January 23, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

राज्यलाई कामदार जनताको चिन्ता छैन

देशले आत्मनिर्भर अर्थतन्त्र विकास गर्न नसक्दा हामी धेरै वस्तु विदेशबाट आयात गर्न बाध्य छौं। हामीले बाध्यताले र शोखले विदेशी सामान किन्दा हाम्रो मुद्रा विदेशिइरहेको छ र विदेशी मुद्राको तुलनामा नेपाली मुद्रास्फीति भइरहेको छ। मुद्रास्फीतिकै कारण नेपालमा महिनैपिच्छे र वर्षैपिच्छे वस्तुको मूल्य आकासिंदै गएको छ। 'हाम्रो पालामा एक पाथी अन्नको मोल एक मोहर थियो' भन्ने कुरा सुनाउनेहरु अझै हाम्रो छरछिमेकमा धेरै जना बाँकी छन् तर उनीहरु कुरा पत्याउन छाड्ने कथा बनिसकेका 

्रछन्। 

वस्तुको मूल्यलाई नेपाली जनताको आम्दानी अनुकूल बनाइ राख्ने प्रयत्न नेपाल सरकारले कहिल्यै गरेन। अर्थात् बजार मूल्य नियन्त्रणका सम्भाव्य कुनै उपाय अपनाएको छैन। बरु महँगी बढेअनुसार कर्मचारीको तलब र भत्ता केही प्रतिशत बढाएर थामथुम पार्ने काममात्र गरेको छ। राज्यकोषबाट तलब, भत्ता र पारिश्रमिक पाउनेहरुको सुविधा बढ्दा मुद्रास्फीति हुन्छ र बजारमा महँगी बढ्छ। महँगी बढेअनुसार निम्नआय भएका मजदुर साना किसान, तल्लो तहका कर्मचारीहरुको ज्याला र तलब बढाइँदैन। जसले गर्दा महँगीको मार त्यस्ता न्यून आम्दानी भएका सर्वसाधारण जनताको परिवारमाथि पर्छ। राज्यलाई कामदार जनताको कुनै चिन्ता नभएको पुष्टि हुन्छ। 

त्यसैले सरकार वा राज्यले उच्चदस्थ, मन्त्री, सचिव, कर्मचारी, सेना, प्रहरीको तलबमा वर्षैपिच्छे, बढाउने भन्दा महँगी नियन्त्रणमा आवश्यक उपाय गर्ने, देशको मुद्रा विदेशिन नदिन स्वदेशमै उद्योग र कलकारखाना खोज्ने र स्वदेशी वस्तुकै प्रयोगलाई प्रोत्साहन दिनुपर्छ। विप्रेषणको रकमले अर्थतन्त्र चलाउने र त्यसमाथिको करले सुविधा लिने सोच त्यागेर नेपाली कामदार जनताका निम्ति नेपालमै रोजगारी र रोजगारी अनुसारको पारिश्रमिकको सुनिश्चितता गर्नुपर्छ। 

–प्रकाश