September 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

बोहोरालाई मन्त्री बनाउन खोज्नुको कारण

भनिन्छ, उहिलेका शासकलाई परलोकको डर हुन्थ्यो, आधुनिक शासकलाई चाहिं लोक (जनता) को डर हुन्छ। 

तर, प्रधानमन्त्री शेरबहादुर देउवामा न त लोकको डर देखियो, न परलोकको। यही भयरहित मानसिकताका कारण देउवा दीपक बोहोरालाई मन्त्री बनाउने अलोकप्रिय एवं घिनौनी निर्णयमा पुगेका छन्। देशमा यतिबेला आयल निगमको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक हिनामिना भएको विषयले चर्चा पाइरहेको छ। यो प्रकरणमा आयल निगमका हाकिममात्रै होइन, तत्कालीन आपूर्ति मन्त्री दीपक बोहोराको समेत नाम मुछिएर समाचारहरू आइरहेका छन्। बोहोराले आफू मन्त्री भएका बेला मास्क लगाएर काठमाडौं बाहिर गई जग्गाको डिल गरेको समाचार विभिन्न राष्ट्रिय पत्रिकाहरूमा आउँदासमेत अख्तियार लगायतका राज्यका निकायहरू मुखमा पानी हालेर बसेका छन्। 

अख्तियारका प्रमुख र आयल निगमका हाकिमको पारिवारिक नाताकै कारण करोडौंको घोटाला काण्डमा अख्तियार मौन बसेको बताइँदै आएको छ। ठीक यहीबेला बहुमतको आधारमा सरकार चलाइरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै आधार र औचित्य पुष्टि नहुने गरी दीपक बोहोरालाई मन्त्री पदको पुरस्कारले सुशोभित गर्दैछन्। 

राप्रपा स्रोतका अनुसार विगतमा पनि सरकारमा सहभागी हुने बेलामा कमल थापाले बोहोरालाई आपूर्ति मन्त्रालयमा नभई अर्को कुनै मन्त्रालयमा जिम्मेवारी दिन खोजेका थिए, तर उनले 'आपूर्तिमा मेरो केही महिना काम छ' भन्दै सो मन्त्रालय सम्हालेका थिए।  त्यहीबेला निगमको जग्गा खरिद प्रकरण भएको थियो। 

पञ्चायत कालदेखि नै नीति निर्माणको तहमा बसेर राज्यको सम्पत्तिमा रमाउँदै आएका राप्रपा प्रजातान्त्रिकका नेता प्रजातन्त्र र गणतन्त्र कालमा पनि बारम्बार रहस्यमय तरिकाले मन्त्री हुने गरेका छन्। 

माओवादी नेतृत्वको सरकारमा होस् या काङ्ग्रेस एमालेको सरकारमा किन नहोस्, उनले मन्त्री खाने गरेका छन्। उनी मन्त्री हुँदा उनले सम्हालेको मन्त्रालयमा भ्रष्टाचार र कमिसनतन्त्र मौलाउने गरेको गुनासो सामान्यजस्तै बन्ने गरेको छ। तैपनि राज्यले बोहोरामाथि अहिलेसम्म सामान्य छानबिनसम्म गर्न सकेको छैन। 

बोहोरा प्रवृत्तिका मन्त्रीहरूको विशेषता नै यही रहँदै आएको छ कि मन्त्रालयलाई घूसघोरी र कमिसनखोरीको रूपमा बद्नाम बनाउनु। तलदेखि माथिसम्म घूसको सेटिङ मिलाउनु। 

विगतमा आयल निगमको ट्याङ्करबाटै बोहोराको गृहजिल्ला रूपन्देहीमा तेल चोरी हुने गरेको  घटना होस् या राजधानीमा पेट्रोल पम्पहरूमा नक्कली मिटर खडा गर्नेहरू पक्राउ परेको घटना होस्, यसको नेक्सस बनाउने ठाउँमा यिनै भ्रष्ट पञ्च मन्त्रीको भूमिका रहेको थियो। पञ्चायतकालदेखि नै भ्रष्टाचार गर्न पल्केकाहरूले लोकतन्त्र र गण्तन्त्रलाई बदनाम गर्दै आएका छन्। 

–भीष्म