October 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

न्यायको पक्ष लिऔं अन्यायको विरोध गरौं

सानो विरुवा, मानिस वा समाज विस्तारै ठूलो हुँदै जान्छ, कमजोर बलियो हुँदै जान्छ भने ठूल्ठूला रुख, व्यक्ति वा राज्य भित्रभित्रै खोक्रो हुँदै, रोग लाग्दै मृत्युतिर लाग्छ र राज्य पनि बेलायतजस्तै एउटा कुनामा पुग्छ, सोभियत संघजस्तो १५–१६ टुक्रामा विभाजित हुन्छ। त्यस्तै आज संरा अमेरिका पनि पहिलेको तुलनामा आर्थिक र राजनैतिक रुपले कमजोर हुँदै गएको देखा पर्छ। संसारका सयभन्दा बढी देशमा उसले आफ्नो सेना राखेको छ र सबैलाई तर्साएर राज्य गर्दैछ। दोस्रो विश्वयुद्धमा संरा अमेरिकाले आणविक अस्त्रले हमला गरी लाखौं मानिसको हत्या गर्‍यो, प्रधानमन्त्री तोजोको हत्या गर्‍यो र जापानलाई एक पराजित देशको रुपमा व्यवहार गरी जापानी सम्राटलाई 'अबदेखि यो संविधानअनुसार शासन गर्नू' भनी आफ्नो कमाण्डर–इन–चिफमार्फत अमेरिकाले बनाएको संविधान दियो। जापान र जापानी जनता 'राष्ट्रवादी' मानिन्छन्, तर एक पराजित देश हुनुको कारण विदेशले दिएको संविधानमा चित्त बुझाउन बाध्य छ, हातहतियारको विकास अमेरिकाले भनेजस्तो मात्र गर्नुपर्छ, जापानमा आज पनि अमेरिकी सेना गस्ती गर्छ, राजनैतिक रुपले जापान अमेरिकाको एक उपग्रह देशको रुपमा बस्न बाध्य छ। जापानी जनतामा नजानिंदो पराधीनताको पीडा भित्रभित्रै सल्किरहनु स्वाभाविक छ। 

त्यस्तै दक्षिण कोरियामा पनि अत्याधुनिक शस्त्रसहित अमेरिकी सेना तैनाथ छ, त्यो अमेरिकी सेना दक्षिण कोरियाको सुरक्षाको निम्ति होइन बरु आफ्नो हैकमबाट फुत्केर स्वतन्त्र होला वा कोरिया प्रायःद्वीपको पुनःएकीकरण नहोस् भनी खबरदारी गर्न राखिएको हो। झण्डै २०० वर्षदेखि पूर्वी एसियामा अमेरिकी साम्राज्यवादले कुनै न कुनै रुपले आफ्नो हैकम चलाउँदै आएको छ। अब ती देशहरूका जनता अमेरिकी नियन्त्रणबाट मुक्त हुन चाहन्छन्। 

प्रजग कोरिया थोरै क्षेत्रफल, सानो जनसङ्ख्या भएको र १९५४ को युद्धमा आर्थिक रुपले ध्वस्त भएको कमजोर देश भनी संरा अमेरिकाले थिचोमिचो गर्दै आएको थियोे। कोरियाली मजदुर पार्टी र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आफ्नो देशको स्वतन्त्रता, स्वाधीनता तथा सार्वभौमिकताको रक्षा गर्न सेनालाई प्राथमिकता दिने 'सोनगुन' नीतिलाई अङ्गीकार गरी सेना–जनता एक भई खुँखार शत्रुसँग लड्न अणुबम, हाइड्रोजन बम र अनेक दूरीसम्म मार हान्ने क्षेप्यास्त्रहरू विकसित गरेको छ। 

एक पटक बेलायतले मिश्रमाथि हमला गर्दा सोभियत सङ्घले २४ घण्टाभित्र आक्रमण बन्द नगरे ब्रिटिश च्यानलमा हाइड्रोजन बम खसालेर लण्डनलाई डुबाई दिने चेतावनी दिंदा बेलायत पछि हटेको थियो। संरा अमेरिका १०० वर्षदेखि अरु देश र क्षेत्रमा लडाइँ गर्दै र क्षति गर्दै आफू जोगिँदै आएको देश हो। भियतनाम, अफ्गानिस्तानदेखि सिरियासम्मको लडाइँमा नेटोका अरु देशहरूलाई समेत फसाउँदै आएको छ। प्रजग कोरियाले संरा अमेरिकाको कुनै पनि सहरलाई तारो बनाउन सक्ने क्षमताबाट तर्सेर अब अमेरिका संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्को शरणमा गएको छ। (अमेरिकालाई प्योङयाङको चेतावनी– नागरिक, २ असोज २०७४) त्यही मितिको 'कान्तिपुर' ले लेख्यो –'हाइड्रोजन बम प्रयोग हुन्छ।' जब जब संरा अमेरिका र संयुक्त राष्ट्र संघले उत्तर कोरियालाई धम्की दिन्छन्, तब तब उसले अवज्ञा गरी पुनः सोच्न बाध्य पार्छ। यसकारण चीनले अमेरिकालाई उत्तर कोरियामाथि धम्की नदिन चेतावनी दिएको हो। 

प्रजग कोरिया अब अमेरिकाको धम्कीबाट झुक्दैन। १९५०–५३ को कोरिया युद्धमा प्रजग कोरियाले अमेरिकालाई हराएको थियो। बुढो हुँदै गएको अमेरिकासँग जवान हुँदै आएको उत्तर कोरिया दब्ने कुरै भएन। अमेरिकाको अगाडि शान्तिपूर्ण वार्ता बाहेक अरु कुनै उपाय छैन। यस्तो परिस्थितिमा नेपालको परराष्ट्र मन्त्रालयले एक पीडित एसियाली देश प्रजग कोरियाको विरोधमा दिएको वक्तव्य न्यायोचित छैन, बरु प्रजग कोरियासँग वार्ता गर्न र पूर्वी एसियाबाट अमेरिकी सेना तत्काल फिर्ता गर्न माग गर्नुपर्थ्याे। यस घडीमा सबै नेपाली जनता न्यायको पक्षमा उभिनु आवश्यक छ। 

(श्रमिक साप्ताहिकको सम्पादकीय विचार)