September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

विश्वमा अब कुनै एक देशको दबदबा हुनेछैन

जेफ्री डी. स्याक्स 

सन् १७७६ मा प्रकाशित आफ्नो पुस्तक –वेल्थ अफ नेसन्स' मा बेलायती अर्थशास्त्री एडम स्मिथले भूमण्डलीकरणका महत्त्वपूर्ण प्रारम्भिक घटनाबारे वर्णन गरेका छन्। वि्र्कस्टोफर कोलम्बसले सन् १४९२ मा युरोपबाट अमेरिका पुग्न पत्ता लगाएको समुद्री मार्ग र भास्को डी गामाले सन् १४९८ मा भारततर्फ गरेको समुद्री यात्राले आधुनिक भूमण्डलीकरणको नक्सा कोरेका हुन्। 

स्मिथका अनुसार ती दुई घटना मानवजातिको इतिहासमा दर्ज भएका सबैभन्दा महत्त्वपूर्ण घटना थिए। भूमण्डलीकरणले संसारको भलो गर्नुपर्ने उनको धारणा थियो। यसले विश्वका कुना–कुनामा छरिएका मानव समुदायलाई जोड्नुपर्छ, एकअर्काका चाहना पूरा गर्नुपर्छ, एकअर्कालाई थप आनन्दित तुल्याउनुपर्छ र एकअर्काका उद्योग तथा उत्पादनलाई प्रोत्साहित गर्नुपर्छ भनेर स्मिथले वकालत गरे। 

भूमण्डलीकरणको पहिलो लहरले भने अफ्रिका र एसियामा दर्दनाक इतिहास सुरु गर्र्यो। उत्कृष्ट सैन्य सामर्थ्यको बलमा युरोपेलीहरूले संसारभर राजनीतिक प्रभुत्व कायम गरे र दासत्वको अभ्यास सुरु गरे। दण्डहीनताको सुविधा पाएका युरोपेलीले विश्वभर अत्याचार मच्चाउन थाले। 

स्मिथलाई थाहा थियो, भविष्यमा युरोपेलीहरूको सामर्थ्य क्षीण हुनेछ। एसिया र अफ्रिकाका जनता शक्तिशाली हुनेछन्। त्यसपछि कसैले कसैमाथि प्रभुत्व जमाउने होइन, एकअर्काका अधिकार सम्मान गर्ने दिन आउनेछ। विचार र प्रविधिको विश्वव्यापी प्रवाहको कारण विभिन्न क्षेत्र र देशबीचकोे असमानता तीव्र ढङ्गले अन्त्य हुने उनले बताएका थिए। 

आखिर इतिहासले स्मिथलाई सही साबित गर्यो। उनले त्यतिबेला जुन समयको आँकलन गरेका थिए, त्यो आज यथार्थमै देख्न पाइन्छ। आज युरोपेली र अमेरिकी प्रभुत्वलाई एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महाद्वीपका देशहरूले ठूलो चुनौती दिएका छन्। आज हाम्रो पुस्ता इतिहास परिवर्तनको सङ्घारमा उभिएको छ। 

लगभग एक शताब्दीदेखि अमेरिकाको विदेश नीति 'उत्तर एट्लान्टिक क्षेत्र' अर्थात् पश्चिमी युरोप र अमेरिकाले विश्व अर्थतन्त्रमा नेतृत्व गर्नुपर्छ भन्ने धारणामा आधारित थियो। भूमण्डलीकरणको त्यो चरण अब अन्त्य हुँदैछ। अहिले संसारभर देखिएका तनाव र द्वन्द्व त्यही पुरानो विश्व व्यवस्था भत्कनुको परिणाम हो। 

इतिहास कसरी बदलिँदै छ भन्ने जान्न कोलम्बस र डी गामाको समय कस्तो थियो भनेर फर्केर हेरौं। आर्थिक इतिहासकार अन्गुस मेडिसनका अनुसार सन् १,५०० मा संसारको जनसङ्ख्या लगभग ४४ करोड थियो। त्यसमध्ये एसियामा ६५ प्रतिशत, अफ्रिकामा ११, युरोपमा २० र अमेरिकी महाद्वीपमा ४ प्रतिशत थियो। त्यस्तै, विश्व उत्पादनको ६५ प्रतिशत एसियामा थियो भने अफ्रिकामा ८, युरोपमा २४ र अमेरिकी महाद्वीपमा ३ प्रतिशत थियो। संसार गाउँ नै गाउँले भरिएको थियो र गरिब थियो। पूर्वी र दक्षिण एसियामा कृषि अर्थतन्त्रमा आधारित ठूला साम्राज्यहरूको उदय भएको थियो। 

कोलम्बसको समयमा सुरु भएको आविष्कार, खोज र व्यापारको कारण युरोपेलीहरू एसिया र अमेरिकी महाद्वीपमा आफ्नो पकड जमाउन सफल भए। इङ््ल्यान्डमा सुरु भएको औद्योगिक क्रान्तिले नै विश्व अर्थतन्त्रमा उनीहरूको प्रभुत्वलाई सम्भव बनायो। बाफ शक्तिको प्रयोग, औद्योगिक स्टिलको उत्पादन, कृषि र कपडा उत्पादनमा यन्त्रको प्रयोगको कारण युरोपेली अर्थतन्त्र तीव्रगतिले उकालो लाग्यो। 

यसरी सन् १९०० सम्म आइपुग्दा संसार आर्थिक र राजनीतिक रूपले युरोपेलीहरूको हातमा पुगिसकेको थियो। एसिया अझै विश्व जनसङ्ख्याको केन्द्र त थियो, तर विश्व अर्थतन्त्रको केन्द्र थिएन। संसारको जनसङ्ख्या १ अर्ब ६० करोड थियो। त्यसमध्ये एसियामा ५६ प्रतिशत, युरोपमा २७, अफ्रिकामा ७ र अमेरिकी महाद्वीपमा ९ प्रतिशत मानिस बसोबास गर्थे। 

मेडिसनका अनुसार त्यस समय विश्वको कुल उत्पादनमध्ये एसियामा २८ प्रतिशत, युरोपमा ४७, अफ्रिकामा ३ र अमेरिकी महाद्वीपमा २० प्रतिशत थियो। अमेरिकी महाद्वीपको अधिकांश भाग संयुक्त राज्य अमेरिकाको अर्थतन्त्रले ओगटेको थियो। यतिबेलासम्म आइपुग्दा एसियाको अर्थतन्त्र निकै खुम्चियो भने युरोपको अकाशियो। पश्चिमी युरोप, संयुक्तराज्य अमेरिका र क्यानडाको अर्थतन्त्रले विश्व उत्पादनको ५१ प्रतिशत भाग ओगटेको थियो। सन् १५०० मा विश्व अर्थतन्त्रमा चीनको हिस्सा २५ प्रतिशत थियो, जबकि सन् १९०० मा आइपुग्दा त्यो खुम्चिएर १० प्रतिशतमा झर्यो। 

संसार उत्तर एट्लान्टिक शक्ति राष्ट्रको हात गयो। त्यो समय विशेषतः बेलायतले संसारमा राज गर्यो। त्यसलाई ब्रिटेनको प्रभुत्वअन्तर्गत कायम भएको विश्व शान्तिको समय पनि भनिन्छ। तर, युरोपेलीहरूले कल्पना गरेजस्तो विश्वमा शान्ति थिएन। किनकि, युरोपले अफ्रिका र एसियामा साम्राज्य विस्तार गर्दै थियो। युद्ध लड्ने र जित्नेमात्र होइन, युरोपेली राजविरुद्ध भएका हिंसात्मक विद्रोहलाई पनि दमन गरिरहेको थियो। त्यस्ता विद्रोहलाई युरोपेलीहरू 'आतङ्कवाद' भन्थे। 

सन १९१४ देखि १९४५ सम्मको अवधिमा युरोपले आत्मघाती कदम उठायो। दुईवटा विश्वयुद्ध लड्यो र आर्थिक मन्दीको सामना गर्यो। विश्वयुद्धले बेलायतलाई तहसनहस गरेपछि विश्व अर्थतन्त्रको नेतृत्व अमेरिकातर्फ सर्यो। युरोपमा हिटलर राजबाट भागेर वैज्ञानिकहरू शरणार्थीका रूपमा अमेरिका सरे। यसरी सन् १९५० सम्म आइपुग्दा अमेरिकाले विश्व अर्थतन्त्रको २७ प्रतिशत भाग ओगट्न सफल भयो। त्यसको तुलनामा पश्चिमी युरोपको भाग २६ प्रतिशत, सोभियत सङ्घको ९ र चीनको केवल ५ प्रतिशत थियो। 

सन् १९४२ मा 'टाइम म्यागजिन' का हेनरी लुसले अब संसारमा 'अमेरिकी शताब्दी' सुरु भएको घोषणा गरे। त्यसबाट अमेरिकीहरू निकै उत्साहित भए। उक्त घोषणा लामो समयदेखि अमेरिकीहरूले विश्वास गरेको आफ्नो कथासँग ठ्याक्कै मेल खायो। त्यो कथाअनुसार अमेरिका भनेको 'अपवाद' को देश हो, जुन पुरानो संसारले ईश्वरप्रति गरेको गद्दारीको कारण ईश्वरले नै स्थापना गरेका हुन्। त्यही भएर अमेरिकाले आफ्नो महाद्वीपलाई 'सभ्य' बनाउनुपर्छ वा अमेरिका भनेको नै मानवजातिको 'अन्तिम आशा' हो। 

सन् १९४५ देखि १९९१ सम्म अमेरिकाको विदेश नीति शीतयुद्ध जित्न बनाइएको थियो। अमेरिकाले विश्व अर्थतन्त्रमा प्रभाव जमायो, तर सोभियत सङ्घले नेतृत्व गरेको साम्यवादी खेमाले छुट्टै विचारधाराको नेतृत्व गर्यो। यसले अमेरिकालाई भू–राजनीतिक चुनौती दियो। त्यो समय सोभियत सङ्घको प्रभाव रोक्नु अमेरिकी विदेश नीतिको प्रमुख मुद्दा बन्यो। 

त्यसैबेला आफ्नो विदेश नीतिलाई लिएर अमेरिकामा दुइटा विचारधाराबीच सङ्घर्ष चल्यो। सोभियत सङ्घको प्रभाव रोकेपछि अन्ततः पूरै संसारमा अमेरिकाले प्रभुत्व स्थापना गर्नेछ भन्ने एकथरीको तर्क थियो भने सोभियत सङ्घको प्रभावलाई शक्ति सन्तुलनको रूप बुझ्नुपर्ने अर्काथरीको तर्क थियो। सहकार्यमार्फत विश्वमा शान्ति स्थापना गर्न सकिन्छ र अनावश्यक युद्ध र प्रतिस्पर्धा आवश्यक छैन भन्ने तेस्रो धार पनि थियो। तर तेस्रो धारको प्रभाव भने धेरै परेन। 

दोस्रो विश्वयुद्धपछि अफ्रिका र एसियामा युरोपेली साम्राज्यको पतन सुरु भएको थियो। हिंसात्मक ढङ्गले चलेको उक्त प्रवि्र्कया दशकौं लम्बियो। उपनिवेशविरुद्धको आन्दोलनलाई अमेरिकाले कम्युनिस्ट खेमाको समर्थनमा भएको सङ्घर्ष भन्ने सम्झियो। अमेरिकाले दुई दशकसम्म भियतनामको एकीकरणविरुद्ध हिंसात्मक ढङ्गले युद्ध लड्यो। उपनिवेशबाट मुक्त मध्यपूर्वका देशप्रति पनि अमेरिका कठोर ढङ्गले प्रस्तुत भयो। त्यसको एउटा कारण सोभियत युनियनको प्रभाव रोक्नु र एक्जोन मोबिल तथा चेभरोनजस्ता अमेरिकी तेल उत्पादनकर्ताको हित संरक्षण गर्नु थियो। 

संसार बदलिँदै थियो। साम्राज्यको अन्त्य भएपछि अफ्रिका र एसियाका देशलाई आफ्नो भविष्य निर्माणका लागि लगानी गर्ने अवसर जुट्यो। उनीहरूले शिक्षा, जनस्वास्थ्य, प्रविधि र भौतिक पूर्वाधारमा प्रशस्त लगानी गरे। उपनिवेशबाट मुक्त केही देशले विश्व उत्पादन प्रणालीभित्र छिरेर उत्तर एट्लान्टिक देशको भन्दा तीव्र ढङ्गले आर्थिक विकास गरे। विकसित र विकासशील देशहरूबीचको खाडल पुरिँदै गयो। 

त्यस्तो सफलताको सबैभन्दा ठूलो कथा एसियामा थियो। पहिलो, जापान दोस्रो विश्वयुद्धको विध्वंशबाट मुक्त हुँँदै औद्योगिक मुलुकमा परिणत भयो। त्यसपछि हङकङ, सिंगापुर, ताइवान र कोरिया एसियाका बाघका रूपमा देखा परे। उता, चीनमा माओको निधनपछि खुला बजार नीति लिएर सन् १९७८ मा देङ सियावो पिङ आए। 

एसियाको सफलताको कथाले सन् ८० को दशकमा पूर्वी युरोप र सोभियत सङ्घलाई प्रेरणा दियो। पहिलो चरणमा त्यसको प्रभाव अर्थतन्त्रमा भन्दा राजनीतिमा पर्‍यो। सन् १९८९ मा सोभियत सङ्घ टुवि्र्कयो र १९९१ मा आइपुग्दा १५ वटा राज्य बने। त्यसपछि सोभियत सङ्घको प्रभाव रोक्नुपर्छ भन्ने एकथरी समूहले अब संसारमा आफ्नो एकल प्रभुत्व हुने सपना बुने। किनकि, उनीहरूको प्रधान शत्रु सोभियत सङ्घ खत्तम भइसकेको थियो। आफूले कल्पना गरेको 'इतिहासको अन्त्य' निकट भविष्यमै प्राप्त हुने उनीहरूले सपना देखे। 

उनीहरूले के महसुस गरेनन् भने सोभियत सङ्घको अन्त्यसँँगै चीनको आर्थिक उदय हुँदै थियो। सन् १९९२ मा अमेरिकाले विश्व उत्पादनको २० प्रतिशत र चीनले ५ प्रतिशत हिस्सा ओगटेका थिए। त्यसको २५ वर्षमा विश्व उत्पादनमा अमेरिकाको भाग घटेर १६ प्रतिशतमा झरेको छ भने चीनको भाग बढेर १८ प्रतिशत पुगेको छ। चीनले आफूले गुमाएको इतिहासलाई पछ्यायो र भेट्यो पनि। 

सूचना प्रविधिले अब विश्वको अघिल्लो चरणको आर्थिक वृद्धिलाई अघि बढाउने अनुमान गरिएको छ। उक्त प्रविधि अमेरिकामा मात्र होइन, संसारभरि छरिएको छ। त्यसले अमेरिकालाई मात्र होइन, संसारलाई नै धनी बनाउने छ। 'ब्रोडब्यान्ड' को प्रयोग संसारका सबै क्षेत्रमा फैलिएको छ। चीन त इन्टरनेट प्रयोग गर्ने सबैभन्दा ठूलो देश भएको छ। 

जनसङ्ख्याको आँकडाले पनि अब विश्व अर्थतन्त्र एसिया र अफ्रिकातर्फ सर्दै गएको देखाउँछ। सन् १९५० मा अमेरिका, क्यानडा र युरोपमा विश्वको २९ प्रतिशत जनसङ्ख्या थियो। २०१५ आइपुग्दा उक्त जनसङ्ख्या घटेर १५ प्रतिशतमा झर्यो। सन् २०५० मा उक्त जनसङ्ख्या १२ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। 

अर्कातर्फ, सन् १९५० मा अफ्रिकामा विश्वको ९ प्रतिशतमात्र जनसङ्ख्या थियो। सन् २०१५ मा उक्त जनसङ्ख्या बढेर १५ प्रतिशत पुग्यो र २०५० मा २५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। २०५० मा पुग्दा अमेरिकाको जनसङ्ख्या भने ४ प्रतिशतमै सीमित हुने अनुमान छ। 

त्यसको अर्थ हो, उत्तर एट्लान्टिक राष्ट्रहरूको प्रभुत्व भएको विश्व इतिहास अब अन्त्य हुँदैछ। उक्त इतिहास कोलम्बसको अमेरिका यात्रासँगै सुरु भयो। जेम्स वाटको बाफशक्ति सँगसँगै त्यसले गति लियो। बेलायती साम्राज्यले सन् १९४५ सम्म त्यसलाई संस्थागत गर्यो र अमेरिकी शताब्दीसम्म त्यसले निरन्तरता पायो। अब भने इतिहासले बाटो बदलेको छ। अमेरिका अझै धनी र बलियो राष्ट्र हो, तर उसले अब विश्वभर प्रभुत्व कायम राख्न सक्दैन। 

अबको संसारमा चीन, भारत वा कुनै एक देशको प्रभुत्व रहने छैन। प्रविधिको तीव्र विकास र व्यापकता तथा राज्यहरूसँग भएको लगभग पूर्ण सम्प्रभुताको कारण विश्व जनसङ्ख्या वा क्षेत्रमा कुनै एक देशको मात्र दबदबा हुने छैन। पछिल्लो समय जनसङ्ख्या वृद्धिदर घटेको छ भने वृद्ध मानिसको जनसङ्ख्या बढ्दैछ। सन् १९५० मा चीनमा मानिसको मध्यम उमेर २४ वर्ष थियो। सन् २०१५ मा त्यो उमेर बढेर ३७ वर्ष पुग्यो र सन् २०५० मा ५० वर्ष पुग्ने अनुमान छ। सन् २०५० मा अमेरिकाको पनि मध्यम उमेर बढेर ४२ वर्ष पुग्ने अनुमान गरिएको छ। युवा जनसङ्ख्या बढेको बेला युद्धको सम्भावना धेरै हुने इतिहासले देखाएको छ। अहिले त्यस्तो अवस्था छैन। 

मेरो विचारमा अहिलेको सबैभन्दा ठूलो विदेश नीतिको चुनौती भनेको प्रविधिले सम्पन्न प्रमुख शक्तिराष्ट्रबीच कसरी सहकार्य निर्माण गर्ने भन्ने हो। हामीले वातावरण र स्वास्थ्यसम्बन्धी चुनौतीसँग कसरी लड्ने भन्ने हो। हामीले साम्राज्य, स्वाधीनता र शीतयुद्धमा बिताएको विगतबाट अघि बढ्ने समय आएको छ। सयौं वर्षअघि एडम स्मिथले देखेको राष्ट्रहरूबीचको शक्ति र सामर्थ्य समान हुँदै गएको अवस्थामा अहिले हामी आइपुगेका छौं। हामीले खुसीसाथ दीर्घकालीन विकासको युगमा प्रवेश गर्नुपर्छ। यो युगमा शक्तिराष्ट्रहरूको प्रमुख लक्ष्य भनेको सहकार्यमार्फत विश्वमा बाँकी रहेको चरम गरिबी हटाउने, वातावरण संरक्षण गर्ने र एक क्षेत्र वा जातिले अर्को क्षेत्र वा जतिमाथि प्रभुत्व कायम गर्नुपर्छ भन्ने चाहनाले गराउने हिंसाबाट संसारलाई जोगाउनु हो। 

(अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक जेफ्री डी. स्याक्सको यो लेख 'बोस्टन ग्लोब' बाट अनुवाद गरिएको हो।)