October 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

तेह्र दिन जब राजस्थानका किसानहरू जागे

अन्ततः राजस्थानका किसानहरूले एउटा ऐतिहासिक सफलता हासिल गरेरै छोडे। राजस्थानका लाखौं किसानहरूको सहभागितामा १३ दिनसम्म चलेको पेचिलो किसान सङ्घर्ष भारतीय जनता पार्टी नेतृत्वको प्रादेशिक सरकारलाई घुँडा टेकाएरैमात्र विश्राम लियो। गएको भाद्र १६ (सेप्टेम्बर १) देखि सुरु भएको किसान सङ्घर्षका किसानहरूले राजस्थानका विभिन्न जिल्ला मुख्यालयमा घेराउमा मात्र गरेनन् बरु उनीहरूले गरेको सडक अवरुद्ध कार्यक्रमले त्यहाँका झण्डै बीस जिल्ला ठप्प बनाएको थियो। तीन दिनसम्म चलेको सडक अवरोध कार्यक्रममा बिरामी बोक्ने गाडी र अरु अत्यावश्यक सेवाका सवारीबाहेक सबै बन्द गराइएको थियो। किसानहरूको आन्दोलनलाई समाजका सबै तप्काबाट अभूतपूर्व समर्थन प्राप्त भएको थियो। फलतः किसान आन्दोलन वास्तवमै जनताको साँचो सङ्घर्ष बनेको थियो।  

जनताका समस्याप्रति असंवेदनशील बसुन्धरा राजे स्केण्डिया नेतृत्वको भाजपा सरकार १३ दिनको आन्दोलन र पटक–पटकको वार्तापश्चात किसानहरूका माग पूरा गर्न बाध्य भयो। सेप्टेम्बर १२ दिउँसो १ः०० बजेबाट सुरु भएको वार्ता चार चरणमा सञ्चालन भएको थियो र सेप्टेम्बर १४ दिउँसो १ः०० बजे भएको वार्तासँगै आन्दोलन टुङि्गएको थियो।  

भाजपा सरकार किसानहरूले ५० हजारसम्म लिएको ऋण मिनाहा गर्न बाध्य भएको छ। त्यसले राजस्थानको आठ लाख किसानहरूलाई फाइदा पुर्‍याएको छ। साथै प्रादेशिक सरकारले न्युनतम सहायता मूल्य (एमएसपी) बारे स्वामीनाथन आयोगका सिफारिसहरू निश्चित समयसीमाभित्र कार्याविधिसहित कार्यान्वयन गर्न केन्द्रीय सरकारलाई पत्राचार गर्ने, बदाम, मुंगको दाल र केराउको दाल सबै जिल्ला सदरमुकाममा सात दिनभित्र न्युनतम सहायता मूल्य (एमएसपी) मा खरिद गर्ने बन्दोबस्त गर्ने, इनारबाट पानी तानेर सिंचाई गर्न विद्युत्को मूल्यवृद्धि फिर्ता गर्ने, ऋण चुक्ता गर्न नसकेका सूचिकृत जाति (एससी), सुचिकृत आदिबासी (एसटी) र अरु पछाडि परेका जाति (ओबीसी) जनताका ऋण तत्काल मिनाहा गर्ने, वस्तुभाउ बेच्न र छाडा तथा जङ्गली वन्यजन्तुबाट अन्नबाली जोगाउन लगाइएको रोक फुकुवा गर्ने, मासिक निवृत्तिभरण भारु २ हजारसम्म वृद्धि गर्नेमा सैद्धान्तिक सहमति, नहर सिंचाई हुन नसक्दा हुने क्षतिको क्षतिपूर्ति र किसान तथा व्यापारीलाई प्रहरीबाट हुने दुर्व्यवहार बन्द गर्ने लगायतका विषयमा किसान र प्रादेशिक सरकारबीच सहमति भएको छ। (न्युनतम सहायता मुल्य–एमएसपी भारत सरकारले किसानहरूलाई दिंदै आएको सहुलियत हो। कुनै पनि कृषिजन्य उत्पादनमा कुनै कारणवश मूल्य घटे सरकारले किसानहरूसँग पहिलेकै मुल्यमा कृषि उत्पादन खरिद गर्ने बन्दोबस्तलाई नै सङ्क्षेपमा एमएसटी भनिएको हो।) 

यी विषय र तिनलाई कार्यान्वयन गर्र्ने विषयमा भएको वार्ता सफल भएपश्चात अखिल भारत किसान सभाका सभापति अमरा रामले धर्ना कार्यक्रम फिर्ता भएको घोषणा गर्नुका साथै तीन दिनदेखि बन्द सडक सबै खोल्ने घोषणा गरे। राजस्थानभरि किसानहरूले नाराबाजी गरेर, गीत गाएर र नाचेर आजको सङ्घर्षको विजय मनाएका थिए।  

१३ दिनसम्म चलेको किसान आन्दोलनअन्तर्गत एउटा जिल्लाको सङ्घर्षको सङ्क्षिप्त रुपरेखा प्रस्तुत छः 

१६ जूनको दिन सिकारको कृषि उपज मन्दीमा अखिल भारत किसानसभाले एउटा बैठकको आह्वान गर्‍यो। त्यो बैठकमा किसानहरूबीच राजस्थानका किसानका समस्याबारे छलफल भयो। उनीहरूले आगामी दिनका आफ्ना कार्यक्रम र योजनाबारे छलफल गरे। बैठकपश्चात एक महिनापश्चात जुलाई १७ को दिन किसान कफर््युको लागि आह्वान गरियो। त्यो कार्यक्रम किसानहरूले जुलाई १७ का दिन बिहान ८ बजेदेखि मध्यान्हसम्म सफलतापूर्वक सम्पन्न गरे।  

सिकार जिल्ला र अरु जिल्लाहरूमा पनि किसान सभाले अभियान सञ्चालन गरेको थियो। अखिल भारत किसान सभाका सभापति एवं भाकपा (मार्क्सवादी) का पूर्व सांसद अमरा राम र अखिल भारत किसान सभाका अर्का लोकप्रिय नेता पेमा रामले सिकार जिल्ला पूरै भ्याएका थिए। सिकार जिल्लामा मात्र एक हजारभन्दा बढी गाउँ र झण्डै ३४३ वटा पञ्चायतहरू छन्।  कर्फ्यु सफल बनाउन 'किसान चौकी' नाम दिइएका चालिस वटा किसानहरू भेला हुने स्थान बनाएका थिए। कफर््युको क्रममा किसानहरूसँगको सल्लाहमा अखिल भारत किसान सभाका नेताहरूले सरकारलाई आफ्ना माग पूरा गर्न दश दिनको समय दिए। कदाचित सरकार आफ्ना मागहरूका सम्बन्धमा कुार गर्न तयार नभए आन्दोलन अझ पेचिलो बनाउने र अर्को चरणको आन्दोलन जुलाई २७ मा घोषणा गर्ने निर्णय भयो।  

थप कार्यक्रमबारे छलफल गर्न किसान सभाको राज्य समिति बैठक कृषि उपज मन्दीमा बस्यो। सो बैठकबाट अगस्त ९ को दिन राजस्थानभरिका किसानहरूले स्थानीय प्रशासन कार्यालय (तेहसिल) अघि सामुहिक गिरफ्तारी दिने कार्यक्रम निर्णय गर्‍यो। त्यो दिनको कार्यक्रमपश्चात लगातार १३ दिनसम्म किसानहरूको आन्दोलन अघि बढ्यो।  

अगस्त ९ को दिन किसानहरूले स्वेच्छिक रुपमा सामुहिक गिरफ्तारी दिए। सिकार जिल्लामा मात्र एक हजारभन्दा बढी किसानहरूले सामुहिक गिरफ्तारी दिए। भावी कार्यक्रम बनाउन किसान नेताहरूले लगातार किसानहरूसँग विमर्श जारी राखे।  

अगस्त १८ का दिन किसान सभाको राज्य समिति बैठक सिकारमा बस्यो र आन्दोलन अझ व्यापक बनाउँदै लाने निर्णय गर्‍यो। उनीहरूले धर्ना बस्न आह्वान गरे। उनीहरूले सेप्टेम्बर १ का दिन राजस्थानका सबै किसानहरूलाई जिल्ला मुख्यालयहरूमा धर्ना बस्न आह्वान गरे।  

राजस्थानमा अर्को चरणको आन्दोलनको सुरुवात भयो। आन्दोलनको आयोजना किसान सभाका गाउँ समितिहरूले गरेका थिए। किसान सभाका सदस्यहरू सबै गाउँ र सबैका घर–घरमा पुगे। जनताबाट उनीहरूले गहुँ र पैसा सङ्कलन गरे। सबै गाउँबाट उनीहरूले आत्मिय सहयोग प्राप्त गरे। अरु पार्टीमा आबद्ध गाउँका स्थानीय नेता र सङ्गठनहरूसमेत आन्दोलनमा सकारात्मक रहे। 'हरेक घरबाट हामीलाई एक एक मुठि्ठ गहुँ प्राप्त भयो।' 

सेप्टेम्बर १ को दिन आ–आफ्ना ट्र्याक्टरहरू चढेर किसानहरू सिकारको कृषि उपन मन्दीमा ओइरिन थाले। उनीहरूले आफूलाई आवश्यक पर्ने खाजा र अरु अत्यावश्यक बस्तुसँगै लगेका थिए। उनीहरूले मन्दीको टिनले छाएका टहरामा बस्ने बन्दोबस्त आफैले मिलाएका थिए। झण्डै १५ हजार किसानहरू शान्तिपूर्वक प्रशासन कार्यालयतिर जुलुस प्रदर्शन गरे अनि मुख्यमन्त्री बसुन्धरा राजेलाई सम्बोधन गरिएको आफ्नो मागपत्र जिल्ला प्रशासकको हातमा ठम्याए। त्यहाँबाट उनीहरू कृषि मन्दीमा फर्के र त्यही बस्न सुरु गरे।  

अमरा रामले सबै सङ्गठन र पार्टीहरूलाई किसानहरूका पक्षमा उभिन खुला आह्वान गरे। यो कुनै पार्टी विशेषको लडाई होइन।, उनको भनाई थियो।  

सेप्टेम्बर २ को दिन किसानहरूले बिहान ९ बजे प्रशासकको निवासमा शान्तिपूवर्क जुलुस गर्ने योजना बनाए र त्यहीअनुसार काम पनि भयो। उनीहरूले 'सुतिरहेको प्रशासनलाई निद्राबाट व्युँझाउन' शान्तिपूर्वक प्रदर्शन गरे। अरु धेरै बाटा हुँदा हुँदै पनि जुलुसबाटै बिरामी बोक्ने गाडी र अरु सवारी छिराएर प्रहरीले किसानहरूको कार्यक्रम बिथोल्न प्रयास पनि गर्‍यो। किसानहरूको प्रदर्शन शान्तिपूर्ण भएकाले आफ्ना नेता अमरा रामको एउटा आग्रहसँगै हजारौं किसानहरूले एम्बुलेन्स र अरु सवारी साधनलाई जान बाटो छोडिदिए। किसानहरू प्रशासनलाई जगाउन खोजिरहेका थिए, जनतालाई दुःख दिन होइन। अर्को दिन शहरका स्थानीय जनता र सञ्चारमाध्यमहरूले आन्दोलनको खुलेर प्रशंसा गरे।  

सेप्टेम्बर ३ का दिन किसानहरूले कवि सम्मलेन गरे। साथै अर्को दिन उनीहरूले बसुन्धरा राजेको शवयात्रा निकाल्ने पनि निर्णय गरे। त्यो रात किसानहरूले झण्डै दुई घण्टाभित्रै गाउँका जनतालाई परिचालनको लागि आह्वान गरे।  

सेप्टेम्बर ४ का दिन परम्परागत रातो साडी लगाएका दश हजारभन्दा बढी महिलासहित लाखौं किसानहरूले बसुन्धरा राजे नेतृत्वको भारतीय जनता पार्टीको सरकारको शवयात्रा निकाले। त्यो जुलुुस यति विशाल थियो, धेरै मानिस र सञ्चारमाध्यमले आजसम्म त्यस्तो ठूलो आकार तर शान्तिपूर्ण जुलुस आफ्नो जीवनकालमा कहिल्यै नदेखेको टिप्पणी गरे।  

व्यापारीहरू र अरु समाजका तप्काले आन्दोलनबाट प्रभावित बनेर किसानहरूप्रति ऐक्यबद्धता व्यक्त गरे। अब यो आन्दोलन किसान सङ्घर्षमा मात्र सीमित रहेन। अब यो जनताको आन्दोलन बन्यो। अरु सङ्घ–सङ्गठन, र जनसङ्गठनहरूले पनि आन्दोलनप्रति आर्थिक सहायताको हात फैलाउन थाले। ईट्टा बनाउने मजदुरहरूको सङ्गठनले ५ सयभन्दा बढी ट्र्याक्टर र ट्रलीहरू सहित सहायतामा उत्रे। किसानहरूलाई कृषि उपज मन्दीमा बस्न सहयोग पुर्‍याउन उद्देश्यले व्यापारीहरूले खानाको बन्दोबस्त गर्न थाले। (त्यतिबेला आजसम्म खानाको बन्दोबस्त विभिन्न व्यक्तिहरूबाट भइरहेको छ भने पिउने पानीका आपूर्तिकर्ताहरूले पानीको बन्दोबस्त गरिरहेका छन्।) उनीहरूले किसानहरूको सहयोगमा अर्को दिन आफ्ना सबै व्यापार व्यवसाय बन्द गर्ने समेत घोषणा गरे। दूध आपूर्तिकर्ताहरू मन्दीमा आए र किसानहरूले भनेकै दिनदेखि आफूले सबै दूध आपूर्ति बन्द गर्ने घोषणा गरे।  

सेप्टेम्बर ६ को बेलुकी झण्डै ८ः३० बजे किसानहरूले शान्तिपूर्वक विशाल मसाल जुलुसको आयोजना गरे। अर्को दिन सेप्टेम्बर ७ का दिन घोषणा गरिएको बन्द कार्यक्रम भव्य रुपमा सफल भयो। बन्दको कार्यक्रमअनुसार सिकार बजारमात्र बन्द गर्ने कार्यक्रम थियो तर व्यापारीहरूले देखाएको ऐक्बद्धताका कारण बजारमा मात्र बन्द सीमित रहेन। 'गाउँ र बजार सबै बन्द थिए त्यो दिन।' यो सबै किसान सभाको कुनै आह्वान वा तयारी बिना नै स्वतःस्फुर्त र बिनायोजना भएको थियो।  

सहरी बस सेवा सङ्घले पनि किसान आन्दोलनको समर्थनमा सयौं गाडीहरू शान्तिपूर्वक सडकमा एक साथ गुडाएर प्रदर्शन गरे। एम्बुलेन्स सङ्गठनले पनि आफ्नो ऐक्यबद्धता व्यक्त गर्‍यो भने रिक्साचालक सङ्घले पनि त्यही दिन आन्दोलनप्रति समर्थन जनायो। एम्बुलेन्स सङ्घ र टेम्पो सङ्घले पनि दूध आपूर्तिकर्ता सङ्घले जस्तै कुनै पनि बेला किसान आन्दोलनको समर्थनमा आफ्नो सेवा बन्द गर्न तयार रहेको बताएर आन्दोलनप्रति आफ्नो साथ व्यक्त गर्‍यो।  

सेप्टेम्बर ८ को दिन अमरा रामले एउटा आमसभामा सरकारलाई किसानका माग पूरा गर्न थप दुई दिन दिने घोषणा गरे। कदाचित सरकार फेरि पनि किसानहरूसँग संवाद गर्न तयार नभए ११ सेप्टेम्बरदेखि सबै कुरा बन्द गर्ने चेतावनी दिए। पुरुष किसानहरू प्रशासकको कार्यालयअघि प्रदर्शन गर्दै महिला किसानहरू पनि गाउँमा आउने जाने सबै बाटो बन्द गरेर प्रदर्शन गरिरहेका थिए।  

सेप्टेम्बर ९ का दिन सिकार बाजागाजा (डीजे) सङ्गठनले सिकारको प्रमुख बाटोमा एक सयभन्दा बढी डीजे ट्रकहरू गुडाउँदै किसानहरू धर्ना बसिरहेको कृषि मन्दीमा पुगे। उनीहरू आफ्ना गीतमार्फत किसान आन्दोलनको समर्थन गर्दा सिकार सहरको वातावरण नै बेग्लै बन्यो। डीजेहरूले बजाएका गीत सुन्न सहरका महिलासहित बासिन्दाहरू घरका बार्दलीमा बसेर खुट्टा बजारिरहेका थिए भने हात हातमा मोबाइलमा त्यो दृश्य कैद गरिरहेका थिए।  

सेप्टेम्बर १० मा पचासभन्दा बढी सङ्गठनहरूले किसानहरूको समर्थनमा सडकमा उत्रे। आन्दोलनको उत्कर्षसँगै दसौं दिन अरु पार्टीसम्बद्ध केही स्थानीय राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता व्यक्त गर्न आइपुगे। उनीहरूले किसानहरूको आमसभामा पनि भाषण पनि गरे।  

अन्ततः अर्को दिन प्रशासन कार्यालयले किसानहरूलाई वार्तामा आउन आमन्त्रण गरे।  

सेप्टेम्बर ११ का दिन आफ्ना नेताको आह्वानअनुसार महिला किसानहरूले जिल्लाभरिका सडकहरू बन्द गरे। बन्द सफल बनाउन महिलाहरूले हातमा कृषि औजार बोकेर आएका थिए। आवतजावतको लागि झण्डै तीन सय वटा केन्द्रहरू बनाउनुका साथै मुख्य मुख्य चोकहरू तोकिएका थिए। तर अघिल्लो पटक जस्तै जनता स्वंय आफै सडकमा उत्रे र हजारौं स्थानहरूमा अवरोधहरू बनाए। महिला र पुरुष सबैले शान्तिपूर्वक नै आफ्ना गाउँ र सहरहरू सबै बन्द गरे।  

सहरमा हजारौं किसानहरू प्रश्ाासन कार्यालयमा जान मन्दीमा हिंडे। प्रशासन कार्यालयमा किसानहरूलाई वार्ताको लागि आमन्त्रण गरिएको थियो। मन्दी नजिकै प्रहरीले बाटोमा अवरोध (व्यारिकेट) बनाएका थिए।  

जताततै प्रहरी नै प्रहरी थिए। सुरक्षा कानुनको धारा १४४ लगाइएको थियो। इन्टरनेट सुविधा अवरुद्ध बनाइएको थियो। प्रशासनले प्रहरी बला र पानीका फोहोरा हान्ने बन्दोबस्तसहित अब तयारी भएको ठान्यो।  

तर सिकारका किसानहरूले कुनै नराम्रो घटना घट्न नदिने बुद्धिमता देखायो। उनीहरूले आफ्नो अस्थायी बासलाई मन्दी भित्र नभई बाहिर सार्ने निर्णय गरे। किसानहरूको सङ्ख्या ब्यारिकेट तोड्न र दोहोरो झडपमा जान सजिलो थियो। तर आन्दोलनको सुरुदेखिको लक्ष्य त्यसो गर्नु थिएन। धैर्यता, संयम र अनुशासनकै कारण आन्दोलनप्रति जनताको समर्थन बढ्दै गएको थियो।  

प्रश्ाासनले जबसम्म आफूसँग संवाद गर्दैन तबसम्म पुरुष किसानहरूले शहरमा धर्ना कार्यक्रम जारी राख्ने र महिलाहरूले गाउँका सडकमा अवरोध जारी राख्ने सङ्घर्षलाई जारी राख्ने निर्णय गरियो। किसानहरूलाई सेप्टेम्बर १२ को दिन साँझ ५ बजे वार्तामा आमन्त्रण गरियो। किसानहरू दृढनिश्चयी र उर्जाशील थिए। भन्दै थिए–'सरकारले ऋण मिनाहा नगरुञ्जेलसम्म हामी झुक्नेछैनौं।' 

मन्दीको हावा प्रतिरोध, दृढता र जनताबीच खुसियालीको थियो। किसानहरू सडकमा पनि छहारी बनाएर बस्न थालिसकेका थिए। विरोधका गीत, किसान सभा र किसान आन्दोलनबारे नाचगान धर्नाको ज्यादै महत्त्वपूर्ण हिस्सा बनिरहेको थियो।  

किसान आन्दोलनको सफलताप्रति खुशी व्यक्त गर्दै अखिल भारत किसान सभाले आन्दोलनमा होमिएका किसानहरूलाई बधाई ज्ञापन गर्दै प्रेस वक्तव्य जारी गरेको छ।  

पिपुल्स डिमोक्रेसी (१७ सेप्टेम्बर) 

प्रस्तुतिः नीरज