October 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नेपाली जनताको शिर ठडिएको दिनको स्मरण

मङ्गलबार संविधान दिवस मनाइयो। २०७२ असोज ३ गते संविधान घोषणा गर्नु नेपालीको निम्ति अविष्मरणीय बन्यो। संविधान आफ्नो स्वार्थअनुकूल नभएको भन्दै संविधान घोषणा भएकै दिनबाट दक्षिण छिमेकीले नाकावन्दी गरेको थियो। संविधानको घोषणा नगर्न दिइएको चेतावनीको बेवास्ता गर्दै नेपाली नेताहरूले एक किसिमको साहसी निर्णय गरेका थिए। नाकाबन्दीको विरोधमा कुनै पार्टीले खुलेरै विभिन्न प्रदर्शनीहरू गरे भने कति तँ कुटेझैं गर, म रोएझैं गर्छु भन्ने किसिमबाट प्रस्तुत भए। हाल सत्तामा रहेका पार्टीहरूले भने नाकाबन्दी नै होइन भन्ने बच्कना तर्क गर्दै भारतको बचाउ गरे। मधेसी दलहरू भारतीय स्वार्थको मोहडा बने। कुन पार्टी कस्ता भन्ने बुझ्न पाए, नेपाली जनताले।  

भारतले नेपालको संविधान बनेको टिपोटमा हालेको र संविधानप्रति रिजर्भेसन रहेको टिप्पणी गर्दै आएको छ। राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको विरोधाभाषबीच भारतले अझै संघीय गणतन्त्रात्मक नेपालको संविधानलाई स्वागत गरेको छैन। संविधान जलाउने वा संविधानलाई अमान्य घोषणा गर्ने मधेसवादी दलहरूले तेस्रो चरणको निर्वाचनमा भाग लिएका छन्, लगतै हुने सङ्घ र प्रदेशको चुनावमा पनि भाग लिने सङ्केत दिएका छन्। यद्यपि मधेशवादी दलहरूले स्थानीय तहको तेस्रो चरणको निर्वाचन पछि फेरि आन्दोलन गर्ने धम्की दिइरहेका छन्। धेरै हदमा संविधानलाई स्वागत नगरेको भारत एक्लिंदै गएको छ। संसारका अधिकांश देशले नेपालको संविधान स्वागत गरेबाट ऊ एक्लिएको पुष्टि हुन्छ। यसको अर्थ नेपालको संविधानमा विदेशीको छायाा छैन भन्ने होइन। विदेशीकै दबाबमा नेपालमा जातीय नारा उछालियो। एक मधेस एक प्रदेश मूलतः भारतको नारा थियो। धर्म निरपेक्षताको नारासमेत जवरजस्ती घुसाइएकोबारे पनि तर्कबाट प्रमाणित हुन्छ। यहाँसम्म कि नेपालको राजतन्त्र समाप्त पार्नसमेत विदेशी नै बढी सक्रिय थिए। विदेशीको चासो वा उद्देश्य नेपाललाई अस्थिर राजनीतिको शिकार बनाउने र धमिलो पानीमा माछा मार्ने काम विभिन्न गैरसरकारी संस्थाले गरे। नेपाललाई आधार बनाई तिब्बतलाई घेर्ने उद्देश्यले पश्चिमा शक्ति क्रियाशील छन्। नत्र नेपालजस्तो सानो देशमा संरा अमेरिकालगायत पश्चिमा राष्ट्रहरूले यति धेरै चासो र लगानी गर्दैनथे। एक मानेमा असोज ३ नेपालीको विजयको दिन पनि हो। नेपाली जनताले भारतीय नाकाबन्दीलाई नझुकेरै सामना गरे। नेपाली जनताले नाकाबन्दीको सामना गर्न सरकारलाई साथ दिए। भारतको हेपाहा प्रवृत्तिको विरोधमा ठूलठूला प्रदर्शनी गरी नाकाबन्दीको प्रतिकार गरे। अन्ततः नेपाली जनताको साहसको सामु भारतले झुक्नुपर्‍यो।  

प्रकृति