October 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

काङ्ग्रेस अघि अघि एमाले पछि पछि

अनियमितता र भ्रष्टाचारको प्रकरणमा मुछिएका नेपाल आयल निगमका महाप्रबन्धक गोपाल खड्कालाई बर्खास्त गर्न अन्ततः सरकार बाध्य भयो। गोपाल खड्का बर्खास्त हुँदा भ्रष्टाचारविरोधी नेपाली जनताले थोरै भए पनि सन्तोषको श्वास फेरे। तर, लगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओली खड्काको बचाउमा उत्रिएपछि भने धेरैले आश्चर्यले औंला टोकेका छन्। खड्काको बर्खास्तीपछि पहिलो प्रतिक्रिया दिंदै ओलीले भ्रष्टाचार गर्ने अरु नै भए पनि सरकारले खड्कालाई कारबाही गरेको आरोप लगाएका थिए। तर एमाले र ओलीलाई चिनेका धेरैले यसलाई एमालेभित्रको लहरो तान्दा पहरो गर्जिने भयका रुपमा बुझेका छन्।  

केपी ओली नेतृत्वको सरकार रहँदा पनि खड्का आयल निगमको महाप्रबन्धक नै थिए। आयल निगमको निम्ति जग्गा खरिद सके त्यही सरकारको पालामा निर्णय भएको र त्यसको लाभ तत्कालीन आपूर्ति मन्त्री र प्रधानमन्त्रीस्सम्म पनि पुगेको हुनुपर्छ। ओलीले भनेझैं खड्का भरियामात्रै भएको र भ्रष्टाचार गर्ने असली मालिक अरु नै भएको हुन सक्छन्। खड्का र उनको मण्डलीमाथि गहन छानबिन गर्ने हो भने त्यो असली मालिक पनि उदाङ्गिन सक्छ। दोषी जति जना नै भए पनि गोपाल खड्कालाई दोषमुक्त देख्न नेपाली जनता तयार छैनन्। एमालेले भ्रष्टाचार आरोपित, गुण्डागर्दी आरोपितहरूलाई संरक्षण गर्न खोजेको वा संरक्षण दिएको यो पहिलो घटना होइन। लामो समय सरकार चलाएको नेपाली काङ्ग्रेसले जसरी भ्रष्टाचारी नेता, मन्त्री र कर्मचारीहरूको संरक्षण गरेको थियो, एमाले र माओवादी (केन्द्री पनि त्यही लाइनमा छन्। भ्रष्टाचार, अनियमितता, कमिसनखोरी, सरुवा–बढुवामा दलीय भागवण्डा, संस्थान र प्रतिष्ठानहरुको दलीयकरणमा काङ्ग्रेस अघि अघि र एमाले पछि पछि छ। त्यसपछि माओावादी (केन्द्र) र अन्य पार्टी पनि छन्। नेपाली काङ्ग्रेस र एमालेमा नाम र अनुहारबाहेक सरकार सञ्चालनको मामिलामा कुनै नीतिगत भिन्नता देखिंदैन। राजनीतिक आचरण र सरकारी नीतिको आधारमा एमाले भाइ काङ्ग्रेस नै हो। काङ्ग्रेसले भ्रष्टाचारी र नैतिक पतनमा सजाय पाइसकेका नेताहरू पनः सांसद र मन्त्री हुन पाउनुपर्ने  अडान राख्नु जसरी कुनै आश्चर्यको विषय थिएन, एमालेले भ्रष्टाचारी र गुण्डाहरूको संरक्षण गर्नु नौलो विषय होइन। हुटिट्याउँको खुट्टैदेखि चाल पाइन्छ। 

–प्रकाश