November 17, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

'नेपालले सिक्किमबाट पाठ सिकोस्: बेइजिङ डायरी

 चेतनाथ आचार्य 

नेपालका मन्त्रीहरूकै अगाडि चिनियाँ विज्ञले 'नेपाल दोस्रो सिक्किम बन्न सक्ने' भन्दै चिन्ता व्यक्त गरे। 

थिङ्कट्याङ्कलाई चिनियाँ कूटनीतिको महत्त्वपूर्ण खम्बा मानिन्छ। विभिन्न देशसँग सम्बन्धित चिनियाँ थिङ्कट्याङ्कले तयार बनाएको प्रतिवेदन र सुझावको आधारमा चीनको परराष्ट्र मन्त्रालयले विदेश नीति निर्धारण गर्छ। चीनका विभिन्न विश्वविद्यालयहरूमा विभिन्न देश र क्षेत्र हेर्ने निकाय छन्। ती निकायले गहन अनुसन्धान र अध्ययनबाट प्राप्त निचोड चीन सरकारसमक्ष पेस गर्छन् र चीनले त्यही अनुसार विदेश नीति बनाउँछ। 

चीनको विदेश नीति अन्य देशको भन्दा विलकुल फरक छ। चिनियाँ कूटनीतिले राजनीतिक विषयलाई बेवास्ता गर्दै आर्थिक विकासलाई प्राथमिकतामा राख्छ। सुषुप्त र मन्द कूटनीति अङ्गालेको चीनलाई विश्वले सुतेको 'ड्रयागन' मान्ने गरेको छ। बीसौं शताब्दीको अन्त्यतिर अरू राष्ट्रहरू आफ्नो स्वार्थअनुसार विभिन्न देशमा राजनीतिक प्रभाव फैलाइरहँदा चीन भने आर्थिक विकासमा लम्किरहेको थियो। फलस्वरूप अहिले चीन विश्वको दोस्रो अर्थतन्त्रमा स्थापित छ र निकट भविष्यमै पहिलो अर्थतन्त्र बन्दैछ। 

नेपालसँगको चिनियाँ कूटनीति यही मियोमा घुमेको थियो। चिनियाँ थिङ्कट्याङ्कले पहिले भारतसँग सुमधुर सम्बन्ध राख्न नेपाललाई बारम्बार सुझाव दिने गरेका थिए। भारतकै कारण नेपालमा चिनियाँ लगानी असुरक्षित भएको भन्दै नेपालले भारतलाई खुसी पारेमा चिनियाँ व्यवसायीले निर्धक्क नेपालमा काम गर्न पाउने थिए भन्ने चिनियाँको बुझाइ थियो। सधै 'सफ्ट कर्नर'मा बस्ने चिनियाँ थिङ्कट्याङ्कहरू हिजोआज नेपालमा भारतीय हस्तक्षेपले पराकाष्ठा नाघेको टिप्पणी गर्न थालेका छन्। नेपालको विकासमा थप चिनियाँ सहयोग उपलब्ध गराएर नेपालमा सक्रिय चिनियाँ उपस्थिति नै भारतीय प्रभाव न्यून गर्ने उपाय रहेको उनीहरूको बुझाइ छ। चिनियाँ थिङ्कट्याङ्क नेपाल नीतिमा आक्रामक हुनथालेका केही उदाहरण यस प्रकार छन्। 

गत मे १४ र १५ तारिख चीनले आयोजना गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा भाग लिन नेपालबाट तत्कालीन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा तत्कालीन यातायात तथा भौतिक योजनामन्त्री रमेश लेखक र तत्कालीन सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्की चीनमा आएका थिए। उनीहरूको सहभागितामा बेइजिङस्थित नेपाली दूतावासले मे १५ तारिख 'बीआरआईमा नेपाल: नेपाल―चीन सम्बन्धका अवसर र चुनौती' विषयमा एउटा सेमिनारको आयोजना गरेको थियो। चीनका विभिन्न विश्वविद्यालयका दक्षिण एसिया विज्ञ प्राध्यापक तथा नेपाल–चीन सम्बन्धका अनुभवी पूर्वकूटनीतिज्ञहरू कार्यक्रममा सहभागी थिए, जो चीनको परराष्ट्र नीति बनाउने कुरामा अहिले पनि प्रत्यक्ष–परोक्ष रूपमा सहभागी रहँदै आएका छन्। नेपालका मन्त्रीहरूकै अगाडि उनीहरूले नेपालमा भारतको प्रभाव बढिरहेको उल्लेख गर्दै 'नेपाल दोस्रो सिक्किम बन्न सक्ने' भन्दै चिन्ता व्यक्त गरे। 

भारतीय राजनीति र विदेश नीतिमा 'पीएचडी' गरेका लङ सिनछुन सन् २००५ देखि चीनको सिचुवानस्थित वेष्ट नर्मल युनिभर्सिटीमा कार्यरत छन्। त्यही विश्वविद्यालयमा स्थापित भारत अध्ययन केन्द्रका उनी निर्देशक पनि हुन्। उनले दक्षिण एसियाली मुलुकमा भारतले आफ्नो पकड राख्न हरसम्भव प्रयास गरिरहने भन्दै नेपालमा भारतले नचाहिँदो हस्तक्षेप गरिरहेको विचार व्यक्त गरे। नेपालमा चीनको सुषुप्त र मन्द उपस्थिति नै भारतीय हस्तक्षेप सहज भएको भन्दै उनले नेपालको विकास र समृद्धिका लागि चीनले अझै सहयोग विस्तार गर्नुपर्ने सुझाव राखे। नेपाललाई सहयोग गर्न चीन हिच्किचाउन नहुने भन्दै डा. लङले भने, 'हामीले सिक्किमको इतिहासबाट सिक्नुपर्छ। सिक्किम एउटा स्वतन्त्र राष्ट्र थियो। त्यो पछि भारतमा गाभियो। सिक्किम काण्ड फेरि दोहोरियोस् भन्ने चीन चाहँदैन।' 

बीआरआईमा हस्ताक्षर गर्न नेपालले अलमल गरिरहेको र भारतकै कारणले हस्ताक्षर गर्न ढिलो भएको कुरा त्यस अगावै प्रकाशमा आइसकेको थियो। लामो प्रतीक्षापछि बीआरआईमा हस्ताक्षर गरेको अवस्थामा चिनियाँ थिङ्कट्याङ्कले नेपालका मन्त्रीहरूकै अगाडि भारतले नेपाललाई दोस्रो सिक्किम बनाउन खोजेको विचार व्यक्त गर्नु चानचुने कुरा थिएन। 

अगष्ट १ तारिख बेइजिङस्थित नेपाली दूतावासले नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६२ औं वार्षिकोत्सवको अवसरमा एक कार्यक्रम आयोजना गरेको थियो। 'ट्रान्स हिमालय क्षेत्रको शान्ति र समृद्धिका लागि नेपाल–चीन सम्बन्ध' विषयमा आयोजना गरिएको सेमिनारमा चिनियाँ समसामयिक अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन संस्था 'सीआईसीआईआर'का एसिया तथा ओसियानिक विभागका निर्देशक प्रोफेसर हु सिसेङले कार्यपत्र प्रस्तुत गरे। सीआईसीआईआर चिनियाँ राज्य परिषद् मातहतको संस्था हो, जसले चीनको परराष्ट्र नीति बनाउन सहयोग गर्छ। प्रोफेसर हु नेपाल र दक्षिण एसिया सम्बन्धका ज्ञाता मानिन्छन्। 

उनले आफ्नो प्रस्तुतिमा क्षेत्रीय शान्ति र समृद्धिमा नेपाल–चीन सम्बन्धमा देखिएका केही अवरोधहरू पनि औंल्याएका थिए। प्रोफेसर हुका अनुसार नेपालको राजनीतिक अस्थिरता विशेषगरी माओवादीले चलाएको जनयुद्धसँगै राजतन्त्र र अन्य पार्टीहरू बीचको द्वन्द्व एउटा कारक तत्त्व थियो। उनले यसलाई विगतको भनेर अर्ध्धाए पनि नेपालको मुख्य समस्या राजनीतिक अस्थिरता नै हो भन्ने कुरालाई चीनले बारम्बार भन्दै आएको छ। त्यसैगरी तिब्बतसम्बन्धी विषयमा चीन नेपालमा भौतिक तथा प्राविधिक रूपमा सक्रिय नहुनु भन्दै यसले पनि क्षेत्रीय शान्ति र समृद्धिमा अवरोध ल्याएको प्रोफेसर हुले औंल्याए। यी दुई विषयलाई प्रोफेसर हुले विगतका समस्या भनेर वर्तमानमा धेरै हदसम्म सुधार भएको सङ्केत गरे। उनले औंल्याएको तेस्रो समस्या भारतसँग सम्बन्धित थियो। विशेषगरी नेपालमा भारतले निर्वाह गरिरहेको नकारात्मक भूमिका नै ट्रान्स हिमालय क्षेत्रको शान्ति र समृद्धिका लागि ठूलो चुनौती रहेको उनले उल्लेख गरे। भारतको यो मानसिकता वर्तमानमा निकै बढेको र भविष्यमा अझै बढ्ने सम्भावना रहेको उनले अनुमान गरेका छन्। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग हस्ताक्षर गरेका सम्झौतालाई उनीपछिका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यान्वयन गर्ने कुरा भाषणमा भन्दै हिँडे। नेपाल भ्रमणमा गएका विभिन्न चिनियाँ नेता र बुद्धिजीवीसँगको भेटमा पनि उनले ती कुरा दोहोर्‍याइरहे। तर उनको १० महिने कार्यकालमा ती सम्झौता कार्यान्वयनका उपलब्धि शून्य भयो। दाहालको कार्यकालमा बल्लतल्ल बीआरआईमा नेपालले हस्ताक्षर गर्‍यो। त्यसपछि तुरुन्तै सरकार परिवर्तन भइहाल्यो। दाहालपछि प्रधानमन्त्रीमा निर्वाचित शेरबहादुर देउवाले पनि पूर्ववर्ती सरकारले चीनसँग गरेका सम्झौताहरूको कार्यान्वयन गर्ने भनिरहँदा चिनियाँ थिङ्कट्याङ्कले भने नेपाली नेताको भनाइप्रति अविश्वास प्रकट गरिरहेका छन्। 

नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा प्रोफेसर हुपछि हबेइ विश्वविद्यालयमा स्थापित नेपाल अध्ययन केन्द्रका निर्देशक चाङ सुपिनले 'बीआरआई फ्रेमवर्कभित्र चीन नेपाल सहयोग प्रवर्द्धन' शीर्षकको प्रस्तुति गरेका थिए। उनले नेपाली नेताहरू बोलीमा मात्र ठिक्क पार्ने तर व्यवहारमा केही नगर्ने भन्दै नेपाली नेताहरूप्रति व्यङ्ग गरे। चिनियाँ थिङ्कट्याङ्कका यी भनाइ व्यक्तिगत भेटघाटमा सुटुक्क भनिएका होइनन्। नेपालको कूटनीतिक नियोगले आयोजना गरेको सार्वजनिक समारोहमा औपचारिक रूपमा आफ्ना धारणा व्यक्त गरेका हुन्। यस्ता चिनियाँ भनाइले नेपालमा भारतीय हस्तक्षेपले हद नाघेको र त्यस्तो भारतीय नीतिले चीनलाई रुष्ट बनाएको सन्देश दिन चाहेको बुझिन्छ।  

आचार्य चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, नेपाली सेवा, बेइजिङमा कार्यरत छन्।