November 19, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

औपचारिकतामा सीमित शिक्षा दिवस

यस वर्षको शिक्षा दिवस विगत वर्षहरूभन्दा फरक रह्यो। विद्यालयहरूलाई दिइने पुरस्कारमा चित्त नबुझेर परेको मुद्दामा पाटन उच्च अदालतले गरेको फैसलाले विद्यालयहरूलाई पुरस्कार प्रदान गरिने दिवसको औपचारिक कार्यक्रम अन्तिममा आएर शिक्षा मन्त्रालयले स्थगित गर्यो। 

तैपनि गत भदौ २३ गते परेको ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान हुने पदकहरू प्रदान भए। शिक्षा कार्यालय तथा जिल्ला शिक्षा समितिको आयोजनामा विभिन्न कार्यक्रमहरू भए। विभिन्न सङ्घ संस्था तथा विद्यालयहरूले आ–आफ्नै सक्रियतामा साहित्यिक तथा विद्यार्थीका प्रतिभा प्रस्फुटन कार्यक्रम गरी पुरस्कार वितरणसमेत गरेको समाचार पढ्न सुन्न पाइयो। 

वर्षमा एक दिन मनाउने शिक्षा दिवसले शिक्षाको क्षेत्रमा लाग्ने सम्पूर्ण सरोकारवालालाई समेट्न सक्यो वा सकेन? 

यस आलेखमा उक्त कोणबाट चर्चा गर्न खोजिएको छ। 

नेपालका अधिकांश क्षेत्रमा शिक्षा दिवसको कुनै प्रभाव पर्न सकेन। शिक्षा मन्त्रालय मातहतका जिल्ला तहका कार्यालय तथा कार्यालय पेरीफेरीका शिक्षकहरूको सहभगितामा शिक्षा दिवस मनाउनुले शिक्षक तथा विद्यार्थीको अपमान गरेको छ। 

शिक्षाको विकास र उन्नयनमा योगदान गरेका शिक्षाका कर्मचारी तथा अहोरात्र खटेर विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार गर्दै विद्यालयको समग्र पक्षको स्तरोन्नतिमा लागेका शिक्षकहरूलाई सम्मान तथा प्रशंसा पत्र प्रदान गर्नु शिक्षाको विकासमा थप सुधार ल्याउने अर्थमा बुझ्न सकिन्छ। 

ज–जसले सम्मान पत्र तथा प्रशंसा पत्र प्राप्त गरे उनीहरूलाई बधाई तथा शुभकामना ! यो  सम्मान तथा प्रशंसा पत्र शिक्षाको समुन्नतिको लागि सहायक बन्न सकोस्। हरेक दिन कार्यालय तथा विद्यालय जानु अघि भित्तामा झुण्ड्याइएको उक्त सम्मान पत्र वा प्रशंसा पत्रलाई हेरेर दत्तचित्त भएर आफ्नो कर्तव्यमा लाग्न प्रेरणा दिन सकोस्। त्यतिबेलामात्रै यो सम्मान तथा पुरस्कारले सार्थकता पाउनेछ। 

तर सम्मानित केही व्यक्तिका सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिलाई आधार मान्ने हो भने एकदुईबाहेक आफूले पाएको सम्मानको श्रेय आफैलाई दिन नसकेको आभास पाउन सकिन्छ। आफूभन्दा उपल्लो तहकाहरूको सहयोग र सद्भावले पुरस्कृत हुन पाएको व्यहोराका भजन गाउनेको कमी देखिदैंन। 

उक्त भजनले प्राप्त सम्मानको औचित्य र गरिमालाई नै आँच पुग्दै छ भन्ने हेक्का राख्न नसक्नु लाजमर्दो देखिएको छ। यसको सङ्केत डरलाग्दो छ। टाठाबाठा, सङ्घ सङ्गठन, नातागोता र राजनीतिक पृष्ठभूमिकै शिक्षक कर्मचारी नै सधै पुरस्कारको हकदार रहन्छन् भन्ने पुष्टि गर्दै छ यो कृत्यले। यसले शिक्षाको विकास र उन्नतिले उभोगतिभन्दा पनि अधोगतिको बाटो समात्न सक्छ। 

पुरस्कार वितरणको मापदण्ड के हो? मापदण्डभित्र पर्न शिक्षक तथा कर्मचारीहरूले के–कस्तो योगदान गरिरहेको हुनुपर्दछ? यस्ता प्रश्नको सार्वजनिक रुपमा जानकारी हुनु आवश्यक छ। यस विषयमा खासै मापदण्ड बनेको र भएको जस्तो लाग्दैन। बनेको वा भएको भए पनि त्यो जानकारीमै छैन वा पहुँच बाहिर नै छ। जसले गर्दा 'जसको हातमा डाडु पनियो उसैको भागमा भुजा' हुने नै छ अर्थात् सधै भजन मण्डली पुरस्कृत हुने क्रम जारी रहन्छ। 

यस वर्षको शिक्षा दिवसले पहुँच र भनसुन केन्द्रित पुरस्कार प्रणालीमा सुधार ल्याउने सद्बुद्धि प्रदान गरोस्। कुनाकाप्चा र दूरदराजमा इमानदारीपूर्वक विद्यार्थीको सिकाइमा निःस्वार्थ भावनाले लाग्ने शिक्षकहरू पनि पुरस्कारको भागीदार बन्न सकून्। पुरस्कार पुरस्कारको लागि मात्र नभएर शैक्षिक क्षेत्रको सुधारको लागि होस्, हाम्राको लागि होइन राम्राका लागि होस्। 

अर्को वर्ष सुधार हुने अपेक्षासहित, यस वर्ष ढिलो भए पनि राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना ! 

–सुरज लम्साल दीपक मा.वि भिमाद –५, तनहुँका शिक्षक हुन्