माघ १० गते यो सङ्गठनको नाम नेपाल मजदुर किसान सङ्गठन भनी राखिएको थियो। तर त्यसको आधार भनेकै रुसी समाजवाद सामाजिक साम्राज्यवादमा पतन भयो भन्ने र बंगलादेश पाकिस्तानसँग अलग्ग गर्नु हुन्न भन्ने थियो। यदि नेपाल कम्युनिष्ट पार्टी केन्द्र त्यो समयमा एक वैचारिक नेताले अगाडि सारेको त्यो धारणामा सहमत भइदिएको भए नेमकिपाको स्थापना हुँदैनथ्यो होला। तर पार्टीमा आफ्नो धारणाले स्थान नलिएपछि तत्कालीन आवश्यकतालाई ध्यानमा राखी तर्क मिलेका केन्द्रीय समितिका साथीहरूलाई मिलाएर नेपाल मजदुर किसान पार्टी स्थापना भएको हो। यो सङ्गठन तत्कालीन किसान सङ्गठनको जगमा स्थापना भएको भएर पनि यसले व्यापक रुपमा जनतामा प्रभाव पारी देशको विभिन्न कम्युनिष्ट पार्टीहरूमध्ये कुनै बखत नेमकिसङ्गठन पहिलो वा दोस्रो दर्जाको कम्युनिष्ट पार्टीको रुपमा पनि स्थापित हुन पुगेको थियो।  

विचार र सिद्धान्त सबैभन्दा महत्त्वपूर्ण कुरा हो। त्यसपछि मात्रै विभिन्न गतिविधिको मूल्य मान्यताको कुरा आउँछ। सदनमा बढी सीट सङ्ख्या जित्न सफल हुँदैमा, पैसाको भरमा चुनाव जित्दैमा, देशमा आमूल परिवर्तन गर्नेतिर नलागी केही व्यक्तिको निजी स्वार्थ र सत्ताको लालसा पूरा गर्दैमा पनि पार्टी उच्चस्तरको मान्नै सकिन्न। हामी कहाँ २०४६ सालको जनआन्दोलनपछि जन्म भएका एमाले, माओवादी, राजमोलगायतका कम्युनिष्ट भनिने पार्टीहरू पूँजीवादी सरकारमा संलग्न भएर वास्तवमा आफ्नो हैसियत खोजिरहेको अवस्था छ। यो कार्यले एकातिर आफ्नो पार्टीलाई ठूलो देखाउन र नेताहरूलाई सत्तामा पुर्‍याउन ठूलै कार्य गरेको पाइन्छ। तर यसबाट कम्युनिष्ट पार्टीको मूल्य मान्यता र सिद्धान्तलाई चकनाचुर गरेको पाइन्छ। नेमकिपाले झैं अन्य पार्टीहरूले आफ्नो कम्युनिष्ट आदर्श जोगाउने हो भने पूँजीवादी सत्तामा नजानु धेरै बेस। 

नेमकिपा हेर्दा सानो पार्टी हो। तर यो पार्टी अन्य सबैजसो ठूला पार्टी सङ्गठनहरूलाई मार्ग निर्देशन गरिरहेको विचार पक्षले बलियो पार्टी हो। कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा रहेर लामो समयसम्म काम गरेकोले पनि हुनसक्दछ जनतासँग विशेष हेलमेल गर्ने तागत यो पार्टीका अग्रज नेताहरूसँग छ। नभए कामरेड रोहितले दैलेख, जुम्ला, हुम्ला, कालिकोट, मुगुलगायतका तिब्बत मानसरोवरसम्म जोडिएका कैयौं स्थानसम्म पुगेर नेपालको अति दुर्गम जिल्लामा यी सङ्गठनहरू गर्नसक्ने थिएनन्। यो क्रम क्रमशः जारी रहोस् भनी स्थापना दिवसमा शुभकामना गरौं। 

–पी. कृष्ण