January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

मनपरी गर्नु र बोल्नु प्रजातन्त्र र स्वतन्त्रता होइन

प्रजातन्त्र र स्वतन्त्रता भनेको मनपरी बोल्नु र मनपरी गर्नु होइन। मनपरी बोलेर, मनपरी गरेर गणतन्त्र संस्थागत र सुदृढ हँदैन। निर्वाचन आयोगले निर्वाचनको पूर्वसन्ध्यामा मन्त्रिमण्डल विस्तार नगर्न पटक–पटक ध्यानाकर्षण र खबरदारी गर्दा गर्दै मन्त्रीहरू थप्नु देउवा सरकारको मनपरीतन्त्र हो। मनपरीतन्त्र निरङ्कुशरतन्त्रको एक उदाहरण हो। यसले एक महिनाको लागि मन्त्री नियुक्त गर्ने सरकार र एक महिना मन्त्री बन्न आतुर पार्टीको दृष्टिकोण साँगुरो र सङ्कीर्ण रहेको थाहा हुन्छ।  

यसअघि राप्रपाले सरकारमा नजाने निर्णय गरेको थियो, सरकारको लोभ नभएको बताएको थियो। तर, त्यो निर्णयको मसी सुक्न नपाउँदै राप्रपा सरकारमा सामेल भयो। सरकारमा सामेल माओवादी केन्द्रले सरकारमै बसेर विरोध गरिरहेको छ। सरकारको समर्थन फिर्ता नलिने र मन्त्री पनि नछोड्ने माओवादी केन्द्रका नेताहरूको दाबी छ। प्रतिपक्षहरूसँग चुनावी तालमेलको राजनीतिमा हामफालेपछि नैतिकताको आधारमा सरकार छोड्नुपर्ने कुरा पनि उठाइरहेको छ। 

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूले आइतबार निर्वाचन आयोगमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको बन्दसूची बुझाए। नेमकिपाले पनि उम्मेदवारको बन्दसूची बुझायो। दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि २ सय २० उम्मेदवारहरूको सूची बुझाउनुपर्छ। समानुपातिक उम्मेदवारको लागि बन्दसूची बुझाउँदा दलहरूले देशभरिबाट प्रतिनिधिसभाका लागि कम्तीमा ११ जना र प्रदेशसभाका लागि कम्तीमा २६ जनाको नामावली बुझाउनुपर्छ। अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्रलाई समेटेर सूची बुझउँदा हरेक समूहमा ५० प्रतिशत महिला हुनुपर्ने बन्दोबस्त छ। दलहरूले बुझाएको सूचीमा रहेका व्यक्तिहरूको असोज ३० देखि कार्तिक ५ सम्म सच्याउन सकिने छ।–मेरिना शाक्य