November 19, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

हाम्रो शिक्षा पद्धति

प्रशासक अनुगमनको क्रममा स्कूल पुगेछन्। स्कुलमा एउटा विद्यार्थीलाई सोधेछन्, “शिवजीको धनुष कसले भाँच्यो?” विद्यार्थीले जवाफ दिएछ, “सरी सर, मैले त होइन। हरिले तोडेको होला।” क्षेत्रीय प्रशासक तीन छक्क। अर्काे विद्यार्थीलाई सोधेछन्, “ल, तिमी भन बाबु, कसले भाँच्यो? “ऊ डरायो। भन्यो, “मरी जानु सर, मैले त हुँदै होइन। अरू कसैले होला।“ यो त अत्ति नै भयो। 

शिक्षकलाई उनले भने, “यो के भइरहेको छ? शिवजीको धनुष मैले भाँचेको होइन पो भन्छन् विद्यार्थीहरू। तपाईंहरूले के पढाउनुभएको हो?” शिक्षकले जवाफ दिए, “अब विद्यार्थीहरूलाई जबरजस्ती कसरी सकार्न लगाउने सर? अरू कसैले तोड्यो होला। हामीहरूका विद्यार्थी जरूर बदमास छन्, तर त्यति पनि छैनन् कि अर्काको धनुष नै तोडिदिने।” 

क्षेत्रीय प्रशासकको दिमाग चकराउन थाल्यो। फनफनिदै प्रधानाध्यापककहाँ पुगे। प्रधानाध्यापकलाई उनले भन्न थाले, “कस्ता शिक्षक राख्नुभएको हो? शिवजीको धनुष मेरा विद्यार्थीले भाँचेका होइनन् पो भन्छन् यिनले। त्यति पनि नजान्ने शिक्षकलाई कसरी नियुक्ति दिनुभयो?“ प्रअले जवाफ दिए, “यो सानो कुरोलाई छाडिदिनु न सर। म उनीहरूलाई फकाएर सत्य तथ्य ओकल्न लगाउँला।” 

क्षेत्रीय प्रशासक त बेहोस हुने अवस्था पो आयो। सिधै जिल्ला शिक्षा अधिकारीसमक्ष आएर चर्किन थाले, “तपाईंका कस्ता शिक्षक हुन्? कस्ता प्रअ हुन्? शिवको धनुष कसले भाँचेको हो भन्ने पनि थाहा पाउँदैनन्।” जिशिअले शान्त पार्न चाहे, “भैगो नि त सर, किन यति ठूलो इस्यु बनाउनु। एउटा धनुष भाँचियो त के भयो, अर्काे बनाएर शिवलाई दिउँला नि। बरू हामीसँँग पीसीएफ र राहतकोटाको अनुदान फ्रिज हुने जस्तो छ। त्यसैबाट बनाएर दिउँला नि। बरू त्यो शिव कुन विद्यालयको विद्यार्थी वा शिक्षक रहेछ?” 

क्षेत्रीय प्रशासकको अवस्था के थियो अनुमान गरौं। सिधै शिक्षा विभागको महानिर्देशक कहाँ आइपुगे। कुरो उही भने। डीजीले भने, “हो र सर? कस्ता उत्पत्याङ विद्यार्थी रछन् है? अर्काको धनुष भाँचिदिँदासम्म पनि ती शिक्षक के हेरेर बसिरहेका छन्? म तत्काल कारबाही गर्छु। बरू यो कुरो अगाडि किन बढाउनु परो र? चालू आर्थिक वर्षको बजेटमा नै कुनै शीर्षकबाट धनुष किन्न रकम विनियोजन गरिदिउँला नि।” 

लौ वित्यास। शिक्षा सचिवसमक्ष क्षेत्रीय प्रशासक नपुगे र भयो र? सचिवले भने, “म त नयाँ–नयाँ नै हो यो मन्त्रालयमा। म के भएको रहेछ डीजी वा मन्त्रालयका कार्यक्रम महाशाखाका प्रमुखसँग कुरा गरौंला। हुन त त्यसरी अर्काको धनुष भाँच्न त मिल्दैन नि। कारबाही त हुनुपर्ने हो।” 

अन्तिममा शिक्षामन्त्रीकहाँ पुग्नै परो। मन्त्रीले सचिवलाई कार्यकक्षबाट फोन गर्न लगाएर राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्यलाई बोलाउन लगाए। उनी आए पनि। मन्त्रीले निर्देशन दिए, “धनुष तोडिएको रहेछ। चाहे विद्यालयको होस् वा विद्यार्थीको। पैसा त नोक्सान भयो नि। योजना आयोगले आगामी बजेट कार्यक्रममा पाँच वटा धनुष बनाउन रकम दिनुपरो। एउटा शिवजीलाई दिनुपर्याे। एउटा सचिवले घरमा राख्नुहुन्छ। एउटा क्षेत्रीय प्रशासकले। एउटा योजना आयोगका सदस्यले। दुइटा मै लैजान्छु। मेरा नातिहरू धनुष खेल्ने भनेपछि बडो दङ्ग पर्छन्।“ (कृपया पात्रलाई सङ्केत र प्रवृत्तिका रूपमा मात्र लिइदिन अनुरोध 

छ।) 

–प्रकृति