January 23, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

जलवायु परिवर्तनलाई रोक्न सकिने उपाय

जुल्स कर्टेनहर्स्ट  

संयुक्त राज्य अमेरिकामा आएका ऐतिहासिक सामुिद्रक तुफानहरू र एशियामा सर्वत्र आएका बाढीहरूपश्चात् जलवायु परिवर्तनको बढ्दो चालले हामी सजिलै अत्यासमा पर्नसक्छौं। यी प्रलयकारी पूर्वसूचनापश्चात् पनि विश्वव्यापी तापमानलाई नियन्त्रणमा राख्न सकिने बृहत र तेज ऊर्जा रुपान्तरणको एउटा उपाय हाम्रो अगाडि छ। अझ राम्रो कुरा त के हो भने यो परिवर्तन कार्यान्वयन गर्न नयाँ आविष्कारहरूको प्रतिक्षा पनि गर्नुपर्दैन। विभिन्न व्यवसायद्वारा वितरीत र बजारद्वारा परिचालित नाफामूलक उपायहरूसहित यो रुपान्तरण अहिले नै हुनसक्छ।  

सन् २०१५ को पेरिस जलवायु सम्झौताले तोकेको लक्ष्यअनुसार विश्वको बढेको तापमानलाई औद्योगिक काल पूर्वको तापमानको २ डिग्री सेल्सियसभन्दा माथि जान नदिन खनिज तेलमाथिको निर्भरता घटाउनुपर्ने तथा खाद्यान्न बाली लगाउने, वन पैदावर उपभोग गर्ने र भूमीको प्रयोग गर्ने तरिकामा परिवर्तन ल्याउनुपर्ने हुन्छ। 'रकी माउन्टेन इन्ष्टिच्युट' को नयाँ अनुसन्धानले के देखाउँछ भने यी दुवै परिणाम हासिल गर्न सम्भव छ र यिनको एकमुष्ट असरले जलवायु परिवर्तनको प्रक्षेपणपथमा सकारात्मक रुपमा अवरोध पुर्‍याउन सक्छ।   

हाम्रो विश्लेषणका अनुसार ऊर्जासम्बन्धी भविष्यको माग र पूर्ति तथा वन र जमिनले गर्नसक्ने कार्वन सञ्चितिका आ–आफ्ना मार्गहरू छन् जसलाई अवलम्बन गर्न सक्दा तापमानको वृद्धिलाई नाटकीय रुपमा घटाउन सकिन्छ। अहिलेको उपभोग प्रवृत्तिभन्दा स्वच्छ ऊर्जाको बढ्दो प्रयोग र विस्तारसँगै हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सकिन्छ।  

यो परिदृश्य धेरैले सोचेजस्तो असम्भव पनि होइन। नविकरणीय ऊर्जा, विद्युतीय गतिशीलता र शक्ति तथा जमिनको बुद्धिमत्तापूर्ण उपयोगतर्फ विश्व कसैले सोचेभन्दा पनि द्रुुतगतिमा अघि लम्कंदै छ।  

अनि परिवर्तनको गतिले अपेक्षालाई उछिनेको यो पहिलो पटक पनि होइन। उदाहरणको लागि सन् १९८० मा 'एटीएण्डटी'ले आउँदा दुई दशकमा अमेरिकामा प्रयुक्त हुनसक्ने मोबाइल फोनको सङ्ख्या पुर्वानुमान गर्न 'म्याक्किन्से एन्ड कम्पनी'लाई जिम्मा दिएको थियो। ती परामर्शदाताले सन् २००० सम्म अमेरिकी मोबाइल बजारमा ९० हजार उपकरण खपत हुने अनुमान गरे। तर त्यो सालमात्रै १० करोडभन्दा ज्यादा मोबाइलको बिक्री भयो। आज यो ग्रहमा मान्छेभन्दा धेरै फोन छन्।  

सौर्य तथा वायु ऊर्जाका प्रक्षेपण पनि यस्तै दोषयुक्त छन्। दशकौंसम्म 'अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी' तथा 'अमेरिकी ऊर्जा सूचना एजेन्सी'का विशेषज्ञले यी श्रोतबाट हुनसक्ने आपूर्तिलाई कम आँकलन गरे। आफ्ना अनुमानलाई हरेक वर्ष थोरैमात्र बढाउँदै वास्तविकता बुझ्दै नबुझी उनीहरूले लगातार कम आँकलन गरे। तर जसरी यो क्षेत्रमा नव प्रवर्तन आयो, सौर्य तथा वायु ऊर्जा उत्पादन लागतमा पनि कमी आयो जसकारण ऊर्जा सस्तो भयो र उपयोगमा व्यापक वृद्धि भयो। 

आज जुन गतिले ऊर्जा सङ्क्रमणकालबाट गइरहेछ त्यसको न्यून आँकलन गरिनुको कारण पहिलेको पुरानो प्रविधिबाट नयाँमा परिवर्तन हुँदाको भन्दा फरक परिमाणले पनि हो। जब दाउरा छाडेर कोइला र त्यसपछि तेल बाल्नेतर्फ मानव उन्मुख भयो, हरेक पटक यी नयाँ स्रोतहरू अत्यधिक पूँजी लगानी भएको भिमकाय योजनाहरू जस्तै कोइलाखानी, समुद्रका तेल तथा ग्यास खानी अनि प्रशोधनालयहरूबाट आउने गर्थे। यी योजनाहरू सञ्चालनका लागि लाग्ने उच्च खर्चको भार उपभोक्तालाई बोकाइन्थ्यो।  

पहिलेको तुलनामा आज ऊर्जा बाजारमा उपभोक्ताको धेरै नियन्त्रण छ। उदाहरणका लागि छानामा सौर्यपाता ठड्याउन कति सजिलो छ, एकै दिनमा सकिन्छ। फोटोभोल्टिक सेल, वायु घट्ट, ब्याट्री एवम् अन्य उपकरणहरूजस्ता दशौं लाख स–साना यन्त्रहरूले आजको ऊर्जा सङ्क्रमणलाई परिचालित गरिरहेका छन्। यो पद्दतिमा हरेक नयाँ साधन सस्तो छ र छिट्टै आफ्नो मूल्य बराबरको प्रतिफल दिन सक्षम पनि। तसर्थ, नविन प्रयोग कम खर्चिलो हुन्छ र प्रविधिलाई दू्रतगतिमा सुधार्न सकिन्छ। यसको फलस्वरुप आज संसारभर छरिएका अन्तर्राष्ट्रिय प्रतिद्वन्द्वीहरू छिटो छिटो नवप्रवर्तन गर्दै तथा व्यवसायका नयाँ नयाँ नमुना विकसित गर्दै ठूलो परिमाण सस्तो लागतमा उत्पादन र वितरण गर्न सक्षम भएका छन।      

स्वच्छ ऊर्जा उत्पादनका प्राविधिक पक्ष भने खानी र प्रशोधनशालाहरू भन्दा मोबाइल फोन र ल्यापटपहरूसँग मिल्छ। पूर्ण परिपक्व नभएको अहिलेकै अवस्थामा ठूलो परिमाणमा यसलाई बृहत बजारमा बेच्न सकिने हुनाले स्वच्छ ऊर्जातर्फको यो सङ्क्रमण धेरै विज्ञहरूले अनुमान गरेभन्दा तेज गतिमा भइरहेको छ।  

'हरित' ऊर्जातर्फको यो द्रुत लम्काइमात्र पनि औद्योगिक कालपूर्वको भन्दा दुई डिग्री सेल्सियसभन्दा माथि पृथ्वीको तापमान जान नदिन सक्षम छैन। त्यो लक्ष्य हासिल गर्न विश्वले अझै धेरै हरितगृह ग्यास वायुमण्डलबाट हटाउनुपर्ने हुन्छ।  

सौभाग्यवश त्यो पनि सम्भव छ। कार्वन घटाउने उपायहरू कृषि र भूमि संरक्षणमा समाविष्ट गराएर वायुमण्डलबाट ताप उत्सर्जन हुनबाट रोक्ने ग्यासहरूलाई वन तथा जमिनमा बाँधेर राख्न सकिन्छ। यो प्रविधि पहिलेदेखि नै अस्तित्वमा रहे पनि यसको सफलताका लागि भने अन्य उपायका साथै शुन्य–जोताइ खेती प्रणाली, पर्माकल्चर सिद्धान्तको अवलम्बन, सीमसार क्षेत्रको उन्नत व्यवस्थापन र चक्रीय चरन पद्दतिलाई अङ्गिकार गर्नुपर्ने हुन्छ।  

ऊर्जा तथा भूमीको प्रयोगमा उच्च सुधार ल्याउन बजारको वास्तवमा नै अहम् भूमिका हुन्छ, तर २०१७ को आँधीबेहरीको मौसमले हामीलाई जलवायुको आपतकालीन स्थिति र यसबारे अविलम्ब र सशक्तरुपमा उठाउनुपर्ने कदमको स्मरण गराएको छ। ऊर्जाको अधिग्रहण तथा उपभोग र भूमीको प्रयोग विधि आदिलाई  परिवर्तन गर्न निकै ठूलो प्रोत्साहन तथा नीतिगत रुपरेखाको आवश्यकता पर्छ। यसले मात्र जलवायु परिवर्तन रोक्न मार्ग प्रशस्त पार्न सक्छ।  

तर नआत्तिऔं, हाम्रो पृथ्वी बचाउन अझै समय छ। परिवर्तनको सुरुवात भइसकेको छ अनि यो धेरै मान्छेले अनुमान गरेभन्दा छिटो भएर पनि निस्कनेछ।  

(जुल्स कर्टेनहस्ट 'रकी माउन्टेन इन्ष्टिच्युट'का प्रमुख कार्यकारी अधिकृत हुन्।)  

अनुवाद: एकराज पाठक