बिजुली चोरी नियन्त्रण गर्न स्मार्ट मिटर जडान आवश्यक
बिजुली चोरी नियन्त्रण राम्रो काम हो। राज्यको सम्पत्ति चोर्नु कुनै पनि हिसाबमा अपराध हो। तर चोरी नियन्त्रणको नाममा नेपाल विद्युत् प्राधिकरणले साधारण जनतामा त्रासमात्र दिने हो भने त्यो कुनै पनि हालतमा उचित छैन। साना माछालाई समातेर ठूला माछा छोड्ने हो भने त्यसले परिणाम नकारात्मक निकाल्नेछ। त्यसैले प्राधिकरणको ध्यान ठूला उद्योग तथा कलकारखाना, ठूला होटेल तथा रेष्टुरेन्टबाट अभियान थाल्नुपर्छ।
सर्वसाधारणलाई निःशुल्क वा अत्यन्तै कम शुल्कमा बिजुली उपलब्ध गराउनु सबभन्दा राम्रो उपाय हुनसक्छ। कम बिजुली खपत हुने चिमहरू सस्तोमा उपलब्ध गराउने हो भने पनि गैरकानुनी काम गर्न मानिस उद्यत हुँदैनथे। उद्योगको हकमा भने राज्य उदार हुनु जरुरी छैन।
विद्युत् मिटर बिगार्ने र कम रकमको बिल बनाई प्राधिकरणलाई घाटा पुर्याउने कार्यमा संलग्नहरूलाई पक्राउ गरिएको केही दिनअघिको समाचारले केही हुने आशा गर्न सकिन्छ। आफ्नै कर्मचारीको संलग्नतामा बिजुली चोरी हुने कुराको स्पष्टीकरण प्राधिकरणका उच्चपदस्थ कर्मचारी र सम्बन्धित मन्त्रीले दिनुपर्छ। यस्तो लाजमर्दो घटनामा संलग्न मिटर रिडर, सुपरभाइजर र सम्बन्धित व्यापारीलाई कानुनी आधारमा दण्ड जरीवाना गर्नु आवश्यक छ।
बिजुली चोरी नियन्त्रणको निम्ति स्मार्ट मिटरिङको व्यवस्था गर्नु उपयुक्त छ। आधुनिक प्रविधिको उपयोग गर्न ढिलाइ गर्नु हुन्न। विद्युत् प्राधिकरणले स्मार्ट मिटर जडान गर्न अविलम्ब पहल थाल्नु उपयुक्त हुन्छ।
–रास, भक्तपुर
|