October 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

विज्ञापनले बिगार्‍यो बानीः 'कर्नफ्लेक्स' हैन मकै' भटमास खाऔं

रु अरुणा उप्रेती 

टेलिभिजन च्यानलहरूमा दिनहुँ विभिन्न सप्लिमेन्ट, टनीक र डिब्बा बन्द 'पौष्टिक पदार्थ'हरूका विज्ञापन प्रसारण भइरहेका हुन्छन्। 

कतिपय विज्ञापनमा कुनै सेलीब्रेटीबाट भन्न लगाइएको हुन्छ, '५१ वर्षपछि घरको खानाले तपाईंलाई पोषण पुग्दैन। तपाईंले बाहिरको प्रोटिन, भिटामिन, सूक्ष्म तत्त्व भएको खाना खानुपर्छ। पौष्टिकताले भरपुर यो चिज खानुस्, तपाईंको मांसपेशी र हड्डी बलियो बन्छ।' 

विज्ञापनले औंल्याएको प्याकेट, सिसी या डिब्बावाल खाना खाएपछि बच्चाले फुटबलमा गोल गरेको, पढाइमा फसर्ट ल्याएको या वृद्धवृद्धा तन्दुरुस्त भएको देखाउन खोजिएको हुन्छ। त्यस्ता विज्ञापन बारम्बार हेरेपछि बालकदेखि वृद्धसम्मको मनमा साँच्चै हो कि भन्ने भ्रम उत्पन्न हुन्छ र उनीहरू घरमा भएका स्वस्थकर खानाको साटो बाहिरका प्याकेटका खानेकुरा किन्न तयार हुन्छन्। 

यस्ता गलत विज्ञापनलाई एक शब्दमा भन्न सकिन्छ, 'वाहियात।' 

रङ्गीचङ्गी विज्ञापनको फन्दामा परेर आमाबाबु पनि आफ्ना सन्तानलाई घरको पोषिलो दालभात, तरकारी ख्वाउन छोडेर प्याकेटका कुरा ख्वाउन सुरु गर्छन्। 

कुपोषणको कारण 

एउटा विज्ञापन कस्तो छ भने एउटा बालक थाकेर  खेल्न सक्दैनन्। अग्लो नभएकोले साथीहरूले उनलाई जिस्क्याउँछन्। घरमा आमाले बट्टाको खाना दिएपछि त्यो बालक फुर्तिलो र अग्लो भएको देखाइन्छ। यदि बट्टाको खाना खाएर अग्लो, फुर्तिलो र खेल तथा पढाइमा अब्बल हुने भए राजा र धनी परिवारका सन्तानहरू सधंै अग्रस्थानमा हुनुपर्ने हो। 

मानिसहरूमा भ्रम छर्ने यस्ता विज्ञापनहरू वास्तवमा वैज्ञानिक, सामाजिक, आर्थिक र मानवीय हिसाबले पनि गलत छन्। पोषक तत्त्व निकै कम भएका यस्ता खानाको बानी लागेपछि बालबालिकाहरू घरका पौष्टिक खाना खाँदैनन्। हुर्कंदो उमेरका बालबालिकामा पोषक तत्त्वको अभाव हुन्छ र उनीहरू बिरामी पर्छन्। अस्पताल जाँदा हुने खर्च, मानसिक तनाव र आफ्ना अन्य कामहरूमा त्यसको असर। 

बिग्रेको बानी 

अहिलेका केटाकेटीहरूले भोक लाग्दा आलु चिप्स, चाउचाउ या 'एक्सट्रा इनर्जी' आदि लेखिएका सप्लिमेन्टहरू खाएको देख्दा म आफ्नो बाल्यकाल सम्झन्छु। मकै–भटमाससँग चिया या मोही खाँदा हाम्रो पेट टम्म भरिन्थ्यो। बाहिरको बिस्कुट या चाउचाउ केही खानै पर्दैनथ्यो। 

मकै हाम्रो भान्सामा पाइने सस्तो तर ऊर्जा दिने खाना हो। हिजोआज भ्रामक विज्ञापनको प्रभावका कारण बालबालिका 'मकै पनि खाजा खाने हो र?' भनेर नाक खुम्च्याउँछन्। अनि त्यही मकैलाई अचेल मल्टिप्लेक्स हलहरूमा 'पप कर्न'का रुपमा बेच्न राखिएको हुन्छ। हाम्रा बालबालिका दुई मुठी मकैलाई दुई–तीन सय रुपैयाँसम्म तिर्छन्। किनकि, पप कर्न खाँदै फिल्म हेरेको दृश्य पनि विज्ञापनहरूमै देखाइन्छ। 

मैले चिनेकी एक महिला मित्र छिन्। एक दिन उनले बडो गर्वका साथ आफ्नो छोराले बिहानको खाजामा कर्नफ्लेक्सबाहेक केही नखाने बताइन्। 

'किन यस्तो महँगो खाना दिएको। फेरि कर्नफ्लेक्स बनाउँदा त त्यसमा भएका धेरै पौष्टिक तत्त्व हराइसक्छ। बरु मकैको च्याखलादिनुस् न', मैले भनें। 

'ओहो, मेरो छोराको घाँटीबाट मकैको च्याखला कसरी जान्थ्यो होला? मकै त नुरुले पचाउन पनि सक्दैन नि', ती महिलाले मलाई कर्के नजरले हेरिन्। 

ती महिलालाई थाहा रहेनछ, आखिर कर्न फलेक्स मकैबाटै बन्छ। उनी पनि पत्रपत्रिका र टीभीमा आउने विज्ञापनबाट प्रभावित थिइन्। उनलाई वास्तविकता थाहा थिएन र महँगो मूल्य तिरेर सूक्ष्म पोषकतत्त्व नभएको कर्न फलेक्स् घोरालाई खुवाइरहेकै थिइन्। 

फर्सी फालेर 'पम्कीन केक' 

विज्ञापनको प्रभाव कस्तो भने मानिसहरू तरकारी पसलबाट गोलभेंडा ल्याएर अचार बनाउन जाँगर गर्दैनन्, फर्सीको लेदो मिसाइएको 'टोम्याटो केचप' किनेर घरमा ल्याउँछन्। भित्र चिज के छ थाहा हुँदैन, बाहिरको झिलीमिली लेबलबाटै प्रभावित भइहाल्छन्। आफ्नै बारीमा फलेको फर्सी नखानेहरू विज्ञापनको भाउँतोमा सभ्य, शिक्षित र आधुनिक बन्ने नाममा डिपार्टमेन्ट स्टोरबाट 'पम्पकिन केक' या 'पम्पकिन सुप' खान अघि नै सर्छन। 

फर्सी त सस्तो तरकारी भयो, त्यसको के मूल्य? सहरियाहरू शिक्षित र आधुनिक त भएका छन्, तर फर्सीको हलुवा बनाएर खाने चेतना भने उनीहरूमा पटक्कै जागेन। अङ्ग्रेजी नाम भएकोले फर्सीमा भन्दा बढी पौष्टिक तत्त्व 'पम्पकिन केक'मै हुन्छ जस्तो गलत ठम्याइ। 

हो, बिहानदेखि बेलुकासम्मको हाम्रो खानामा विज्ञापनले नकारात्मक असर पारिरहेको छ। 'सर्ट कमर्सियल ब्रेक'मा आउने विज्ञापनहरूले हाम्रो 'हेल्थ ब्रेक' गरिरहेका छन्। विज्ञापनको चमक धमकमा हामी दृष्टिविहीन भएका छौं। 

कहाँसम्म भने बालबालिकालाई सकेसम्म चिनीले बनेका पदार्थ नखुवाउन चिकित्सकहरूको सल्लाह हुने गर्छ। तर, विज्ञापनले दूधमा पनि चकलेट हालेर खुवाउनुपर्ने अवस्थामा मानिसहरूलाई पुर्‍याइदिएको छ। त्यस्ता विज्ञापन हेर्ने बच्चाहरू पनि विशुद्ध दूधको साटो चकलेट हालेको दूध खान झगडा गर्छन्। चकलेट हालिएको दूध खाँदा सानैदेखि बच्चाको दाँत बिग्रन्छ, मोटोपन बढ्छ। 

भ्रामक विज्ञापन 

यस्ता विज्ञापन निर्माण गर्नेहरूले कसरी प्रोडक्टको लक्षित समूहलाई प्रभावमा पार्ने या गुमराहमा राख्ने भनेर मनोविज्ञहरूसँग पनि सल्लाह लिएका हुन्छन्। कतिपय विज्ञापनमा त 'डाक्टर'लाई नै उभ्याइएको हुन्छ। चर्चित कलाकार र समाजका प्रतिष्ठित व्यक्तिहरूकै मुखबाट ती चिजको गुनगान गाउन लगाइन्छ। 

अझ कुनै नायकले आफू पनि त्यही चिज खाएर सफलता पाएको कुरा गरिरहेको हुन्छ। फ्यानहरू तिनको लहलहैमा लाग्छन्। अभिभावकसँग बच्चाहरू पनि त्यही चिज चाहियो भन्दै किचकिच गर्न थाल्छन्। 

भारतका सुपर स्टार अमिताभ बच्चनले एउटा चिसो पेय पदार्थको विज्ञापनमा मोडलिङ गरेका थिए। 

'हाम्रो स्कूलको मिसले त यस्तो पेय पदार्थ खानुहुँदैन, स्वास्थ बिग्रन्छ भन्नुभएको छ। किन तपाईं यस्तो पेय पदार्थ खानुहुन्छ भनेर विज्ञापनमा भन्नुहुन्छ?', एक दिन एउटी स्कूले बालिकाले अमिताभलाई सोधिन्। 

अमिताभसँग त्यसको कुनै जवाफ थिएन। अन्ततः उनले त्यो पेय पदार्थको विज्ञापनमा खेल्न छाडे। 

अर्को एक विज्ञापनमा – ३१ वर्षको उमेर टेकेपछि महिला कमजोर हुँदै जाने र शरीरका लागि चाहिने क्याल्सियमलगायतका पोषक तत्त्व घरको खानेकुराले मात्र नपुग्ने' दाबी गर्दै 'जौ, चिनी र दूध हालेर बनाइएको यो चिज खानुहोस्, महिलाहरूको विशेष भोजन हो' भन्ने खालको प्रचार गरिएको हुन्छ। 

उमेर बढ्दै जाँदा महिलाको हाडको घनत्व केही कम हुँदै जान्छ। यो सत्य हो, तर महँगो बट्टाको खानाले त्यस्तो अवस्थामा केही फाइदा भने गर्दैन। 

हाड बलियो बनाउन चाहिने क्याल्सियम र भिटामिन डी प्राकृतिक तरिकाबाट पाउने अनेक उपाय छन्। घरमै भएको दाल, कोदो, सिमी, फापर, च्युरा, दूध, दही, मकै, सीमी आदि खाने, हिंडडुल गर्ने र घाममा बस्ने बानी बसाल्नुपर्छ। विज्ञापनको भाउँतोमा लाग्न छोड्नुपर्छ। क्याल्सियम चक्की, भिटामिन र बट्टाका वस्तु खाएर हाड बलियो हुँदो हो त अमेरिका र युरोपमा कसैको पनि हाड फुसफुसे हुँदै जाने समस्या हुँदैनथ्यो होला। 

सबैको मुखमा बुझो 

यस्ता भ्रामक विज्ञापन रोक्न मैले र अधिवक्ता विष्णु तिमल्सिनाले अदालतमा मुद्दा दायर गरेका थियौं। सर्वोच्च अदालतले कानुनको दायरामा रहेरमात्रै विज्ञापन दिन र चाउचाउ, औषधिलगायतमा भ्रामक विज्ञापनलाई नियमन गर्न सरकारको नाममा आदेश जारी गरेको थियो, तर त्यसलाई सरकारले सुनेन। अदालतको आदेश कुनै पत्रिकाको समाचार पनि बनेन। ती पत्रिकाका मुख पनि त तिनै विज्ञापनले बुझो लगाएका छन्। 

ब्रिटेनमा बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै 'एक्सन अन जंक फुड मार्केटिङ' नामक समूहले सरकारलाई खानाका बारेमा भ्रामक जानकारी दिने विज्ञापनमाथि रोक लगाउन या 'प्राइम टाइम'मा ती विज्ञापन प्रसारण गर्न नदिन दबाब दिइरहेको छ। नेपालमा भने गलत विज्ञापनविरुद्ध बोल्ने कुनै समूह छैन। विज्ञापनदाता कम्पनी र व्यापारीक घरानाले सबैको मुखमा बुझो लगाइदिएका छन्। 

टीआरपीको यो होडमा हामी विज्ञापन प्रसारण गर्ने टेलिभिजन च्यानललाई त केही भन्न सक्दैनौं, तर दर्शकहरू नै विवेक प्रयोग गरेर त्यस्ता विज्ञापनको प्रभावमा पर्नुहुँदैन। अब जाग्न बेला भएन? अब स्कूलका शिक्षकशिक्षिका, आमा, बुबा, बाजे बज्यैहरू नै यस्ता विज्ञापनको चङ्गुलबाट बच्नुपर्छ र आफ्ना बालबालिकाहरूलाई स्वस्थ र पौष्टिक घरकै खाना खान प्रेरित गर्नुपर्छ।