सरकारी भवनमा बिहेको समारोह !
म एक साधारण नागरिक। मेरो बुझाइमा राष्ट्रपति भवन शीतल निवास कसैको निजी भवन होइन सार्वजनिक कार्यालय हो। राष्ट्रपति भवनमा समयअनुसार राष्ट्रपतिहरू फेरिरहन्छन्। यसअघि रामवरण यादव राष्ट्रपति हुनुहुन्थ्यो र उहाँ जानुहुन्थ्यो। अहिले विद्यादेवी भण्डारी राष्ट्रपति हुनुहुन्छ र सो कार्यालयमा उहाँ जानुहुन्छ। आफ्नो घर व्यवहारको काम कार्यालयमा गर्नु कति उचित या अनुचित ! त्यो नियमसम्मत छ या छैन? गर्न मिल्छ या मिल्दैन? राजनीतिक वृत्तमा चर्चाको विषय बनिरहेको छ।
सन्दर्भ राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कान्छी छोरी डा. निशा कुसुम भण्डारीको पूर्वराष्ट्रपति रामवरण यादवका नाति इन्जिनियर अभिषेक यादवसँगको विवाह राष्ट्रपति भवन शीतल निवासमा विवाह समारोह गर्नु हो। राष्ट्रपतिको आफ्नो सन्तानहरूको विवाह समारोह राष्ट्रपति भवनमा हुन्छ भने भोलि कुनै मन्त्रीका छोराहरूको बिहे आ–आफ्नो मन्त्रालयमा गर्न पाउँछ कि पाउँदैन? कतै मन्त्रीले पनि मन्त्रालयमा बिहेजस्ता समारोह गरे अरुले पनि त्यसरी नै उपयोग गरे के गर्ने? पछिल्ला दिनमा गाविस अध्यक्षले गाविस भवन, मेयर/उपमेयरले नपा भवन र जिल्ला सभापति र उपसभापतिले जिल्ला विकास कार्यालयमा त्यस्तै घर व्यवहार हुन थाल्यो भने के सरकारी कार्यालय भवनको दुरुपयोग हुँदैन?
राष्ट्रपति भण्डारीले छोरीको बिहे अरु कुनै होटेल/रेष्टुराँ या अन्य त्यस्तै स्थानमा गर्न सकिन्छ र गर्नु उपयुक्त हुन्छ। सम्मानित व्यक्तित्वहरूले काम बिगारेपछि त्यो अरुको लागि देखाउने बाटो जस्तो हुन्छ। बाटो देखाउने काम त राम्रो कामको हुनुपर्छ। विचार गर्दा सम्मानीत राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा बिहे समारोह नगरे वेस हुने थियो तर भयो। राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा छोरीको बिहे गर्यो भनेर मन्त्री, सांसद या अन्य निर्वाचित जनप्रतिनिधिले त्यो कार्यको अनुकरण गर्नुपर्छ भन्ने होइन, गर्नु पनि उपयुक्त हुँदैन। बाबुआमाको या आफ्नै सम्पति सम्झेर घर व्यवहारका कार्यहरू नगर्दा बेस हुन्छ भन्ने भनाइमात्र मेरो हो।
–तेजकुमार दुलाल |