September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नेमकिपाको इतिहासमा भक्तपुर–काठमाडौ र्‍याली

 रवीन्द्र ज्याख्व 

तात्कालीन पञ्चायती व्यवस्थामा खुला राजनैतिक गतिविधि बन्देज थियो, पञ्चायती निरंकुशताविरुद्ध लड्न सजिलो थिएन, तत्कालीन कम्युनिष्ट पार्टीमा पनि सैद्धान्तिक विचलन आइरहेको थियो, किसान मजदुर र अन्य कामदार जनताको अवस्था अहिलेको भन्दा कता हो कता समस्याग्रस्त थियो। त्यस्तो बेला अँध्यारोमा बाटो देखाउने बत्ती बनेर नेमकिपाको स्थापना भयो। पार्टीको स्थापनाअघि र त्यसपछिका कठिन यात्रामा जेलनेल सहने, भूमिगत जीवन र प्रवास जीवन बिताउने, २०४५ सालको भक्तपुर काण्डमा पञ्चायती निरङ्कुशताको अमानवीय यातना भोग्ने र त्यसपछिका समयमा पनि सङ्गठनलाई अत्यन्त कठिन अवस्थाबाट जोगाउने सम्पूर्ण अग्रज नेता तथा कार्यकर्ताप्रति पार्टीको नयाँ पुस्ताको तर्फबाट हार्दिक सम्मान व्यक्त गर्दछु। 

क्रान्तिकारी पार्टीको नेतृत्व बिनाक्रान्ति सम्भव छैन। समाजमा वर्ग रहुञ्जेल वर्गसङ्घर्ष जारी रहन्छ र वर्गसङ्घर्षले नै नयाँ र प्रगतिशील सामजिक, राजनैतिक र आर्थिक व्यवस्था सिर्जना गर्छ। यी र यस्तै खालका उद्गारहरूबाट हामीले वर्तमान राजनैतिक अव्यवस्था, अन्याय–अत्याचार र विकृतिहरूको चिरफार गर्दै उज्वल भविष्यप्रति आशावादी बन्न उत्प्रेरणा पाइरहेका छौं। 

पार्टी स्थापना दिवसको अवसरमा पूर्व–पश्चिम, उत्तर–दक्षिण, अनि हिमाल, पहाड र तराई सबै क्षेत्रका ३१ भन्दा बढी जिल्लाहरूमा पार्टीको इतिहास, आन्दोलन र उपलब्धिहरू, समसामयिक राजनीति र हाम्रो दायित्व, बहुमत कामदार जनताको लागि नर्क बनेको पूँजीवादी व्यवस्थाको अनिवार्य पतन तथा समाजवादको अवश्यम्भवी उदय आदिबारे गोष्ठी, अन्तरक्रिया, सभा, जुलुस र अतिरिक्त क्रियाकलापहरू भइरहेका छन्। यो सभा पनि त्यसैको सिलसिला हो। 

त्यतिबेलाको भक्तपुरबारे हामी नयाँ पुस्ताले इतिहास पढेका मात्र छौं, सुनेका मात्र छौं, यहाँहरूमध्ये अधिकांश इतिहासको साक्षी हुनुहुन्छ। तात्कालीन भक्तपुर अन्याय, अत्याचार र असमानताले भरिएको थियो। पुस्तौंदेखि खेतीपाती गर्दै आएको जग्गाबाट किसानहरू कुनै पनि समयमा निकालिन्थे। रगत–पसिना बगाएर उत्पादन गरेको अन्नबाली भित्र्याउन पाउँदैनथे। जमिन्दार, साहु र महन्तहरूलाई बाली तिर्दा आफ्ना सन्तानहरू भोकै र नाङ्गै बस्नुपर्ने हुन्थ्यो। 'हिजोको भक्तपुरमा 'सः कुबियो लाय्कुया च्यूता छाय्?' भनिन्थ्यो। किसानका छोराछोरीलाई अक्षर चिन्ने र जान्ने अवसर हुन्थेन। भएका एक–दुई वटा विद्यालयमा पढ्न गएका किसानका छोराछोरीलाई 'ज्यापू' भनी हेलाहोचो र अपमानमात्र नभई शारीरिक आक्रमण समेत गरिन्थ्यो। हिजोको भक्तपुरलाई 'मला' वा खुला शाौचालयजस्ता अपमानजनक शब्द प्रयोग गरिन्थ्यो। 

इतिहासको अँध्यारो एवम् विभेदकारी पानालाई च्यातचूत पार्दै भक्तपुर आजको अवस्थामा पुगेको छ। कसरी सम्भव भयो त? नयाँ पुस्तालाई एकादेशको कथाजस्तै लाग्ला, तर सत्य यही नै हो। नेपाल मजदुर किसान पार्टीको नेतृत्वमा पार्टीका अग्रजहरूले यहाँका शोषक–सामन्तहरूका विरुद्ध मोहियानी हक सुरक्षाको आन्दोलन, बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, साँढे धपाउने अभियान सञ्चालन गरे। 

घर वरपरको बाटो, टोल र सार्वजनिकस्थल सरसफाइलाई कुनै समुदाय विशेषको तुच्छ काम भनी हेपिएको अवस्थामा पनि सरसफाइ सभ्यताको पहिचान र सम्मानजनक पेशाको रुपमा स्वीकार गर्ने अवस्थासम्म ल्याइपुर्‍याउन अग्रजहरूले ठूलै सामाजिक क्रान्ति गरे, साँस्कृतिक अभियान चलाए।  

राज्यले गरिबलाई शिक्षा प्रदान गर्नेमा विभेद गरेर के भो त, हरेक गरिबले पनि शिक्षित हुने अधिकार राख्छ, उच्च शिक्षा हासिल गरेर समाज परिवर्तनको संवाहक बन्न सक्छ र शोषणको विरोधमा आफूलाई खर्राे रुपमा उतारेर राजनैतिक व्यवस्था परिवर्तनका लागि नेतृत्व प्रदान गर्न सक्छ भन्ने दृढ सङ्कल्प बोकेर अग्रजहरूको उत्तिबेलादेखि नै पाटी र सत्तलहरूमा विद्यालय सञ्चालन गरे, टोल–टोलमा वाचनालय र पुस्तकालयहरू खोले। त्यही नै जगमा उभिएर ख्वप कलेज, उच्च मावि, इन्जिनियरिङ्ग कलेज, पोलिटेक्निक हुँदै ख्वप विश्वविद्यालयसम्मको सपना साकार पार्न निरन्तर क्रियाशील छौं।  

विभिन्न जिल्लाका जनताको लागि आज भक्तपुर शैक्षिक गन्तव्य, सरसफाइको नमुना, विदेशीका लागि पर्यटकीय आकर्षण केन्द्र बनेको छ। अग्रजहरूको जुझारु योगदान नयाँ पुस्ताको लागि प्रेरणाको स्रोत बनेको छ। देश र समाजप्रति उत्तरदायी बन्न नयाँ पुस्तालाई मार्गनिर्देश पनि भइरहेको छ।  

नेपाल मजदुर किसान पार्टीको इतिहासका अनेकौं गर्विला पाटाहरूमध्येको एक ऐतिहासिक पाटो भक्तपुरदेखि काठमाडौंसम्मको विशाल पैदल र्‍यालीहरूको विषयमा तपाईंहरूसामु थोरै चर्चा गर्दछु। नेपालको राजनैतिक इतिहासका अत्यन्त महत्त्वपूर्ण परिवर्तनका लागि भक्तपुर–काठमाडौं र्‍याली निर्णायक बनेका छन्।  

आन्दोलन र सङ्घर्षका रुपहरूमा जुलुसलाई निकै प्रभावकारी माध्यम मानिंदै आएको छ। त्यसमा पनि प्रत्येक पल्टको भक्तपुर–काठमाडौं र्‍यालीमा उत्साहपूर्वक नारा लगाएर सहभागी हुने साना बालबालिकादेखि वृद्ध–वृद्धाहरू समेतको जोश र भक्तपुरदेखि काठमाडौंसम्मको लामो पैदल दूरीमा बीसौं हजार प्रदर्शनकारीहरूको उत्साह सबै न्यायप्रेमी नेपालीका लागि प्रेरणा हुने गर्थ्याे। त्यसमाथि जुलुशमा लगाइने गगनभेदी नाराहरूले प्रतिक्रियावादी सरकार तथा तिनका पृष्ठपोषकहरूको मुटुमा जोड–जोडले ध्याङग्रो ठोक्ने गर्थ्याे। अहिलेसम्म भक्तपुरदेखि काठमाडौंसम्मको पैदल र्‍याली ६ पटक भइसके। सबैभन्दा पहिला २०३७ साल चैत १२ गते भयो। तत्कालीन समयमा पञ्चायती सरकारविरोधी जुलुश प्रतिबन्धित थियो। जनमतसङ्ग्रहमा नेमकिपाले देशभरि बहुदलको पक्षमा प्रचारप्रसार गरिरहेको थियो। पञ्चहरूले अनेक जालसाजी, गुण्डागर्दी र झूटा आश्वासन दिएर निर्दलीय पञ्चायतको पक्षमा निर्वाचन परिणाम ल्याए पनि संविधानमा जनताको मौलिक तथा राजनीतिक अधिकार बहालीका लागि भक्तपुर–काठमाडौं र्‍यालीले महत्त्वपूर्ण भूमिका खेलेको थियो।  

त्यस्तै २०४५ सालको भक्तपुर काण्डका कारण प्रताडित नेमकिपाका कार्यकर्ताहरू भक्तपुरबासी जनता र समग्र देशभरिकै न्यायप्रेमी जनताले पञ्चायतविरोधी र बहुदलको पक्षमा आन्दोलन गरे–२०४६ सालमा। आन्दोलनले सफलता पनि पायो। तरै पनि प्रतिक्रियावादीहरू जनताको प्रतिनिधिले बनाएको संविधान लागू नगराउने षड्यन्त्रमा लागेका थिए। त्यस्तो परिस्थितिमा नेमकिपाको नेतृत्वमा २०४७ कार्तिक २० गते भक्तपुर–काठमाडौं पैदल र्‍याली भयो–बहुदलीय प्रजातान्त्रिक संविधान घोषणाको माग गर्दै। र्‍यालीमा जनताको अपार सहभागिता र प्रतिक्रियावादीहरूको षड्यन्त्रविरुद्ध मुठी उचालेर लगाइएका नाराले गर्दा नै बहुदलीय संविधान घोषणा गर्न दबाब पुगेको त्यतिबेलाको राजनैतिक नेतृत्वले स्वीकार गरिसकेको सबैलाई थाहा छ।  

नेपालको महाकाली नदीको पानीमाथिको सम्पूर्ण स्वामित्व औपचारिक रुपमै भारतीय विस्तारवादलाई सुम्पने उद्देश्यले तत्कालीन सरकारले भारतसँग गरेको देशघाती महाकाली सन्धिविरुद्ध नेमकिपाकै नेतृत्वमा २०५३ भदौ २६ गते भक्तपुर–काठमाडौं र्‍याली भएको थियो। र्‍यालीकै कारण न्यायप्रेमी नेपाली जनताले महाकाली सन्धिभित्र लुकेको देशहित विपरीतका बुँदाहरू प्रष्टसँग बुझे र सन्धिविरुद्ध देशव्यापी विरोधको लहर पैदा भयो। तर भारतीय मालिकको तलुवा चाट्न पल्केका दलाल राजनैतिक दल र नेताहरूका कारण २०५३ असोज ४ गते महाकाली सन्धिलाई संसदबाट बलजफ्ती पारित गरियो। त्यसलगत्तै आक्रोशित नेपाली जनता नेमकिपाकै नेतृत्वमा २०५३ असोज ५ गते उपत्यका बन्दको कार्यक्रमसहित भक्तपुरदेखि काठमाडौंसम्मको पैदल र्‍यालीमा सहभागी बने। 

२०५७ सालमा तात्कालीन सरकारले लठ्ठी, हँसिया बोक्नेलाई समेत आतङ्ककारी घोषणा गर्ने र सार्वजनिकस्थलमा ५ जनाको समूह पनि सँगै बस्न नहुने र बसेमा गिरफ्तार गरी आतङ्ककारीको संज्ञा दिने उद्देश्यले ल्याइएको कालो विधेयकविरुद्ध नौ वामको संयुक्त आन्दोलनको क्रममा पनि नेमकिपाले २०५७ वैशाख १९ गते भक्तपुर–काठमाडौं र्‍याली गरेको थियो। र्‍याली विशाल थियो र त्यसले सिंहदरबारको चारैतिर घेराउ गर्‍यो। तात्कालीन सरकार अत्तालिएर पागलसरी प्रदर्शनकारीहरूमाथि दमन गर्न लागिपरेको थियो। तर आन्दोलनसामू सरकार निरीह सावित भयो।  

तात्कालीन राजा ज्ञानेन्द्रको प्रतिगमनकारी कदमविरुद्ध नेमकिपालगायतका दलहरूले २०५९ सालदेखि नै आन्दोलन गरिरहेका थिए। आन्दोलन चर्किदै जाँदा प्रतिगमन पूरा सच्चियो र आधा सच्चियो भन्दै जनतालाई विश्वासघात गर्दै केही शासक दलहरू राजाको दुलोमा पसेका थिए। आन्दोलनकारी दलहरूमध्येका शासक दलहरूले बारम्बार जनताको विश्वास तोडेपछि आन्दोलन शिथिल बन्दै गइरहेको थियो। जनतामा निराशा बढ्दै थियो। त्यस्तो परिस्थितिमा आन्दोलनमा रक्तसञ्चार गर्न नेमकिपाले २०६३ पुस २६ गते भक्तपुर–काठमाडौं विशाल र्‍याली गर्‍यो। उक्त र्‍यालीको तरङ्ग देशभरि फैलियो, जनतामा आन्दोलनप्रति पुनः विश्वास जाग्यो र आन्दोलन सशक्त बन्दै गयो। 

प्रतिगमनविरोधी आन्दोलन उत्कर्षमा पुग्दै थियो। निरङ्कुशताविरुद्ध सडक ततिन थालेको थियो। सरकारी दमनले शहीदहरू जन्मँदै थिए र शहीदको रगतको प्रत्येक थोपाबाट हजारौं योद्धाहरू निरङ्कुशताविरुद्ध सडकमा ओर्लन थालेको थिए। यस्तोमा तात्कालीन राजाले आन्दोलनबाट तर्सेर २०६३ वैशाख ९ गते राति शाही घोषणा गरे। तर जनआन्दोलनको माग पुरा नभएकोले आन्दोलन रोकिएन। त्यति नै बेला नेमकिपाले २०६३ वैशाख ११ गते लाखौंको सङ्ख्यामा भक्तपुर–काठमाडौं र्‍याली गर्‍यो। उक्त र्‍याली आन्दोलन सफल बनाउन निर्णायक सावित भयो। राजा तत्कालै आफूले खोसेका सम्पूर्ण अधिकार फिर्ता गर्न बाध्य भयो। आन्दोलनको सफलतासँगै देशमा गणतन्त्र स्थापना भयो। 

नेमकिपाले २०६२/२०६३ को आन्दोलनलाई अन्तिम आन्दोलन मानेको छैन। अहिलेको गणतन्त्र पूँजीवादी गणतन्त्र भएकोले यसैबाट कामदार जनताको हित हुन्छ भनेर स्वीकारेको पनि छैन। त्यसैले आन्दोलनकारी दलहरूले २०६२/०६३ को आन्दोलन टुङ्ग्याएको घोषणा गरेलगतै नेमकिपाले आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै देशव्यापी समाजवादी गणतन्त्र प्रचार अभियान थालेको हो। त्यस्तै शासक दलहरूको दलाल प्रवृत्तिका कारण नेपालमा भारतीय विस्तारवादलगायत विदेशी साम्राज्यवादी शक्तिहरूले हस्तक्षेप गर्न थालेको विरोधमा नेमकिपाले वैदेशिक हस्तक्षेपविरुद्ध आन्दोलन पनि चलाउँदै आएको छ। त्यसैक्रममा पार्टीको छैटौं महाधिवेशनलाई पनि आन्दोलनकै सिलसिलाको रुपमा २०७० चैत्र ११ गते अर्को ऐतिहासिक भक्तपुर–काठमाडौं र्‍याली सम्पन्न भयो। उक्त र्‍याली आजभन्दा ३ वर्षअघि भएको थियो र अधिकांश न्यायप्रेमी जनता, युवा–विद्यार्थी, शिक्षक–कर्मचारी, किसान, मजदुर, महिला, सञ्चारकर्मी, उद्योगी–व्यवसायीलगायत सबैको सक्रिय उपस्थिति थियो। हामी धेरैका लागि उक्त र्‍यालीका प्रत्येक घटनाक्रम स्मरणमा ताजै छ। 

यस प्रकार नेपाल मजदुर किसान पार्टीले देश र जनताको हितमा तथा कामदार जनताको पक्षमा सधैभरि आन्दोलनको नेतृत्व गरिरहेको प्रष्ट छ। पद र पैसाको लोभले वा मन्त्री–प्रधानमन्त्री बन्ने आशाले नेमकिपा र यसको नेतृत्वले कहिल्यै पनि मार्क्सवादी सिद्धान्तलाई बन्धकीमा राखेन, जनतालाई कहिल्यै धोखा दिएन। कामगरी खाने जनतासामू गरेको वाचालाई पार्टी नेतृत्वले कहिल्यै तोडेन। सधैभरि इमान्दारिपूर्वक देश र जनताको सेवा गर्न पार्टी नेतृत्वले निर्देशित गरिरहेको छ। 

नेमकिपाको गौरवपूर्ण इतिहास पुरानो पुस्तामार्फत नयाँ पुस्तामा सार्ने र देशको सार्वभौमिकता रक्षा तथा समाजवादी व्यवस्थाको सङ्घर्षमा लाग्न नयाँ पुस्तामा जोश र जाँगर थप्ने कार्यमा सबैको कृयाशीलता रहन्छ भन्ने पूर्ण विश्वास व्यक्त गर्दछु। 

(नेपाल मजदुर किसान पार्टीको ४३ औं स्थापना दिवसको अवसरमा माघ १० गते भक्तपुरको दत्तात्रयमा आयोजित जनसभामा पार्टी केन्द्रीय सदस्य रविन्द्र ज्याख्वद्वारा व्यक्त मन्तव्य)