September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

सत्य–तथ्य समाचार खाँचो

रु चैत्यराज शाक्य, कोषाध्यक्ष नेमकिपा 

देश र जनतामा समर्पित विचारप्रधान 'श्रमिक' साप्ताहिकको प्रकाशन आरम्भ २०५० साल माघ १० गते भएको हो। २३ वर्षसम्म 'श्रमिक' साप्ताहिकले समाजवादी विचारको पक्षमा र विश्व साम्राज्यवाद तथा पूँजीवादको विपक्षमा निर्भिकतापूर्वक आफूलाई उभ्यायो। संसारका मजदुर आन्दोलन, साम्राज्यवादविरोधी सङ्घर्ष, वामपन्थी आन्दोलनको प्रचार गरी नेपाली श्रमजीवी वर्गलाई उत्साहित तथा आन्दोलित बनाउने कार्यमा 'श्रमिक' साप्ताहिक अविचलितरुपमा जुटेको जगजाहेर छ। 'श्रमिक' ले देशभित्रका राजनीतिक, सांस्कृतिक तथा साहित्यिक गतिविधिलाई पनि त्यतिकै स्थान दियो। जनपक्षीय सङ्घर्ष, जनताको विचार, देशभक्तिपूर्ण सङ्घर्ष, सार्वभौमिकताको रक्षा, वैदेशिक हस्तक्षेपको विरोधजस्ता पक्षलाई 'श्रमिक'ले विशेष प्राथमिकता दियो। 'श्रमिक' देश र जनताको पत्रिकाको रुपमा प्रस्तुत छ भने पूँजीवादी, साम्राज्यवादी, भारतीय एकाधिकार पूँजी र त्यसका दलालहरूको निम्ति एउटा टाउको दुखाइ बनेको छ। यो 'श्रमिक' को सफलता हो भन्दा फरक नपर्ला। 'श्रमिक' २४ औं वर्षमा प्रवेश गर्न लागेको सुखद् उपलक्ष्यमा सम्पूर्ण सहयोगी तथा शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछु। साथै सबैतिरबाट थप सहयोग तथा योगदानको अपेक्षा गर्दछु। 

'श्रमिक' साप्ताहिकको निरन्तर प्रकाशनलाई थप बल दिने र देश–विदेशका घटनाक्रमबारे सकेसम्म छिटो जानकारी सम्प्रेषण गर्ने उद्देश्यले २०५५ माघ १० गते मजदुर दैनिक प्रकाशन आरम्भ गरियो। मजदुर दैनिक प्रकाशनको १९ औं वार्षिक उत्सवको पूर्व सन्ध्यामा सम्पूर्ण सहयोगीहरूमा विशेष कृतज्ञता ज्ञापन गर्दछु। यहाँहरू सबैको परोक्ष सहयोग एवं योगदान मिलेरै 'मजदुर' आजको स्थितिमा आइपुगेको हो। प्रतिक्रियावादीहरूले लुकाउन र दबाउन खोजेका जनताका विचार तथा स्वर मजदुरले प्रस्तुत गरिरहेको छ। पत्रकारिताको क्षेत्रमा समाजको तल्लो वर्गको प्रतिनिधित्व आज मजदुरले गरिरहेको छ। वर्तमान पूँजीवादी व्यवस्था र शासक दलका कुकृत्य, जनविरोधी गतिविधिहरूलाई उदाङ्ग्याउन र छ्यास्न मजदुर कहिल्यै पछि हटेन र हट्नेछैन। जनताको माना–मुठीले चलेको 'मजदुर' जनताको आवाज उजागर गर्न, सच्चाइ एवं सही विचारको पक्ष लिन कहिल्यै चुक्नेछैन। देश र जनताको सेवा नै हाम्रो एकमात्र उद्देश्य हो। 

पूँजीवादी तथा साम्राज्यवादी व्यवस्था रुपमा जतिसुकै भयानक देखिए पनि त्यो झूट, भ्रमजाल, गलत प्रचारबाजी र अन्याय–शोषणमा टिकेको हुन्छ। त्यसकारण सच्चाइ, सत्य एवं यथार्थको अगाडि ऊ डराउँछ। 'बादशाहको नयाँ लुगा' कथाको बालक नै सही मजदुरले निरन्तर साम्राज्यवादीहरूका भ्रमजाल च्यात्दै सच्चाइ बाहिर ल्याइरहने विश्वास दिलाउन चाहन्छु। 

साथीहरू, साप्ताहिक र दैनिक हुँदै हामी अनलाइन सेवामा प्रवेश गर्दैछौं। बढीभन्दा बढी जनताबीच सत्य–तथ्य सकभर छिटो पुर्‍याउने उद्देश्यले यही माघ १० गतेबाट अनलाइन मजदुर प्रकाशन शुभारम्भ गर्दैछौं। यहाँहरूले विगतमा झैं साथ सहयोग र सुझाव दिइरहनुहुने हाम्रो पूर्ण विश्वास छ। हामी सबै मिलेर यी तीनवटा प्रकाशनको उन्नति–प्रगतिमा टेवा पुर्‍याऔं। हाम्रो सामूहिक प्रयास एवं योगदानबाटै हाम्रा यी प्रकाशनहरूलाई अझ बढी प्रभावकारी एवं व्यापक बनाउन सक्नेछौं। 

पुनः एकचोटि 'श्रमिक' को २४ औं, 'मजदुर' को १९ औं र 'अनलाइन' मजदुरको शुभारम्भको सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु। 

(शुक्रबार सम्पन्न श्रमिक साप्ताहिकको २४ औं र मजदुर दैनिकको १९ औं वर्ष प्रवेश र अनलाइन मजदुर न्यूज पोर्टलको शुभारम्भ कार्यक्रममा व्यक्त मन्तव्य)