September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

जिम्मेवार विश्वसनीय मर्यादित पत्रकारिता

रु विष्णुगोपाल कुसी, सम्पादक मजदुर दैनिक 

समाजवादी चिन्तन, समाजवादी बन्दोबस्त र समाजवादी विचारले मात्रै श्रमजीवी वर्गको हित गर्छ भन्ने मूल्य र मान्यताका साथ जनतालाई राजनीतिक र सांस्कृतिक रुपले सचेत र सङ्गठित पारेर एक शोषणरहित (आदर्शोन्मुख) समाज स्थापना गर्ने लक्ष्य लिएर प्रकाशित यो आस्थाको पत्रिका हो। 

कम्युनिष्टको सिद्धान्त र विचार तथा देशभक्तिको भावनालाई जनताको घर आँगनमा पुर्‍याउने, सांस्कृितक स्तर उठाउने र आमूल परिवर्तनको बाटो कोर्ने कामतर्फ उन्मुख पत्रिका हो यो। हरेक राजनीतिक दलले सङ्गठन विस्तार र सुढृढीकरण गर्न, कार्यकर्ताहरूमाझ सिद्धान्त र विचार पुर्‍याउन प्रकाशनलाई जोड दिएको हुन्छ, दलको कुनै पत्रिका या प्रकाशन नहुँदा दलको दृष्टिकोण या विचार पुर्‍याउन कठिन हुन्छ या समयमा पुर्‍याउन सकिंदैन। यसै उद्देश्यअनुरुप नेमकिपाका अग्रज (राजनीतिज्ञ र लेखक) हरूले स्वदेश र विदेशमा गुप्त र खुला ढङ्गले हस्तलिखित र मुिद्रत पत्रिका तथा प्रकाशनहरू प्रकाशित गरेको पाइन्छ। 

पत्रिकाको काम सूचना प्रवाह गर्नुमात्र होइन, जनतालाई वैचारिक र सांस्कृतिक रुपले सुसूचित पार्नु हो। जनअधिकार प्राप्तिका लागि जनतालाई आन्दोलित बनाउने, जनविरोधी कामको विरोधमा खबरदारी गर्ने, देश र जनताको पक्षमा अभिमत राख्ने देशभक्त नागरिक तयार गरी देश जोगाउने अभियानमा उत्प्रेरणा दिने काम पत्रिकाले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। सही चिन्तन र समर्पणको कमी तथा राष्ट्रिय  स्वार्थलाई मान्यता दिन नसक्दा चिन्तनको घेरा साँगुरो हुँदै जाँदा देश जोगाउने अभियानमा देशभरका जनता जागरुक नभएको देखिन्छ। त्यही भएर सरकार टिकाउने, लम्ब्याउने र सरकारको नेतृत्व गर्ने नाउँमा देश विखण्डन हुने खालको पूर्व तयारीको सहमतिमा सत्तारुढ दलका नेताहरू हस्ताक्षर गर्न पछि परेनन्। कहिले बहुमत र कहिले दुईतिहाइ गणितीय हिसाब गरेर देशघाती संविधान बनाउनेतर्फ दौडधूप गर्दैछन्। सरकारको यस्तै गैरजिम्मेवारी र बेवास्ताले गर्दा भारतीय शासक वर्गले भूिम मिचे पनि, नेपाल–भारत सीमामा रहेका स्तम्भहरू फाले पनि, नेपाली जनता उठिवास गरे पनि, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तटबन्ध निर्माण गरे पनि सरकार बेखबरजस्तै भइरहेको छ। नेताहरूमा रहेका दास मानसिकता र आत्मसमर्पणको भावनाले देश गएगुज्रंदै गइरहेको छ, नेपालको घेरा साँगुरो हुँदैछ, देश विखण्डन गर्नेमा पूर्वाभ्यास भइरहेको छ, सङ्कीर्ण र जातीय राजनीतिले ठाउँ पाउँदै छ, भौगोलिक बनोट छोडेर जनसङ्ख्यालाई मात्र आधार बनाएर प्रदेश विभाजनमा भाँडभैलो मच्चाउँदै छ, जाति, भाषा र लिङ्गको कुरा सल्काएर देशभक्तिको भावनालाई कमजोर पार्दैछ। के देशको यो राष्ट्रिय मामिलाबारे पत्रिकाले बोल्नुपर्दैन? चासो राख्नुपर्दैन? अवश्य पर्छ। 

कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई धोका दिने, बद्नाम गर्ने, सार्वभौम र स्वतन्त्र देशहरूमा साम्राज्य र प्रभुत्व फैलाएर पनि मौन रहने र त्यसलाई सघाउनेहरूविरुद्ध पत्रिकाले उदाङ्ग्याउनै पर्छ, त्यसविरुद्ध लेखिएका लेख, समाचार विश्लेषण तथा समाचारलाई स्थान दिनैपर्छ। पत्रिकाले एक असल र देशभक्त नागरिकले झैं काम गर्नुपर्छ। देश र जनताको चिन्ता नगर्ने र जनताको विचार नबोक्नेे पत्रिकाले दिशा निर्देश गर्दैन, आमूल परिवर्तन खोज्दैन र देश समृद्ध बन्दैन। कुनै पनि देशको स्वतन्त्रता,  स्वाधीनता र मुक्ति आन्दोलनमा समर्थन  र ऐक्यबद्धता जनाउँदै यस पत्रिकाले त्यस्ता आन्दोलनको प्रचारमा टेवा पुर्‍याइरहेको छ। साम्राज्यवाद, उपनिवेशवाद र विस्तारवादको विरोधमा हुने आन्दोलन र सङ्घर्षलाई स्थान दिइरहेको छ। साम्राज्यवादी संयुक्त राज्य अमेरिकाले विश्वका दर्जनौं मुलुकमा अमेरिकी सैन्य शिविर खडा गर्दै बहुपक्षीय सेना शिविर र तालिम सञ्चालन गरिरहेको यथार्थ हो। धर्म र जातियुद्धको कारण देश टुक्रिएको घटना बग्रेल्ती छन्। विश्व राजनीतिमा देखिएको त्यो प्रयास नेपाली भूमिमा भइरहेको छ। के पत्रिकाले यसको चिरफार नगर्ने? देश विखण्डन गर्न क्रियाशील एवं देश विरोधी चरित्रका नेताहरूलाई पत्रिकाले समयमै उदाङ्गो पार्नुपर्छ। यस अवसरमा आफ्नो सम्पूर्णजसो साम्राज्यवादविरोधी आन्दोलन, प्रतिगमन र शोषणको विरोध तथा अरु देशको स्वतन्त्रता, स्वाधीनता र मुक्तिको निम्ति कलम चलाउने अन्तर्राष्ट्रवादी पत्रकारहरू अन्ना लुइस, जोनरीड, एड्गर स्नोजस्ता सञ्चारकर्मीहरूको स्मरण गर्नु समय सान्दर्भिक हुन्छ। सङ्घर्षका पाटा र मोडहरूलाई विश्वमा चिनाउन अनुभवले सँगालेका स्मरणहरूलाई पत्रिकामा छापेर, पुस्तक प्रकाशन गरेर देश र जनताको  निम्ति गरेको उनीहरूको योगदान अनुकरणीय छ। 

यतिबेला हामीले मार्क्सवाद, लेनिनवादविरोधी पार्टीहरू, कम्युनिष्ट पार्टीलाई धोका दिने, बद्नाम गर्ने, दल विभाजन गर्न अनेक चलखेल गर्ने विश्वासघातीहरूको गलत कार्य जनतामाझ पुर्‍याउने क्यानडाबाट प्रकाशित नर्थस्टार कम्पासजस्ता पत्रिकालाई सम्झनु न्यायोचित  हुन्छ। सार्वभौम र स्वतन्त्र देशहरूमा साम्राज्य र प्रभुत्व फैलाएर पनि मौन रहने या उल्टो सघाउने दलको षड्यन्त्रलाई चिरफार गर्ने  काम नर्थस्टार कम्पासले गरिरहेको छ। तिनै लेख, इतिहास र समाचारहरू नेपालीमा अनुवाद गरेर श्रमिक र मजदुरमा बेलाबखत छापिरहेको यहाँहरूमा स्मरणीय छ। सन् १९९० देखि सोभियत सङ्घको पुनःस्थापनका निम्ति निरन्तर आवाज उठाइरहेको नर्थस्टार कम्पासको निरन्तर प्रकाशनको सफलताको कामना गर्दछु र कम्पासका सपरिवारलाई धन्यवाद दिन चाहन्छु। यसरी नै बेलायतबाट प्रकाशित द न्यू वर्कर, कम्युनिष्ट रिभ्यु , मर्निङ्ग स्टार, क्युवाको ग्रान्मा, अमेरिकाको द मिलिटेन्ट, मन्थली रिभ्यु, वर्कर्स वल्ड, भारतको पिपुल्स डेमोक्रेसी, चीनको ग्लोबल टाइम्स चाइना रेडियो आदि पत्रिकाहरूको स्मरण गर्नु पनि समय सान्दर्भिक हुनेछ।  

त्यस्तै श्रमिक चिनियाँ कम्युनिष्ट पार्टी, थाइलैण्डको कम्युनिष्ट पार्टी, कोरियाको वर्र्कर्स पार्टी, जर्मनीको सेन्ट्रल कमिटी कोस्ट, न्युयोर्कको मन्थली रिभ्यु, बेलायतको कम्युनिष्ट पार्टी, कोरियन सोसल डेमोक्रेटिक, फिलिपिन्स, जापान, भियतनाम, बेल्जियम, बङ्गलादेश, फ्रान्स, स्पेन, ग्रीस, थाइलैण्ड, रुस, सिङ्गापुर, चेक रिपब्लिक, क्यानडा आदि देश र पार्टीमा गइरहेको छ। 

मजदुर  र श्रमिक पत्रिकाको वार्षिकोत्सवको अवसरमा २०२५ वैशाख १ गते प्रकाशित हस्तलिखत 'लाल झण्डा', २०३० चैतदेख २०३८ साउनसम्म प्रकाशन भएको 'आह्वान', २०३५ मा प्रकाशित 'मजदुर–किसान', 'नेपाल तराई', 'समाचार संसद' 'आधार' र 'ध्रुवतारा' को स्मरण गर्नु समीचीन हुनेछ। 'नेपाल तराई', 'समाचार संसद', 'आधार' र 'ध्रुवतारा' भारतबाट हिन्दीमा प्रकाशित पत्रिकाहरू हुन्। त्यसपछि २०३९ कार्तिक १६ गते काभ्रेबाट 'साकार' साप्ताहिक प्रकाशित भयो र ३३ (०४० साउन) अङ्कसम्म पुग्यो। २०३९ मै भक्तपुरबाट पानस प्रकाशित भयो। २०४० मंसिर ११ गते आधारको पहिलो अङ्क नेपालीमा प्रकाशित भयो। यो २०४१ भदौ १० सम्म अर्थात ३१ अङ्कसम्म प्रकाशित भयो। यसैबीच २०५० माघ १२ गते 'श्रमिक' साप्ताहिक र  २०५१ वैशाखमा मासिक पत्रिका 'प्रतिध्वनि' प्रकाशित भयो। अनि २०५५ माघ १० गते 'मजदुर' दैनिक प्रकाशित भयो। हाल श्रमिक २४ औं वर्ष र मजदुर १९ औं वर्षमा प्रवेश भइरहेको छ। यो अहिलेसम्म निरन्तर प्रकाशन भइरहेको छ। यसबेला मजदुर र श्रमिकलाई हृदयदेखि साथ र सहयोग गर्ने लेखक, समालोचक, पुराना र  नयाँ  संवाददाता, बुद्धिजीवी, पाठक, ग्राहक, विज्ञापनदाता, उद्योग व्यवसायी, व्यापारी, वितरक, फोटोग्राफर कलाकार तथा शुभचिन्तकहरूको योगदानको स्मरण गर्नु जाती नै हुनेछ। अनेक बाधा अड्चन, तीता मीठा आलोचना, विरोध आदि सहँदै निरन्तर दत्तचित्त भई धैर्यका साथ समय र श्रम खर्चेरै  पत्रिका यहाँसम्म पुुगेको हो र देशकै सबभन्दा बढी अङ्क प्रकाशित पत्रिका गनिन सफल भएको छ। काठमाडौंबाट प्रकाशित 'सहिद' साप्ताहिक २०६० चैत २० गतेदेखि प्रकाशित भएको थियो। सहिद दिवसको अवसरमा प्रकाशित उक्त पत्रिकाले पनि निरन्तरता पाइरहेको छ। 

त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय समितिको मुखपत्र 'मजदुर–किसान' असार–साउन २०६८ मा प्रकाशित भयो। त्यसको दुई महिनापछि 'ध्रुवतारा' भदौ–असोज २०६८ मा प्रकाशित भयो। यसबाहेक पार्टीकै केन्द्रीय र जिल्लास्तरीय जनवर्गीय सङ्गठन शिक्षक, युवा, विद्यार्थी, महिला, किसान सङ्गठनहरूको सयांैभन्दा बढी प्रकाशन प्रकाशित भइरहेको हामीले पाइरहेका छौं। गत वर्षको वार्षिकोत्सवमा मजदुर ८ पृष्ठ पुर्‍याउने र अनलाइनको बन्दोबस्तबारे छलफल भएको थियो। आज त्यो लागू हँुदै छ। 

विश्वविख्यात साहित्यकार एवं पत्रकार जर्ज बर्नाड शा (बेलायत)को 'कुशल पत्रकार साहित्यकारदेखि भिन्न हुँदैन, यदि साहित्यको काम संसारलाई ठीक ठीक हेर्नु र बुुझ्नु हो भने पत्रिकाको काम पनि त्यही नै हो भन्ने भनाइ सान्दर्भिक देखिन्छ। 

अर्का विद्वान एवं पत्रकार मैथ्य आर्नोल्डले भने 'पत्रकारिता भनेको हतपतको साहित्य हो।' हुन पनि प्राप्त तथ्य र समाचारलाई धैर्यपूर्वक सजाउने, विचार, भाव र भाषाशैलीको संयोजनमा एकान्तमा घोत्लिने फुर्सद पत्रकारलाई हुँदैन। 

विश्वका बहुचर्चित कैयौं व्यक्तित्वहरू खास समयका पत्रकार थिए। दार्शनिक कार्लमार्क्स पत्रिकाका सम्पादक बने। रुसका गोर्की, चीनका लुसुन, भारतका प्रेमचन्द्र र नेपालका मोतीराम भट्ट, हृदयचन्द्र सिंह प्रधान र सिद्धिचरण श्रेष्ठहरू साहित्यमा मात्र होइन पत्रकारिता क्षेत्रमा पनि लागे। 

विश्व सर्वहारा वर्गका गुरु लेनिनले पत्रिकालाई सामूिहक प्रचारकर्ता र आन्दोलनकर्ता मात्र होइन सामूहिक सङ्गठनकर्ताको रुपमा लिए। त्यसै उद्देश्यअनुरुप उनले इस्त्रा' लाई सङ्गठन प्रचारको रुपमा उपयोग गरे। त्यसलाई चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष एवं विश्वका नेता माओ त्सेतुङ्गले राष्ट्रव्यापी स्तरको र व्यापक जनसमूहमा भिजेको विचारधारात्मक राजनीतिक र सङ्गठनात्मक रुपले पूर्णतया सुदृढ वोल्शेविक पार्टी निर्माणमा उपयुक्त पत्रिका देखे। 

नेपाल मजदुर किसान पाटीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) दूरदर्शी, जनप्रिय र अन्तर्राष्ट्रवादी नेतामात्र होइन लेखक, पत्रकार, मार्क्सवादी साहित्यकार र समालोचक  पनि हुन्। अध्यक्ष रोहितको प्रवास, जेल र अर्ध–भूमिगत अवस्थामा पनि पत्रिका र प्रकाशन भइरहेको हामीमा अवगतै छ।  

सन् १९७९ जून १५ मा प्रकाशित 'धुव्रतारा' भारत प्रवासको बेला नेपालका कम्युनिष्ट आन्दोलनको तर्फबाट कामदार वर्गका जनतालाई सङ्गठित गर्न नेपाल तथा भारतका प्रगतिशील बुद्धिजीवीहरूमा विचार आदानप्रदान गर्न प्रकाशित गरेको देखिन्छ। १९७९ जुलाई १९ (२०३६) मा प्रकाशित मजदुर किसान साम्राज्यवादविरोधी सङ्घर्ष, सामन्तवादविरोधी प्रजातान्त्रिक आन्दोलन, किसान मजदुर आन्दोलन एवं समाजवादी क्रान्तिबारे जानकारी दिन र पुराना पुराना घटनाबारे नेमकिपाको दृष्टिकोण, वक्तव्य, दस्तावेज आदि सङ्कलन गर्न र नयाँ पुस्तालाई जानकारी दिन प्रकाशित गरेको देखिन्छ। 

पत्रकारिता सङ्गठन निर्माण गर्नमात्र होइन राज्य सञ्चालनको रुपमा पनि महत्वपूर्ण मानिन्छ। सरकारको नीति, कार्यक्रम र योजनालाई टीकाटिप्पणीसहित जनतासमक्ष लैजाने र जनताका इच्छा, आकाङ्च्छा र प्रतिक्रियाहरू सरकारलाई अवगत गराउने , गलत कार्य र नीतिको ध्यानाकर्षण गराउने क्रियाशील माध्यम पनि हो। पत्रिका समाजमा चेतना जगाउने सचेत र अगुवा साधन पनि हो। 

जिम्मेवार, विश्वसनीय, मर्यादित र अनुशासित पत्रकारिताले समाजमा सकारात्मक प्रभाव पार्छ। पत्रकार र सम्पादकहरू नैतिक मर्यादामा रहनुपर्छ। सही सूचना प्रदान गरेमात्र सूचना ग्रहणकर्ता (पाठक, स्रोता, दर्शक) लाई समाज कतातिर कुन रुपमा वामे सर्दैछ र भोलि के सम्भाव्य छ भन्ने अड्कल गर्न सजिलो बनाउँछ।  

सामान्यतः कुनै पनि सामग्री, साहित्यिक कलात्मक, राजनीतिक तथा वैज्ञानिक मूल्यविहीन भएमा या  कामोत्तेजक वस्तु या सामग्री अश्लील मानिन्छ। सर्वसाधारण जनताका सदाचार, नैतिकता र सामाजिक मर्यादामा आघात पर्नजानेतर्फ प्रकाशनमा पत्रकारिता  आचारसंहिताले निषेध गरेको छ। अश्लील सामग्रीहरूको प्रकाशन र प्रसारणले स्वस्थ र आदर्शोन्मुख समाज बन्दैन। पत्रकारिता ज्ञानको गतिशील एवं चलायमान स्रोत हो, प्रचारको साधन हो। नाङ्गो तस्वीर र अश्लील समाचार छापेर युवाहरूको मन बिगार्ने कार्यसँग मजदुर दैनिक फरक मत राख्दछ। रक्सी, मद्यपान र धूमपानको विज्ञापन सुरुदेखि नै निषेध गरेको कुरा सबै पाठक तथा ग्राहकहरूलाई थाहा नभएको होइन। मजदुर ८ पृष्ठमा छापिरहेको सबैमा आलै छ। नियमित विज्ञापन दिने कलेज, स्कूल  र सहकारी संस्थाहरूको सहयोग प्रशंसनीय छ। श्रद्धाञ्जली र समवेदनामार्फत पत्रिकालाई सहयोग गरेझंै बिहे, व्रतबन्धका बधाई, कुनै सफलता र विजयका बधाईहरूलाई पनि अभियानको रुपमा लान सके पत्रिका सञ्चालनमा थप सहयोग हुनेमा दुईमत नहोला। 

अन्त्यमा फेरि एकचोटि सम्पूर्ण सहयोगी महानुभावहरूको सहयोगको कदर र स्मरण गर्दै आगामी दिनमा पनि सहयोग पाइरहने आशा र विश्वास गर्दै बिदा हुन्छु। धन्यवाद ! 

(शुक्रबार सम्पन्न श्रमिक साप्ताहिकको २४ औं र मजदुर दैनिकको १९ औं वर्ष प्रवेश र अनलाइन मजदुर न्यूज पोर्टलको शुभारम्भ कार्यक्रममा व्यक्त मन्तव्य)