October 24, 2017

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

कर्मचारीको गल्तीको दोष जनप्रतिनिधिलाई भारी

डेढ दसकसम्म जनप्रतिनिधि नहुँदा जनताले धेरै कुरामा धेरै दुःख पाएका थिए। बोकाले दाइँ हुने भए गोरु किन चाहिन्थ्यो भनेझैं कर्मचारीले नै स्थानीय सरकारको काम फत्ते हुने भए जनप्रतिनिधि नै किन चाहिन्थ्यो? 

बितेको समयमा भक्तपुरमा नपाबाट नक्सासम्बन्धी काममा नगरवासीहरूले पाउनु दुःख पाएका थिए। जनप्रतिनिधिहरू आएपछि नक्साको काम फटाफट हुन थालेको जनप्रतिनिधिहरूका अभिव्यक्ति, पत्रपत्रिकाका समाचार र टोल छिमेकका चर्चाले बुझिन्छ। तर सानातिना समस्या र झमेला भने खासै घटेको देखिंदैन। यसबारे भक्तपुर नपासमक्ष केही प्रश्न र जिज्ञासा राख्न चाहन्छु, आशा छ समाधान गर्नेतर्फ विवेकशील ढङ्गमा व्यवहारिक रूपमा कदम चालिने छ– 

१) एक छिमेकको घर निर्माण गर्दा नक्सा लेख्ने इन्जिनियर, वडाका प्राविधिक र वडा निरीक्षकले घर बनाउने ठाउँ र निर्मित घरको नाप जाँच गर्दा फरक–फरक क्षेत्रफल निस्कियो। सार्वजनिक बाटो छोइएको छैन, घरका कुनै सँधियारको जग्गा मिचिएको छैन, कसैले उजुरी पनि गरेका छैनन् तर १–२ इञ्च 'अनियमित' गरिएको ठहरियो र जरिवाना गरियो। कुनै व्यक्तिले रगतमा चिनीको मात्रा परीक्षण विभिन्न प्रयोगशालामा गराउँदा आनका तान भएझैं भक्तपुर नपाका प्राविधिक र निरीक्षकले नाप चाँच गर्दा फरक किन भयो र किन 

हुन्छ? 

२) कुनै संरचना निर्माण गरेपछि भक्तपुर नपाबाट पास पुर्जी लिनुपर्छ। तर नपाका कर्मचारीहरूकै कारण मलाई लाग्छ कसैको संरचना पनि शतप्रतिशत नक्साअनुरूप अर्थात् नियमित बनेको छैन। कुनै बेला सुनेको थिएँ भक्तपुरमा यथार्थमा पूर्ण नियमित निर्माण सम्पन्न घर वा संरचना औंलामा गन्न पुग्दैन। चिया–चमेना गर्न दिनेहरूले बाहेक अनियमित गरेकोमा जरिवाना नतिर्ने विरलै होलान्। अर्काको र सार्वजनिक जग्गा मिच्ने, नगरको शोभा बिगार्ने, सम्पदा छेक्ने गरी निर्माण गर्नेले भन्दा नियम र मापदण्डभित्र बस्न खोज्नेहरू बढी प्रताडित भएका छन्। 

बलियो र आकर्षक हुन्छ भनी डकर्मीहरूले सँधियार र सार्वजनिक जग्गामा कुनै हानि–नोक्सानी नपुर्‍याई घर निर्माणको क्रममा नक्साभन्दा केही हेरफेर गर्ने गर्छन्। कतिपय अवस्थामा इन्जिनियरले लेखेको नक्सामा डकर्मीहरूले खोट देखाएर परिवर्तन गरिदिन्छन्। तर पास भएको नक्साभन्दा रौं बराबर पनि फरक हुन नहुने कट्टरताले धेरथोर जरिवाना गराउने गर्छन्। यसमा 'अनियमित' को कुरा नियमसम्मत भएकोमा कुनै विवाद छैन तर व्यवहारिक र विवेकशील भएन 

कि? 

जो कोहीलाई रीस त्यसबेला उठ्छ जब इन्जिनियरले नक्सा लेख्दैमा गल्ती गर्छ, त्यही गल्ती भएको नक्सा नगरपालिकाले पास पनि गर्छ तर निर्माणको क्रममा डकर्मी सच्याउँछ परन्तु नक्साभन्दा फरक भएको वा अनियमित भनी जरिवाना गर्छ र पासपुर्जी दिंदैन। पासपुर्जी नदिएपछि नक्सा दर्ता गर्दा राखेको धरौटी फिर्ता दिनु परेन, नपाको आम्दानीमा जनिन्छ। के यस्तो आम्दानी सही हो? सही हो भने टेलिकममा तोकिएको मितिभित्र महसुल तिर्न जाँदा जहिले पनि बिल आएको छैन भनी फर्काउँछ। तर म्याद नाघेपछि जरिवाना लाग्छ र त्यसबेला जहिले पनि बिल तयार हुन्छ। यसरी टेलिकमले गरेको अकुत नाफा पनि सही र जायज ठहरिन पुग्छ, होइन र? 

निश्चय पनि घर नक्साअनुसार बनाउनुपर्छ तर सामान्य, स्वाभाविक र क्षम्य अदलबदललाई नगरपालिकाले 'आफ्नो गोरुको बाह्रै टका' गर्नुहुँदैन जस्तो लाग्छ। अन्यथा नपाका कर्मचारीहरूले गर्ने गल्तीको दोषको भारी जनप्रतिनिधिहरूले बोक्दै जानुपर्ने हुन्छ र अन्ततः नपाकै बद्नाम हुन्छ।  

– जे.एल.'विनायक'