September 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको सामान्य सिद्धान्तका विषयमा एक सुझाव–३

१४ जून १९६३ 

('अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको सामान्य सिद्धान्तका विषयमा एक सुझाव' शीर्षकको आलेखमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको आम नीति कस्तो हुनुपर्छ? त्यस्तो आम नीति निर्धारण गर्न आधारभूत अन्तरविरोधहरू के के हुन्? आधारभूत अन्तरविरोधको निर्क्याेल गर्दा वर्ग आधारलाई कसरी लिने? क्रान्तिका लागि स्थितिको परिपक्वतालाई गुम्न नदिन के गर्नुपर्छ? 'शान्तिपूर्ण सहअस्तित्व' देशहरूबीच सम्बन्ध बढाउन हो या दबाउन र नियन्त्रणमा राख्न? समाजवादमा वर्ग र वर्गसङ्घर्ष हुन्छ कि हुँदैन? 'सम्पूर्ण जनताको राजसत्ता' के सम्भव छ? वर्गीय स्वरुप नभएको पार्टी पनि हुनसक्छ? बन्धु पार्टी र देशहरूबीचका सम्बन्धहरूलाई निर्देशित गर्ने सिद्धान्त कसले उल्लङ्घन गर्‍यो र कसले अवलम्बन गर्‍यो? मार्क्सवादी–लेनिनवादी सत्यलाई नक्कल गर्ने कि आफ्नो देशको व्यवहारसित एकजुट गर्ने? बन्धु पार्टीहरूबीच मतभेद र विवाद उठाउने तर त्यसको जवाफ लुकाउनेहरू सही हुनसक्छ? लगायतका प्रश्न र विषय हिजो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा उठेको थियो। त्यसै सिलसिलामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले मार्च ३०, १९६३ मा सोभियत कम्युनिष्ट पार्टी केन्द्रीय समितिलाई दिएको जवाफ यहाँ प्रकाशित गरिएको छ। – सम्पादक) 

 

(१८) मार्क्स र लेनिन दुवैको के मत थियो भने साम्यवादी समाजको माथिल्लो चरणमा पुग्नुभन्दा पहिलेको सम्पूर्ण काल पूँजीवादबाट साम्यवादतिर सङ्क्रमणकाल हो, सर्वहारा वर्गको अधिनायकत्वको काल हो। यस सङ्क्रमणकालमा सर्वहारा वर्गको अधिनायकत्व अर्थात् सर्वहारा वर्गीय राजसत्ता, स्थापना, सबलीकरण, मजबुती तथा क्रमिक लुप्तता द्वन्द्वात्मक प्रक्रियाबाट गुज्रन्छ। 

'गोथा कार्यक्रमको आलोचना' मा मार्क्सले यस सवाललाई यसरी पेश गर्नुभयो – 

'पूँजीवादी र साम्यवादी समाजको बीच एकको अर्काेमा क्रान्तिकारी हेरफेरको काल रहन्छ। यसकै अनुरुप राजनैतिक सङ्क्रमणकाल पनि रहन्छ जसमा राजसत्ता सर्वहारा वर्गको क्रान्तिकारी अधिनायकत्वबाहेक अरु कुनै हुन सक्दैन।' (मार्क्स र एंगेल्स, सङ्कलित कृतिहरू, विदेशी भाषा प्रकाशन गृह, मस्को, १९५५, ग्रन्थ दुई, पृष्ठ ३२–३३। 

लेनिनले बारबार सर्वहारा वर्गको अधिनायकत्वसम्बन्धी मार्क्सको महान् सिद्धान्तमाथि बल दिंदै खास रुपमा आफ्नो प्रसिद्ध कृति 'राजसत्ता र क्रान्ति' मा उक्त सिद्धान्तको विकासको विश्लेषण गर्नुभएको छ। उक्त पुस्तकमा उहाँले लेख्नुभएको  

छ – 

'... साम्यवादतिर विकसित भइरहेको पूँजीवादी समाजबाट साम्यवादी समाजमा सङ्क्रमण 'राजनैतिक सङ्क्रमणकाल' बिना असम्भव छ र यस कालमा राजसत्ता सर्वहारा वर्गको अधिनायकत्वमात्र हुनसक्छ।' (लेनिन, सङ्कलित कृतिहरू, विदेशी भाषा प्रकाशन गृह, मस्को, १९५२, ग्रन्थ दुई, भाग १, पृष्ठ २८९) 

उहाँले फेरि भन्नुभएको छ – 'राजसत्ताबारे मार्क्सको शिक्षाको सारतत्वको पूरा ज्ञान ती मानिसहरूले मात्र प्राप्त गर्न सकेका छन् जो यस कुरालाई बुझ्दछन् कि आम रुपले प्रत्येक वर्ग समाजको लागिमात्र होइन, पूँजीपति वर्गलाई उखालेर फालिसकेको सर्वहारा वर्गको लागिमात्र होइन बरु पूँजीवादलाई 'वर्गहीन समाज' बाट, साम्यवादबाट अलग्याउने सम्पूर्ण ऐतिहासिककालको लागि पनि एकको वर्गको अधिनायकत्वको आवश्यकता रहन्छ।' (माथिकै, पृष्ठ २३४) 

माथि भनिएझैं मार्क्स र लेनिनको मौलिक प्रस्थापना के हो भने पूँजीवादबाट साम्यवादतिर सङ्क्रमणको सम्पूर्ण ऐतिहासिक कालको लागि अर्थात् तमाम वर्गभेदहरूको उन्मूलन र वर्गहीन समाजमा, साम्यवादी समाजको माथिल्लो चरणमा प्रवेशसम्मको सम्पूर्ण कालको लागि सर्वहारा वर्गको अधिनायकत्व अनिवार्य रुपले रहिरहने छ। 

बीच बाटोमा नै सर्वहारा वर्गको अधिनायकत्व अब उप्रान्त आवश्यक छैन भनी घोषणा गरिएमा के होला? 

के यसले सर्वहारा वर्गको अधिनायकत्वबारे मार्क्स र एंगेल्सका शिक्षाहरूको मौलिक रुपमा विरोध गर्दैन? 

के यसले 'समाजवादले पैतृक सम्पत्तिको रुपमा पूँजीवादबाट पाएको उक्त सरुवा रोग, महामारी, खटिरा' को विकासलाई खुला छुट दिंदैन? 

अर्काे शब्दमा भन्ने हो भने यसले ज्यादै गम्भीर परिणामहरूलाई पैदा गर्नेछ र साम्यवादतिर कुनै सङ्क्रमणको सवाललाई पन्छाइदिनेछ। 

के 'सम्पूर्ण जनताको राजसत्ता' हुनसक्छ? के सर्वहारा वर्गको अधिनायकत्वको राजसत्ताको ठाउँमा 'सम्पूर्ण जनताको राजसत्ता' को स्थापना गर्नु सम्भव छ? 

यो कुनै खास देशको आन्तरिक मामिलासित सम्बन्धित सवाल होइन तर मार्क्सवाद–लेनिनवादको सर्वव्यापी सत्यसित सम्बन्धित मौलिक सवाल हो। 

मार्क्सवादी–लेनिनवादीहरूको दृष्टिमा अवर्गीय वा वर्गभन्दा माथिको राजसत्ता भन्ने कुनै चीज छैन। जबसम्म राजसत्ता रहन्छ, तबसम्म यसको वर्ग स्वरुप रहनैपर्छत्र राजसत्ता रहेसम्म यो 'सम्पूर्ण जनता' को राजसत्ता हुन सक्दैन। समाजमा वर्गहरू नहुने बित्तिकै राजसत्ता पनि रहँदैन। 

तब 'सम्पूर्ण जनताको राजसत्ता' कस्तो किसिमको चीज होला त? 

जो व्यक्तिमा मार्क्सवाद–लेनिनवादको प्रारम्भिक ज्ञान छ ऊ यो कुरा बुझ्न सक्दछ कि सम्पूर्ण जनताको तथाकथित राजसत्ता कुनै नयाँ चीज होइन। पूँजीपति वर्गका प्रतिनिधि व्यक्तिहरूको सधैं पूँजीवादी राजसत्तालाई 'सबै जनताको राजसत्ता', वा यस्तो 'राजसत्ता जसमा सत्तामाथि सबै जनताको अधिकार रहन्छ' भनेका छन्। 

कुनै व्यक्तिहरू के भन्न सक्छन् भने उनीहरूको समाज वर्गहरू नभएको समाज भइसकेको छ। हाम्रो जवाफ यही छ: अहँ, एउटा पनि नछोडीकन सबै समाजवादी देशहरूमा वर्गहरू तथा वर्ग सङ्घर्षहरू विद्यमान छन्। 

वस्तुतः त्यहाँ पुनः सत्ता हत्याउन खोज्ने पुराना शोषक वर्गहरूका अवशेषहरू विद्यमान छन्, त्यहाँ नयाँ पूँजीवादी तत्वहरूको उत्पत्ति निरन्तर रुपमा भइरहेको छ र परजीवी, सट्टाबाज, अल्छी व्यक्ति, गुण्डा, बदमास, सरकारी कोषको रकम उडाउने भ्रष्टाचारीहरू आदि बाँकी नै छन् भने वर्गहरू वा वर्ग सङ्घर्षहरूको अस्तित्व छैन भनेर कसरी भन्न सकिन्छ? अब सर्वहारा वर्गको अधिनायकत्वको आवश्यकता छैन भनेर कसरी भन्न सकिन्छ? 

मार्क्सवाद–लेनिनवादले हामीलाई के भन्दछ भने विरोधी वर्गहरूको दमन गर्ने कामबाहेक समाजवादको निर्माणको सिलसिलामा सर्वहारा वर्गको अधिनायकत्वको आवश्यक ऐतिहासिक कामहरू यी हुन्– मजदुर वर्ग र किसान जनताको बीचका सम्बन्धहरूको सही ढङ्गले प्रबन्ध गर्नु, उनीहरूको राजनैतिक तथा आर्थिक मेललाई बलियो बनाउनु र मजदुर तथा किसानको बीचमा रहेको वर्ग भेदको क्रमिक उन्मूलनको लागि अवस्थाहरूको सिर्जना गर्नु। 

कुनै पनि समाजवादी समाजको आर्थिक आधारतिर दृष्टि दिँदा हामी के पाउँछौं भने एउटा पनि नछोडीकन सबै समाजवादी देशहरूमा सम्पूर्ण जनताको मालिकत्व र सामूहिक मालिकत्वको बीचमा अन्तर विद्यमान छ र व्यक्तिगत मालिकत्व पनि रहेको छ। सम्पूर्ण जनताको मालिकत्व र सामूहिक मालिकत्व समाजवादी समाजमा दुई प्रकारका मालिकत्व, दुई प्रकारका उत्पादन सम्बन्ध हुन्। 

सम्पूर्ण जनताको अधिकारमा रहेका उद्योगधन्दाहरूमा काम गर्ने मजदुरहरू र सामूहिक अधिकारमा रहेका खेतहरूमा काम गर्ने किसानहरू समाजवादी समाजमा दुई भिन्नाभिन्नै श्रेणीका श्रमजीवीहरू हुन्। तसर्थ एउटा पनि नछोडीकन सबै समाजवादी देशहरूमा मजदुर र किसानको बीच वर्गभेदको अस्तित्व छ। साम्यवादको माथिल्लो चरणतिर संक्रमण नगरेसम्म यो भेद बिलाएर जाँदैन। आर्थिक विकासको अहिलेको आफ्नो स्तरमा सबै समाजवादी देशहरू अझसम्म साम्यवादको त्यो माथिल्लो चरणबाट टाढा नै रहेका छन् जसमा 'आफ्नो योग्यताअनुसार हरेकबाट र आफ्नो आवश्यकतानुसार हरेकलाई' को सिद्धान्त व्यवहारमा लागू हुन्छ। तसर्थ मजदुर तथा किसानको बीचको वर्गभेदको उन्मूलन गर्न धेरै धेरै नै समय लाग्नेछ। यस भेदको उन्मूलन नभएसम्म समाज वर्गहीन समाज हो वा सर्वहारा वर्गको अधिनायकत्वको अब आवश्यक छैन भनेर भन्नु असम्भव छ। 

समाजवादी राजसत्तालाई 'सम्पूर्ण जनताको राजसत्ता' भनेर राजसत्ताबारे मार्क्सवादी–लेनिनवादी सिद्धान्तको ठाउँमा राजसत्तासम्बन्धी पूँजीवादी सिद्धान्तको स्थापना गर्ने कसैले कोसिस गरिरहेछ? के सर्वहारा वर्गको अधिनायकत्वको राजसत्ताको ठाउँ एउटा भिन्नै स्वरुपको राजसत्ताको स्थापना गर्ने कोसिस हुँदैन? 

यदि यसो हो भने यो उल्टो दिशातिर ठूलो ऐतिहासिक कदमभन्दा अरु केही होइन। युगोस्लाभियामा भएको साामाजिक व्यवस्थाको पतन एउटा गम्भीर शिक्षा हो। 

१९) लेनिनवादको यो दृढ मत छ कि सर्वहारा वर्गीय पार्टी समाजवादी देशहरूमा सर्वहारा वर्गको अधिनायकत्वको साथ साथ रहनुपर्दछ। सर्वहारा वर्गको अधिनायकत्वको सम्पूर्ण ऐतिहासिक कालको लागि सर्वहारा वर्गको पार्टी अपरिहार्य छ। यसको कारण के हो भने सर्वहारा वर्गको अधिनायकत्वले सर्वहारा वर्ग र जनताका दुश्मनहरूको विरुद्ध सङ्घर्ष गर्नु छ, किसान तथा अरु स–साना उत्पादकहरूलाई नयाँ रुपमा ढाल्नु छ, सर्वहारा वर्गका पङ्क्तिहरूलाई निरन्तर रुपमा बलियो बनाउनु छ, समाजवादको निर्माण गर्नु छ र साम्यवादतिर सङ्क्रमणलाई सिद्ध गर्नु छ। सर्वहारा वर्गको पार्टीको नेतृत्वविना उपरोक्त कुनै पनि काम गर्न सकिँदैन। 

के 'समस्त जनताको पार्टी' हुन सक्छ? के सर्वहारा वर्गको अग्रदूत पार्टीको ठाउँमा 'समस्त जनताको पार्टी' को स्थापना गर्न सम्भव छ? 

यो पनि कुनै खास पार्टीको आन्तरिक मामिलासित सम्बन्धित सवाल होइन बरु मार्क्सवाद–लेनिनवादको सर्वव्यापी सत्यसित सम्बन्धित सवाल हो। 

मार्क्सवादी–लेनिनवादीहरूको विचारमा अवर्गीय वा वर्गभन्दा माथिको राजनैतिक पार्टी भन्ने कुनै चीज छैन। सबै राजनैतिक पार्टीहरूको वर्ग स्वरुप हुन्छ। पार्टी भावना वर्ग स्वभावको केन्द्रीभूत अभिव्यक्ति हो। 

सर्वहारा वर्गको पार्टी नै एकमात्र पार्टी हो जसले सम्पूर्ण जनताको प्रतिनिधित्व गर्नसक्दछ। यसले यसो गर्न सक्नाको वास्तविक कारण के हो भने यसले सर्वहारा वर्गका हितहरूको प्रतिनिधित्व गर्दछ, उनीहरूका विचार तथा दृढ सङ्कल्पलाई केन्द्रीभूत पार्दछ। यसले समस्त जनताको नेतृत्व गर्नसक्दछ किनभने सर्वहारा वर्गले तमाम मानव जातिलाई मुक्त गरेर मात्र आफूलाई अन्तिम रुपमा मुक्त गर्नसक्दछ, किनभने सर्वहारा वर्गको स्वभावले आफ्नो पार्टीलाई यसका वर्तमान तथा भावी हितहरूको आधारमा समस्याहरूको अध्ययन गर्नसक्ने पार्दछ किनभने पार्टी जनताप्रति असीम रुपले कर्तव्यनिष्ठ छ र यसको आत्म बलिदानको भावना छत्र यसैले जनवादी केन्द्रीयता तथा फलामे अनुशासन पनि रहन्छन्। यस्तो पार्टी नभइकन सर्वहारा वर्गको अधिनायकत्वलाई कायम राख्नु र समस्त जनताका हितहरूको प्रतिनिधित्व गर्नु असम्भव छ। 

साम्यवादी समाजको माथिल्लो चरणमा प्रवेश गर्नुभन्दा अघि बोल्दैमा सर्वहारा वर्गको पार्टी 'समस्त जनताको पार्टी' बनिसकेको छ भनेर घोषणा गरिएको खण्डमा र सर्वहारा वर्गीय स्वरुपको परित्याग गरिएको खण्डमा के होला? 

के यसले सर्वहारा वर्गको पार्टीसम्बन्धी मार्क्स र लेनिनका शिक्षाहरूको मौलिक रुपले विरोध गर्दैन? 

के यसले सङ्गठनात्मक तथा विचारात्मक दृष्टिले मजदुर वर्ग तथा सबै श्रमिक जनतालाई निहत्था पार्दैन? के यो पूँजीवादको पुनरुत्थान गर्नमा मद्दत गर्नु समान होइन? 

यस्तो परिस्थितिमा, साम्यवादी समाजतिर कुनै सङ्क्रमणको कुरा गर्नु 'रथलाई उत्तरतिर हाँक्दै दक्षिणतिर जानु' होइन? 

२०) विगत केही वर्षदेखि केही व्यक्तिहरूले नेता, पार्टी, वर्ग तथा जनसाधारणको अन्तरसम्बन्धबारे लेनिनका अक्षुण्ण शिक्षाहरूको अतिक्रमण गरेर 'व्यक्तिपूजाको विरोध' को सवाल उठाएका छन्। यो गलत र हानिकारक छ। 

लेनिनले प्रतिपादन गर्नुभएको सिद्धान्त यसप्रकारको छ:– 

क) जनता वर्गहरूमा विभाजित छन्त्र 

ख) अक्सर गरी वर्गहरूको नेतृत्व राजनैतिक पार्टीहरूद्वारा गरिन्छत्र 

ग) आम नियमको रुपमा, राजनैतिक पार्टीहरूको सञ्चालन ती सबभन्दा आधिकारिक, प्रभावशाली तथा अनुभवी व्यक्तिहरू भएको कमबेसी स्थिर समूहहरूद्वारा हुन्छ जो सबभन्दा उत्तरदायी स्थानहरूमा निर्वाचित हुन्छन् र जसलाई नेता भनिन्छ। लेनिनले भन्नुभएको छ: 'यो सबै प्रारम्भिक हो।' 

सर्वहारा वर्गको पार्टी क्रान्ति तथा सङ्घर्षमा सर्वहारा वर्गको प्रधान कार्यालय हो। प्रत्येक सर्वहारा वर्गीय पार्टी एउटा सङ्गठित तथा सङ्ग्रामयोग्य अग्रदूत बन्न सक्नुभन्दा अघि यसले जनवादमा आधारित केन्द्रीयताको अभ्यास गर्नुपर्दछ र एउटा बलियो मार्क्सवादी–लेनिनवादी नेतृत्वको स्थापना गर्नुपर्छ। 'व्यक्तिपूजाको विरोध' को सवाल उठाउनु वास्तवमा जनसाधारणको विरुद्ध नेताहरूलाई खडा गर्नु हो, जनवादी केन्द्रीयतामा आधारित पार्टीको एकताबद्ध नेतृत्वलाई कमजोर पार्नु हो, यसको लडाकू ताकतलाई दूषित बनाउनु हो र यसका पंक्तिहरूलाई छिन्नभिन्न पार्नु हो। 

नेताहरूलाई जनसाधारणको विरुद्ध खडा गर्ने गलत विचारहरूको आलोचना गर्दै लेनिनले उनीहरूलाई 'हास्यप्रद रुपले निरर्थक तथा बेकूफ' को नाम दिनुभएको छ। 

सही नेतृत्वले जनसाधारणका विचारहरूलाई केन्द्रीभूत गर्न जान्नुपर्दछ भन्ने विचारको अवलम्बन गर्दै चीनको कम्युनिष्ट पार्टीले सधैं व्यक्तिको भूमिकाको बढ्ता मूल्याङ्कन गर्ने कुरालाई अस्वीकार गरेको छ, पार्टीभित्र जनवादी केन्द्रीयताको समर्थन गरी यसलाई दृढतापूर्वक व्यवहारमा लगाएको छ र जनतासित नेतृत्वको सम्बद्धताको समर्थन गरेको छ। 

तथाकथित व्यक्तिपूजाको ठूलो स्वरले विरोध गर्दै केही व्यक्तिहरूले वास्तवमा सर्वहारा वर्गीय पार्टी र सर्वहारा वर्गको अधिनायकत्वको बदनाम गर्न भएभरको शक्ति लगाइरहेका छन्। यसको साथै उनीहरूले कुनै व्यक्तिहरूको भूमिकाको ज्यादै बढी मूल्याङ्कन गरिरहेका छन्, सबै गल्तीहरू अरुमाथि थोपरिरहेका छन् र सबै श्रेय आफैलाई छ भनी दावा गरिरहेका छन्। 

यो भन्दा गम्भीर कुरा के हो भने 'व्यक्तिपूजाको विरोध' को निहुँ बनाएर कुनै व्यक्तिहरू बन्धु पार्टी तथा बन्धु देशहरूको आन्तरिक मामिलाहरूमा असभ्य ढङ्गले हस्तक्षेप गरिरहेका छन् र उक्त पार्टीहरूमाथि आफ्नै गलत नीति लाद्ने उद्देश्य लिएर अरु बन्धु पार्टीहरूलाई तिनीहरूको नेतृत्व बदल्न जोड गरिरहेका छन्। यी सबै महाशक्ति अन्धराष्ट्रवाद, सङ्कीर्णतावाद तथा फूटवाद नभए अरु के हो त? यी सबै बिगार्ने काम नभए अरु के हो? 

नेता, पार्टी, वर्ग तथा जनसाधारणको अन्तरसम्बन्धबारे लेनिनका अक्षुण्ण शिक्षाहरूको गम्भीरतापूर्वक तथा विस्तृत रुपमा प्रचार गर्नु अत्यावश्यक छ। 

२१) समाजवादी देशहरूको बीचका सम्बन्धहरू नयाँ किसिमका अन्तर्राष्ट्रिय सम्बन्धहरू हुन्। ठूलो होस् या सानो आर्थिक दृष्टिले अधिक विकसित होस् वा कम विकसित समाजवादी देशहरूको बीच सम्बन्धहरू पूर्ण समानता, इलाकीय अक्षुण्णता, सार्वभौमिकता तथा स्वाधीनताप्रति सम्मान र एकले अर्काको आन्तरिक मामिलामा अहस्तक्षेपका सिद्धान्तहरूमाथि आधारित हुनुपर्दछ र सर्वहारा अन्तर्राष्ट्रवादका अनुसार पारस्परिक समर्थन तथा पारस्परिक सहायताका सिद्धान्तहरूमाथि पनि आधारित हुनुपर्दछ। 

हरेक समाजवादी देशले आफ्नो निर्माणको लागि मुख्य रुपले आफैमाथि भर गर्नुपर्दछ। 

आफ्नै ठोस अवस्थाहरूअनुसार प्रत्येक समाजवादी देशले सर्वप्रथम आफ्नै जनताको उद्योगी परिश्रम तथा प्रतिभाहरूमाथि भर पर्नुपर्छ, आफ्ना सबै प्राप्य साधनहरूको पूर्ण तथा नियोजित रुपमा उपयोग गर्नुपर्छ र समाजवादी निर्माणमा आफ्ना सबै क्षमताहरूलाई लगाउनुपर्छ। यसरी मात्र प्रभावकारी ढङ्गले समाजवादको निर्माण गर्न र तीव्रगतिले आफ्नो अर्थ व्यवस्थाको विकास गर्न सकिन्छ। 

बाँकी पृष्ठ ६ मा