विचार नपुर्याए देश भताभुङ्ग हुने
माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारले संशोधित संविधानलाई पारित गर्न मन्त्रिमण्डल विस्तार गर्ने काम गरे पनि नेका र माओवादीभित्र सो संविधान पारित गर्न नहुने पक्षमा नेता र सांसदहरूको स्वर चर्किरहेको छ। राष्ट्रभन्दा ठूलो कुनै मन्त्री र पार्टी नहुने उल्लेख गर्दै नेका र माओवादी नेताहरूले संविधान संशोधन पारित गरे देशमा दूरगामी असर पर्ने भन्दै आफ्नै दलका नेताहरूको चर्को विरोध गरे। नेकाका नेता लक्ष्मण घिमिरे र माओवादीका नेता टोपबहादुर रायमाझीले संविधान संशोधन प्रस्ताव छोडेर साविकबमोजिम स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिए।
सरकारमा रहेका दलका नेताहरूले मन्त्रीको हैसियत जोडेर संशोधित संविधानलाई पारित गर्नु ठीक होइन। नेता र मन्त्रीहरूले सही र गलत छुट्याउनै पर्छ। सही र गलत नहेरी न सरकारले कुनै नीति निर्णय गर्न मिल्छ न त सत्तासीन अरु दलका नेता र मन्त्रीहरूले नै समर्थन गर्न मिल्छ। निर्वाचन गर्नु अगावै संविधान संशोधन हुनुपर्ने मोर्चाको माग दाबीमा सरकारले सहमति जनाइरहेको स्थिति छ। यसबेला संविधान पारित हुनु अगावै देशहित चाहने देशभक्त कुनै पनि नेता, मन्त्री र सांसदहरूले समयमै विचार पुर्याउनुपर्छ, विचार पुर्याएर संविधान संशोधन खारेज गर्नुपर्छ। नेकाका लक्ष्मण घिमिरे र माआवादीका टोपबहादुर रायमाझीको मतप्रति अन्य नेताहरूले पनि सहमति जनाउनुपर्छ। यो समयको माग हो।
संविधान निर्माणमा सत प्रतिशत समर्थन सम्भव छैन। संविधान निर्माणमा सत्तारुढ दलका नेताहरूको असहमति छ। असहमति हुँदा हुँदै दलका नेताहरूले संविधानमा समर्थन जनाएका हुन्। मधेसी मोर्चाले बनेको संविधानमा असहमति जनाउन सक्छ, पाउँछ। मोर्चाले संविधान संशोधनको माग गर्नु अस्वाभाविक होइन। तर संशोधित संविधान देश र जनताको पक्षमा हुनुपर्छ। सरकारले कुनै विदेशी शक्ति राष्ट्र र कुनै दल विशेषको आग्रहमा देशविरोधी संविधान बनाउन हुँदैन। सरकारको नेतृत्व जसले गरे पनि देश विखण्डन हुने खालको संविधान संशोधन गर्नुहुँदैन। यसतर्फ सरकारले ठण्डा दिमागले काम गर्नुपर्छ आज सानो गल्तीको कारण भोलि देश भताभुङ्ग नहोस्।
–गौरव प्रधान |