September 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

उपकुलपति नै भ्रष्ट भएपछि

त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्त भएलगत्तै तीर्थ खनियाँ बौद्धिक चोरीको आरोपमा मुछिए। उनले टर्कीका भाषाविद् फेरित किलाकायाको एउटा लेखबाट ५३ पङ्क्ति हुबहु सारेको तथ्य सार्वजनिक भयो। 

खनियाँ २०७२ भदौमा त्रिवि उपकुलपति नियुक्त भएका हुन्। बौद्धिक चोरीको आरोपबाट सुरु भएको कार्यकालमा खनियाँबाट अरू पनि यस्ता काम भएका छन्, जसले त्रिविको साख गिराएको छ। 

यसको पछिल्लो उदाहरण काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन प्रकरण हो। 

भौतिक तथा प्राज्ञिक पूर्वाधार पूरा नगरेको काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएपछि खनियाँ विवादित छन्। काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नपाउने व्यवस्थासहितको चिकित्सा शिक्षा विधेयक संसदमा विचाराधीन रहेकै बेला उनले  उक्त कलेजलाई सम्बन्धन दिने निर्णय गरेका थिए। 

डा. गोविन्द केसीको एघारौं अनसनबीच भएको सम्बन्धन निर्णयले केसीको सत्याग्रह आन्दोलनकै अवमूल्यन गरेको थियो। चौतर्फी दबाब र प्रधानमन्त्री तथा त्रिवि कुलपति शेरबहादुर देउवाले 'त्रिविको उक्त निर्णयबाट सरकारकै बद्नामी भएको' भन्दै चेतावनी दिएपछि उनले कार्यकारी परिषद् बैठक डाकेर सम्बन्धन खारेज गराएका थिए। 

त्रिविअन्तर्गतका संस्थानहरूको अधिकार खोस्ने काम पनि खनियाँकै कार्यकालमा भएको छ। 

खनियाँ कुलपति नियुक्त हुँदै गर्दा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) निमित्त विभागीय प्रमुखका भरमा चलिरहेको थियो। उनी लामो समय डिन नियुक्त नगरी चुपचाप बसे। निमित्त डिनको अवकाश भएपछि पनि उनी तातेनन्। दुई साता संस्थान पूरै पदाधिकारीविहीन भयो। त्यो मेडिकल कलेजहरूले विद्यार्थी भर्ना गर्नुपर्ने समय थियो। डिन नभएपछि संस्थानले समयमा शुल्क र सीट सङ्ख्या तोक्न सकेन। मौकाको फाइदा उठाउँदै मेडिकल कलेजहरूले जथाभावी शुल्क तोक्यो। विद्यार्थी सङ्ख्यामा मेडिकल कलेजको मनोमानी चल्यो। 

–रोहेज खतिवडा