January 23, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

नेपाल–भारत सीमामा तारको बार

नेपाल–भारत प्रबुद्ध समूहले सीमा नियमन गर्न परिचयपत्र लगाउन सहमत हुनु सकारात्मक हो। यसलाई निरन्तरता दिंदै खुला सीमामा तारको बार लगाइनुपर्छ, अन्यथा तस्कर र अपराधीको आफ्नो काम यथावत चल्नेछ। २०४४ सालमा म आफै सीमामा स्तम्भ लगाउन रक्षा मन्त्रालयको प्रतिनिधिको रुपमा सप्तरीको गोबरगाढा पञ्चायत (तत्कालीन) मा खटिएको थिएँ। 

त्यतिखेर ८० वटा सहायक स्तम्भ खडा गरिएको थियो। स्थानीय बासिन्दा पनि खुसी थिए। उनीहरूको गुनासो थियो 'हामीहरू अन्नबाली लगाउँछौं, तर पाकेपछि पारिका मानिस आएर काटेर लैजान्छन्।' खुला सीमा भएपछि दिनमा नभए रातमा जबरजस्ती लुट्ने काम भइरहन्छ। अपहरण, हत्या, हतियारसहित विभिन्न सामानको तस्करी अहिलेजस्तै चलिरहन्छ। 

यसबाट सीमित व्यक्तिलाई फाइदा भए पनि राजस्वको ठूलो हिस्सा सरकारको ढुकुटीबाट बाहिरिन्छ। हाल भारततर्फ सीमा सुरक्षा बल राखिए पनि उनीहरूले नेपालीसँग रकम असुल्ने, दुःख दिने र लुट्ने काम गरिरहन्छन्। उनीहरूले आफ्नो व्यक्तिगत र आफ्नो राष्ट्रको हितमात्र हेर्छन्। नेपालतर्फको सीमा सुरक्षा बल अर्थात् सशस्त्र प्रहरी पर्याप्त छैनन्। सीमामा प्रहरी दिनरात राख्न सम्भव हुँदैन। त्यसैले अनिवार्य तारबार लगाउनु आवश्यक छ। त्यसपछि आवश्यक दूरी मिलाएर 'अब्जरभेसन पोस्ट' हरू राखिएमा सीमामा नियन्त्रण हुने र यसबाट दुवै देश तथा जनतालाई पनि फाइदा पुग्नेछ। कमसेकम नेपालका प्रबुद्ध वर्गले यस विषयलाई लगातार उठाएर भए पनि भारतीय पक्षमाथि दबाब राखिनुपर्छ। त्यसपछि भारतीय पक्ष एक दिन अवश्य समझदारीमा आउनैपर्छ। 

–पूर्ण ओली, चावहिल, सरस्वतीनगर, काठमाडौं