January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

१९ औं महाधिवेशनको सङ्घारमा चिनियाँ कम्युनिष्ट पार्टी

प्रकाश 

यही अक्टुवर १८ तारिख तदनुसार कार्तिक १ गतेदेखि चीनको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशन राजधानी पैचिङमा हुन गइरहेको छ।  

महाधिवेशनका अन्य तयारीहरूसँगै महाधिवेशनका निम्ति पार्टीका विभिन्न समितिहरूबाट २ हजार २ सय ८७ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भइसकेको चिकपा केन्द्रीय कार्यालयको आधिकारिक विज्ञप्तिमा जनाइएको छ।  

महाधिवेशन प्रतिनिधिमा पार्टीका नेताहरूमात्र नभई उत्पादन र अन्वेषणका क्षेत्रमा सक्रिय पार्टी सदस्य मजदुर र किसानहरू, विभिन्न अल्पसङ्ख्यक जातीय समूहका पार्टी सदस्यहरू, महिला सदस्य र तल्लो तहको सैनिकसम्म रहेको बताइएको छ। पार्टी महाधिवेशन प्रतिनिधिहरू देशको आर्थिक, औद्योगिक, कृषि, विज्ञान र प्रविधि, राष्ट्रिय सुरक्षा, राजनीतिक र न्यायिक क्षेत्र, शिक्षा, प्रचारप्रसार, संस्कृति, स्वास्थ्य सेवा, खेलकुद र सामाजिक व्यवस्थापनको क्षेत्रमा सक्रिय पार्टी सदस्यहरू रहेको बताइएको छ।  

पार्टी महासचिव एवं चिनियाँ राष्ट्राध्यक्ष सि चिनफिङलगायत पार्टी केन्द्रीय समिति राजनीतिक व्युरोका ४७ जना नै नेताहरू महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।  

नेता सि चिकपाको १२ औं क्विचाउ प्रान्तीय महाधिवेनबाट गत अप्रिलमै सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको थियो। सि निर्वाचित भएको घोषणा हुँदा ७३० सदस्यीय महाधिवेशनका प्रतिनिधिहरूले हर्षाेल्लासपूर्वक ताली पिटेका थिए। 

त्यस्तै चिकपा केन्द्रीय समिति राजनीतिक व्युरोको स्थायी समितिका अरु सदस्यहरू लि खछ्याङ, झाङ तेजियाङ, यु झेनसेङ, ल्यू चुनशाङ, वाङ किशान र झाङ कावली क्रमशः क्वाङसी झुआङ स्वशासित प्रदेश, भित्री मङ्गोलिया स्वशासित प्रदेश, सिनच्याङ उग्युुर स्वशासित प्रदेश, युनान प्रान्त, हुनान प्रान्त र शान्सी प्रान्तबाट निर्वाचित हुनुभएको हो।  

अपरिवर्तनीय विश्वास, अनुशासन र जनवाद 

विश्वको सबैभन्दा ठूलो जनसङ्ख्या भएको देशको विश्वकै सबैभन्दा ठूलो राजनीतिक पार्टीको महाधिवेशन भएको हुनाले पनि चिकपाको १९ औं महाधिवेशनले विश्वको ध्यान आकर्षित गरिरहेको छ। तर त्योभन्दा पनि विश्वको सबभन्दा तीव्र दरको आर्थिक वृद्धि भएको अर्थतन्त्रको देश र चिकपा महाधिवेशनको नीति निर्णयले चीनको मात्र नभई विश्वकै अर्थतन्त्रमा समेत प्रभाव पर्ने भएकोले महाधिवेशन धेरैको रुचिको केन्द्र बनेको छ।  

स्थापनाको ९६ वसन्त पार गरिसकेको चिकपाले झण्डै सात दसकदेखि चीनमा शासन सञ्चालन गर्दैआएको छ। यस अवधिमा चिकपाले बहुमत चिनियाँ जनताको अत्यन्त उत्साहपूर्ण साथ र समर्थन पाएको छ भने चीन सरकारले विश्वलाई नै आश्यर्चचकित पार्नेगरी देशको सबै क्षेत्रमा अद्भूत विकास गरेको छ। यसबीचमा चीन विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बनेको छ र सबैभन्दा ठूलो अर्थतन्त्र र सबैभन्दा बढी आर्थिक वृद्धिदर भएको देश बन्ने मार्गमा अग्रसर छ।  

चिनियाँ कम्युनिष्ट पार्टीले देशमा चिनियाँ विशेषताको समाजवादी व्यवस्थालाई गहन बनाउँदै समृद्ध समाज निर्माण गर्ने र चीनको पुनर्जागरण गर्ने लक्ष्य राखेको छ। चिकपाको अर्काे लक्ष्य भनेको विश्वकै सबैभन्दा शक्तिशाली पार्टी बन्ने पनि हो।  

चीन र चिकपाको यी सफलता पछाडि जनताको सेवा गर्ने पार्टीको मूल ध्येयमा अपरिवर्तनीय विश्वास, पार्टी अनुशासन र जनवाद मजबुत आधार रहेका छन्। 

सन् १९२१ मा जतिबेला चिकपाको स्थापना भयो, त्यस पार्टीमा ५० जनामात्र सदस्य थिए। चिकपाको सही लक्ष्य र नीतिको कारण त्यसको शक्ति बढदै गयो। चिकपाले जापानी सम्राज्यवादलगायत विभिन्न पश्चिमा उपनिवेशवादबाट चीनलाई मुक्त गर्‍यो। १९४९ मा चीनको मुख्य भूमिमा नयाँ चीन (जनगणतन्त्र चीन) स्थापना गर्‍यो।  

चिकपाले जब क्रुर विदेशी आक्रमण र विडम्बनापूर्ण र गृहयुद्धबाट प्रताडित गरिब राष्ट्रबाट आत्ननिर्भर र समृद्ध राष्ट्रतर्फ डोर्‍याउन सुरु गर्‍यो, पार्टीप्रतिको जनसमर्थनमा व्यापक वृद्धि हुँदै गयो। चिकपामा हाल ८ करोड ९४ लाख ४७ हजार पार्टी सदस्य रहेका र त्यत्तिकै सङ्ख्यामा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनमा उम्मेदवार सदस्यहरू भएका बताइएको छ। सन् २०१५ यता मात्र पनि चिकपामा ६ लाख ८८ हजार नयाँ सदस्य थप भएका छन्। त्यस्तै पार्टीका आधारभूत एकाइ समितिहरू १ लाख ५ हजार वटा वृद्धि भई ४५ लाख १८ हजार वटा पुगेको जनाइएको छ। चिकपाका हालको पार्टी सदस्य सङ्ख्या युरोपेली राष्ट्र जर्मनीको कूल जनसङख्या भन्दा बढी हो। चिकपाका सदस्यहरू जनताको सेवा गर्ने र जनतालाई नै आफ्नो भाग्यको मालिक बनाउने पार्टीको मूल ध्येयमा अडिग छन्। 

चिकपा स्थापनाको १०० औं वर्षमा सन् २०२१ सम्ममा चीनलाई मध्यम रुपले समृद्ध समाज (सियाओकाङ) सम्म पुर्‍याउने लक्ष्यमा चीन दृढ छ। विगत ३० वर्षको अवधिमा ७० करोड जनतालाई गरिबीको अवस्थाबाट मुक्त गरी समृद्ध तुल्याएको बताइन्छ। सन् २०१२ मा चिकपा महासचिवका रुपमा सि चिनफिङ निर्वाचित भएपछि अझ धेरै काम भएका छन्। अझै कोही गरिबीमा छन् भने सबैभन्दा पहिलो अवसर तिनीहरूले पाउनुपर्छ भन्ने नारा अहिले व्यापक प्रचार र कार्यान्वयन भइरहेको छ। गरिबीविरुद्धको हाम्रो लडाइँको मार्गमा कुनै एक परिवार पनि गरिबीमा बाँचिरहेको हुनु हुँदैन।” गत वर्ष फ्रेबुअरीमा पूर्वी चीनको चियाङसी प्रान्तको शेनशान गाउँ निरीक्षणको क्रममा गाउँले र गाउँका पार्टी अधिकारीहरूसित छलफल गर्दै महासचिव सिले भन्नुभएको थियो। 

सुदृढ पार्टी अनुशासन 

चिकपाका सफलताका कथाहरूले जनतमाको जीवनस्तर सुधारमा ठूलो भूमिका खेलेको चर्चा गर्दा पार्टीभित्रको सुदृढ अनुशासनलाई बिर्सन सकिंदैन। चिकपाले आफ्नो ९६ औ स्थापना दिवस मनाइरहँदा पार्टी समितिहरू र सदस्यहरूमाथि सुपरीवेक्षण गर्ने समयानुसार थप परिमार्जित र सुदृढ नियमावली जारी भएको थियो। 

सन् २०१२ मा सम्पन्न चिकपाको १८ औं महाधिवेशनपछि पार्टी अनुशासन निरीक्षणलाई स्वच्छ बनाइएको छ र पार्टीको आन्तरिक जनवादी प्रणालीमा सुधार गरिएको छ। 

त्यस पार्टी महाधिवेशनपछि चिकपा केन्द्रीय समितिको राजनीतिक व्युरो र राजनीतिक व्युरोको स्थायी समितिसित अनुशासन निरीक्षण निकायले २३ पटक बैठक गर्‍यो।  

केन्द्रीय अनुशासन निरीक्षण निकायको बैठकमात्र पनि ११५ पटक बस्यो। 

आफू राज्यको जिम्मेवारीमा आएपछिदेखि नै राष्ट्राध्यक्ष सिले भष्ट्राचारविरुद्धको लडाइँमा जोड दिंदै आउनुभएको छ। यस पाँच वर्षभित्र निरीक्षणका नयाँ विधिहरू अन्वेषण गरिएका छन्। केन्द्रीय अनुशासन निरीक्षण अङ्गको १२ औं चरणको निरीक्षणसम्ममा २७७ पार्टी सङ्गठनहरू जाँच गरिएका छन्, १६ प्रान्तीय तहका समितिहरू पुनःजाँच गरिएका छन्। केन्द्र मातहतका चार प्रतिष्ठान तथा सरकारी अङ्गमा छड्के अनुगमन गरिएका छन्। 

अनुशासन निरीक्षण निकायले तल्लो तहमात्रै नभई उच्च तहका अधिकारीहरूको अनियमियतता र अधिकार दुरुप्रयोगमा पनि कारबाही गरेको छ। सन झेङकाइ, सु.रोङ र ह्वाङ सिङकुओ जस्तो उच्च अधिकारीमाथि मुद्दा चलाई दण्डित गरेको छ। त्यस्तै विभिन्न प्रान्तका प्रान्तीय तहको अनुशासन निरीक्षण निकायहरू पनि सक्रिय छन्। निरीक्षण टोलीहरूले ५८ हजार भ्रष्टाचारका घटना पत्ता लगाई त्यसमा १२२५ नगर तहका अधिकारीहरू र ८६८४ काउन्टी तहका अधिकारीहरूमाथि कारबाही गरेको छ। 

त्यस्तै निरीक्षकहरूले ३१३३ चिकपा अधिकारीहरूलाई अमिल्दो कार्यशैलीमा जिम्मेवार ठहर्‍याएका थिए भने १६ सय वटा घटनामा कानुन उल्लङ्घन भएको पत्ता लगाएका थिए। 

प्रभावकारी पार्टी जनवाद 

चिकपाको विस्तार र सफलताका लागि चिकपाभित्रको आन्तरिक जनवादलाई सुरुदेखि नै अमूल्य तत्त्वका रुपमा लिइएको छ। चिकपा जनवादी केन्द्रीयताको आधारमा सञ्चालन हुन्छ भने सबै पार्टी सदस्यहरूले पार्टीको नीतिहरूका बारेमा छलफल गर्न पाउँछन् र नेतृत्वलाई सुझाव दिन पाउँछन्। 

पार्टी केन्द्रीय समितिदेखि प्रान्त तहका समिति, काउन्टी, नगर, गाउँ र एकाइ समितिहरूमा समेत आन्तरिक जनवाद सुदृढ गरिएको छ। त्यसैले पार्टी सदस्यहरूले पार्टीले लिएका निर्णयहरूमाथि प्रश्न उठाउन र परिमार्जन गर्नका निम्ति सुझाव दिन सक्छन्। 

“चिकपाका सदस्यहरूको वंशाणुमै जनवाद रहेको छ। त्यसैले जनवादी प्रणाली लागू हुनमा चिकपाभित्र कुनै समस्या छैन।” चीनको चिङकाङशान कार्यकारी नेतृत्व प्रतिष्ठानका उप कार्यकारी प्रमुख मेइ लिमिङ भन्नुहुन्छ। 

मेह चिङकाङशान युगको चिकपाको क्रान्तिकारी इतिहास औल्याउँदै चिनियाँ जनमुक्ति सेनाको तहको निर्धारणसमेत पार्टीका जनवादी प्रणालीको अभ्यासबाट हुने गरेको बताउनुहुन्छ। 

चिनियाँ प्रशासन प्रतिष्ठानका प्राध्यापक ल्यु तोङचाओ पनि आन्तरिक जनवाद चिकपाको अमूल्य तत्व भएको बताउनुहुन्छ। 

“अन्तर पार्टी जनवादलाई बढावा दिएर सबै पार्टी सदस्यहरूलाई प्रेरित गरेर मात्रै चिकपाले आफ्नै गल्तीहरू पनि सच्याउन सक्छ, पार्टीको एकतालाई सुदृढ पार्न, पार्टी राजनीतिक जीवनमा थप स्फूर्ति भर्न तथा चिनियाँ विशेषताको समाजवादको निरन्तर विकास गर्न सक्छ।” प्रोफेसर ल्यू जोड दिनुहुन्छ। 

चिकपा १९ औं महाधिवेशन सफलताको कामना गर्दै विश्वभरका मित्र राष्ट्र र मित्र पार्टीहरूका तर्फबाट शुभकामना आइरहेको जनाइएको छ। चिकपा महाधिवेशन पूर्ण सफलताको कामना ! 

–श्रमिक साप्ताहिकबाट