September 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

जर्मनीको समाजवादी एकता पार्टीको छैठौं महाधिवेशनमा चीनको कम्युनिष्ट पार्टीका

प्रतिनिधिमण्डलका नेता उशओ छ्वानद्वारा दिइएको अभिनन्दन भाषण–२ 

चीनको कम्युनिष्ट पार्टी समाजवादी शिविरको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतालाई सुरक्षित गर्नमा दृढ छ र मस्को घोषणा तथा मस्को वक्तव्यमा स्थापित गरिएका बन्धु देशहरू तथा बन्धु पार्टीहरूको पारस्परिक सम्बन्धहरूलाई निर्देशित गर्ने सिद्धान्तहरूको रक्षा गर्नमा दृढ छ। त्यसैले एक वर्ष वा त्योभन्दा अघि सोभियत सङ्घको कम्युनिष्ट पार्टीको बाइसौं महाधिवेशनमा पहिलोपटक नामै किटेर अर्काे बन्धु पार्टी, अल्बानियाली लेवर पार्टीमाथि सार्वजनिक हमला गरिंदा चीनको कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले आफ्नो दृढ विरोध प्रकट गर्‍यो। त्यसबेलामा नै हामीले के बताएका थियौं भने यस्तो व्यवहारले 'एकतालाई मद्दत गर्दैन र यो समस्याहरूको समाधान गर्नमा सहायक हुँदैन। बन्धु पार्टीहरू वा बन्धु देशहरूको बीचको विवादलाई दुश्मनका सामु खुला रुपमा ल्याउने कामलाई गम्भीर मार्क्सवादी–लेनिनवादी दृष्टिकोण ठान्न सकिंदैन। यस्तो कामले हाम्रा मित्रहरूलाई दुःखित मात्र पार्नेछ र हाम्रा दुश्मनहरूलाई खुशी पार्नेछ। चीनको कम्युनिष्ट पार्टी हृदयदेखि के आशा गर्छ भने जुन बन्धु पार्टीहरूको बीच विवाद वा मतभेदहरू छन् उनीहरू फेरि मार्क्सवाद–लेनिनवादको आधारमा र स्वाधीनताप्रति पारस्परिक सम्मान तथा समानताको आधारमा एक हुनेछन्।' तर खेदको कुरा के हो भने हाम्रो यो हार्दिक सल्लाह परिस्थितिलाई बिग्रनुबाट रोक्नमा सफल भएन। बन्धु देश तथा पार्टीहरूका पारस्परिक सम्बन्धलाई निर्देशित गर्ने सिद्धान्तहरूको समर्थन गर्ने र एकतालाई दरिलो पार्ने इच्छाले, अप्रिल १९६२ मा चीनको कम्युनिष्ट पार्टीले सम्बन्धहरूलाई स्वस्थ पार्ने र वातावरणलाई सुधार्ने विषयमा केही बन्धु पार्टीहरूद्वारा पेश गरिएका सुझावहरूको सक्रिय समर्थन गर्‍यो र सम्बन्धित बन्धु पार्टीसमक्ष अधिकृत रुपमा के प्रस्ताव राख्यो भने मैत्रीपूर्ण छलफल तथा विचार–विमर्शद्वारा मतभेदहरूलाई हटाउन र एकतालाई बलियो पार्नको निम्ति सबै कम्युनिष्ट तथा मजदुर पार्टीहरूका प्रतिनिधिहरूको एउटा सम्मेलनको आयोजना गरिनुपर्छ। हामीले के पनि बतायौं भने यस्तो सम्मेलन आयोजना गर्नुभन्दा पहिले, सम्मेलनको आयोजना गर्न अनुकूल अवस्थाहरूको सिर्जना गर्नको निम्ति सबै पार्टीहरूले रेडियो र प्रेसद्वारा एकले अर्काेमाथि हमला गर्न बन्द गर्नुपर्छ। 

हामी के कुरा नभनी रहन सक्दैनौं भने हामीलाई दुःख लाग्ने गरी, चीनको कम्युनिष्ट पार्टी र केही अरु बन्धु पार्टीहरूका यस्ता प्रयत्नहरूमा सम्बन्धित बन्धु पार्टीबाट समर्थन प्राप्त भएन। त्यसको विपरीत, जुन व्यवहारले बन्धु देश तथा पार्टीहरूका सम्बन्धहरूलाई निर्देशित गर्ने सिद्धान्तहरूको अतिक्रमण गर्छ त्यसलाई दिनदिनै तीव्र पारिएको छ, यहाँसम्म कि हालै लगातार भएका केही बन्धु पार्टीहरूका महाधिवेशनहरूलाई बन्धु पार्टीहरूमाथि अरु हमला गर्ने मञ्चको रुपमा प्रयोग गरिएको छ। उक्त महाधिवेशनहरूमा, केही बन्धु पार्टीहरूका कामरेडहरूले अल्बानियाली लेबर पार्टीमाथि आफ्नो हमलालाई जारी राख्नुभयो र चीनको कम्युनिष्ट पार्टी तथा अर्काे बन्धु पार्टीमाथि नामै किटेर हमला गर्नुभयो। त्यसबाहेक उहाँहरूले चीनको कम्युनिष्ट पार्टीको विरुद्ध घनीभूत रुपमा हमला गर्न र लाञ्छना लगाउनको निम्ति आफ्नो अखबार तथा अरु प्रचार साधनहरूलाई व्यापक मात्रामा सङ्गठित पार्नुभएको छ। एकतालाई नष्ट पारेर फूट पैदा गरिरहेको यस गम्भीर विपरीत धारालाई देखेर धेरै बन्धु पार्टीहरूले चिन्ता र ब्याकुलता प्रकट गरेका छन्। यो एकदम उचित छ। 

चीनको कम्युनिष्ट पार्टीले सधैं त्यस्ता कुनै पनि सबै भनाइ तथा कार्यहरूको स्वागत गरेको छ जो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकताको अनुकूल छ। तपाईँहरूको पार्टीको यस महाधिवेशनमा हामीले बन्धु पार्टीहरूको बीच खुला हमलालाई रोक्ने, उनीहरूको बीचका बिग्रेका सम्बन्धहरूलाई स्वस्थ पार्ने र वातावरणलाई सुधार्ने विषयमा चीनको कम्युनिष्ट पार्टीको तर्कसङ्गत प्रस्तावको केही हदसम्म समर्थन गरिएको भनाइ सुनेका छौं। यदि यस्ता भनाइहरूलाई कार्यमा परिणत गरिएको खण्डमा हामीलाई ज्यादै खुशी लाग्नेछ। कम्युनिष्टहरूका कार्यहरू उनीहरूको भनाइको अनुरुप हुनुपर्छ भन्ने हाम्रो दृढ विचार छ। हमलाहरूलाई चालू राख्दा राख्दै हमलाहरूलाई बन्द गर्नुपर्ने आवश्यकताको कुरा गरिनुहुँदैन। यस्तो व्यवहार मतभेदहरूलाई हटाउन र एकतालाई बलियो पार्नमा सहायक हुँदैन। 

यहाँ फेरि एकपल्ट हामी हार्दिक अपिल गर्न चाहन्छौं – हामी सबै सर्वहारावर्गीय क्रान्तिको लक्ष्यका र दुश्मनविरोधी सङ्घर्षका हितहरूलाई मूल्यवान सम्झौं, उचित बाटोद्वारा र मस्को घोषणा तथा मस्को वक्तव्यमा स्थापित सिद्धान्तहरूको दृढ अवलम्बन गरेर मतभेदहरूलाई हटाई एकतालाई बलियो पारौं। मतभेदहरूलाई हटाएर एकतालाई बलियो पार्नको निम्ति मस्को घोषणा तथा मस्को वक्तव्यमा स्थापित सिद्धान्तहरूको अवलम्बन गर्ने बाटोमा र समानताको आधारमा अन्तरपार्टी विचार–विमर्शको बाटोमा फर्कनु आवश्यक छ। यस सम्बन्धमा जुन कामरेडहरूले सर्वप्रथम बन्धु पार्टीहरूमाथि हमला गर्नुभएको छ उहाँहरूले समस्याहरूको समाधानमा तत्परता लिनु सहयोगी हुनेछ। चीनको कम्युनिष्ट पार्टीको के दृढ विचार छ भने मतभेदहरूलाई हटाएर एकतालाई बलियो पार्ने एकमात्र सही बाटो सबैद्वारा मार्क्सवाद–लेनिनवाद तथा सर्वहारा अन्तर्राष्ट्रवादको, मस्को घोषणा तथा मस्को वक्तव्यका क्रान्तिकारी सिद्धान्तहरूको र बन्धु देशहरू तथा बन्धु पार्टीहरूको बीच सम्बन्धहरूलाई निर्देशित गर्ने सिद्धान्तहरू अवलम्बन गरिनु हो र मैत्रीपूर्ण छलफल तथा विचार–विमर्श गरिनु हो। ठीक यही स्थितिको अनुशरण गर्दै चीनको कम्युनिष्ट पार्टीले अनेक पटक सबै कम्युनिष्ट तथा मजदुर पार्टीहरूका प्रतिनिधिहरूको सम्मेलनको आयोजना गर्ने प्रस्ताव राखेको छ र यस्तो अन्तर्राष्ट्रिय सम्मेलन बोलाउने विषयमा केही बन्धु पार्टीहरूद्वारा पेश गरिएका सुझावहरूको समर्थन गरेको छ। बन्धु पार्टीहरूको यस्तो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नु आवश्यक छ भन्ने अहिले पनि हाम्रो दृढ विचार छ। सम्मेलनलाई सफल बनाउनको निम्ति विभिन्न देशहरूका बन्धु पार्टीहरूले अनेक कठिनाइ तथा बाधाहरूलाई हटाउन संयुक्त प्रयत्न गर्नुपर्छ र बन्धु पार्टीहरूमाथि गरिने हमलालाई बन्द गर्नुको साथै धेरै आवश्यक तयारीका कामहरू गर्नुपर्छ। 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको हितमा र दुश्मनविरोधी साझा सङ्घर्षको हितमा चीनको कम्युनिष्ट पार्टी मतभेदहरूलाई हटाएर एकतालाई बलियो पार्नको निम्ति अरु सबै मार्क्सवादी–लेनिनवादी पार्टीहरूसित मिलेर अथक रुपमा कोसिस गर्न तयार छ। हाम्रो दृढ विश्वास छ, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले अन्तमा सबै कठिनाइ तथा बाधाहरूलाई पन्छाउनेछ, आफ्ना पङ्क्तिहरूको एकतालाई सुदृढ पार्नेछ र साम्राज्यवादको विरुद्ध, विश्वशान्तिलाई सुरक्षित पार्नको निम्ति र मानव प्रगतिको लक्ष्यलाई बढाउनको निम्ति गरिने सङ्घर्षमा ठूल–ठूला विजयहरू प्राप्त गर्नेछ। 

कामरेडहरू, चिनियाँ कम्युनिष्ट पार्टी र त्यसको केन्द्रीय समिति (जसको नेता कामरेड माओ त्सेतुङ हुनुहुन्छ) को नेतृत्वमा चिनियाँ जनताले समाजवादी निर्माणको आम दिशा, लामो छलाङ्ग र जनकम्युनका तीन लाल झन्डाहरूलाई माथि उठाउँदै समाजवादी निर्माणको लक्ष्यमा सङ्घर्षहरू चलाएर ठूल–ठूला सफलताहरू हासिल गरेका छन्। पार्टीको आठौं केन्द्रीय समितिको दसौं विस्तारित बैठकको आह्वानको दिलैदेखि समर्थन गर्दै र तीन लाल झन्डाहरूलाई माथि उठाउन जारी राख्दै हाम्रो देशका जनता एकढिक्का भएर राष्ट्रिय अर्थतन्त्रको नयाँ लहरको निम्ति र समाजवादी निर्माण कार्यमा नयाँ विजयहरूको प्राप्तिको निम्ति एक दिलले तथा साहसका साथ अघि बढिरहेका छन्। 

अन्तर्राष्ट्रिय मामिलाहरूमा हाम्रो देशको विदेश नीतिको आम दिशा यो हो – सर्वहारा अन्तर्राष्ट्रवादको सिद्धान्तअनुसार सोभियत सङ्घ र अरु समाजवादी देशहरूसित मैत्री, आपसी सहायता तथा सहयोगका सम्बन्धहरूको विकास गर्नुत्र पाँच सिद्धान्तहरूको आधारमा भिन्न–भिन्न सामाजिक व्यवस्थाहरू भएका देशहरूसित शान्तिपूर्ण सहअस्तित्वको निम्ति कोसिस गर्नु र आक्रमण तथा युद्धका साम्राज्यवादी नीतिहरूको विरोध गर्नु र साम्राज्यवाद तथा उपनिवेशवादको विरुद्ध हुने उत्पीडित जनता तथा उत्पीडित राष्ट्रहरूको क्रान्तिकारी सङ्घर्षको समर्थन गर्नु। हाम्रो जनता यस आम दिशामा अडिग रहनेछन् र उनीहरूले विश्वका सबै क्रान्तिकारी तथा शान्तिप्रेमी जनतासित मिलेर विश्वशान्ति, जनवाद, राष्ट्रिय मुक्ति र समाजवादको लक्ष्यको विजयको निम्ति सङ्घर्ष गर्नेछन्। 

कामरेडहरू, चीन र जर्मन जनवादी गणतन्त्रका जनताले आफ्नो समाजवादी निर्माणको सिलसिलामा र साम्राज्यवादको विरुद्ध तथा विश्वशान्तिको सुरक्षार्थ आफ्नो साझा संघर्षको सिलसिलामा एकले अर्काको समर्थन गरेका छन् र गहिरो मित्रता कायम गरेका छन्। हाम्रो दृढ विश्वास छ, मार्क्सवाद–लेनिनवाद तथा सर्वहारा अन्तर्राष्ट्रवादको आधारमा र दुश्मनको विरुद्ध साझा संघर्षको हितमा हाम्रा दुई पार्टी र जनताहरूको बीच मित्रताको अरु विकास हुनेछ र त्यसलाई दरिलो बनाइनेछ। 

हाम्रा दुई देशका जनताको बीच भाइचारापूर्ण मित्रता दिनदिनै बढ्दै जाओस्! 

अब मलाई चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको अभिनन्दन सन्देश पढेर सुनाउनु अनुमति दिनुहोस्। 

जर्मनीको समाजवादी एकता पार्टी छैठौं महाधिवेशनको नाममा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अभिनन्दन सन्देश 

जर्मनीको समाजवादी एकता पार्टीको छैठौं महाधिवेशन  

प्यारा कामरेडहरू, 

चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको तर्फबाट चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समिति जर्मनीको समाजवादी एकता पार्टीको छैठौं महाधिवेशनलाई र उक्त अधिवेशनमार्फत तपाईंहरूका समग्र पार्टी र जर्मन जनवादी गणतन्त्रका जनतालाई हार्दिक भाइचारापूर्ण अभिनन्दन दिन्छ। 

समाजवादी निर्माणमा र मातृभूमिको एकीकरणको लागि गरिने सङ्घर्षमा बन्धु जनवादी गणतन्त्रका जनताद्वारा प्राप्त प्रत्येक सफलतामा चिनियाँ जनता खुशी मान्छन् र उनीहरूको के विश्वास छ भने तपाईंहरूले आफ्ना भावी निर्माण तथा सङ्घर्षहरूमा नयाँ सफलताहरू हासिल गर्नुहुनेछ। 

अमेरिकी साम्राज्यवादले विश्वभरमा आक्रमण तथा युद्धका आफ्ना नीतिहरूलाई कार्यान्वित गर्न आफ्नो प्रयत्नलाई बढाइरहेछ, अमेरिकी साम्राज्यवादको सक्रिय समर्थनमा पश्चिम जर्मन जनवादी गणतन्त्रको विरुद्ध आफ्ना उत्तेजनात्मक गतिविधिहरू चलाइरहेछ र यसरी युरोप तथा विश्वको शान्तिमा गम्भीर खतरा उत्पन्न गरिरहेछ। पहिले पहिले झैं, चिनियाँ जनताले आक्रमण तथा युद्धका अमेरिकी नीतिहरूको विरुद्ध, पश्चिम जर्मन सैन्यवादको विरुद्ध र युरोप तथा विश्वमा शान्तिको सुरक्षार्थ चलाइने जर्मन जनवादी गणतन्त्रका जनताको न्यायोचित सङ्घर्षको दृढ रुपमा समर्थन गर्नेछन्। 

साम्राज्यवादको विरुद्ध तथा विश्वशान्तिको सुरक्षार्थ सङ्घर्षमा र समाजवादी निर्माण कार्यमा चीन र जर्मन जनवादी गणतन्त्रका जनताले एकले अर्काेको समर्थन गरेका छन् र गहिरो भाइचारापूर्ण मित्रतालाई कायम गरेका छन्। चिनियाँ जनता र चीनको कम्युनिष्ट पार्टीले मार्क्सवाद–लेनिनवाद तथा सर्वहारा अन्तर्राष्ट्रवादको आधारमा हाम्रा दुई देशका जनताको एकतालाई बलियो पार्न र समाजवादी शिविरको तथा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको एकतालाई बलियो पार्न प्रयत्न गर्दै रहनेछन्। 

    चिनियाँ जनता र जर्मन जनवादी गणतन्त्रका जनताको अटुट एकता –  

जिन्दावाद ! 

    समाजवादी शिविरको र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको महान् एकता – जिन्दावाद ! 

    मार्क्सवाद–लेनिनवाद – जिन्दावाद ! 

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति 

(जनवरी १२, १९६३)