January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

तपार्इं आफ्नो जात त्याग्न सक्नु हुन्छ?

 राजन 

प्रसङ्ग अलि पुरानै हो। ऋषि पञ्चमीको सन्दर्भमा देखिएको अन्धविश्वासको बारेमा केही शब्द सामाजिक सञ्जालमा व्यक्त गरेको थिएँ। लेखेको थिएँ, 'हाम्रा दिदी बहिनीहरू महिनावारीको पाप पखाल्ने पर्व ऋषिपञ्चमी पनि गर्वका साथ मनाउँछन् ! अन्धविश्वासको पराकाष्ठा !' एकजना फेसबुके साथीले अरुको संस्कृतिलाई अपमान गर्न सुहाउँदैन भनी टिप्पणी गरे। अरुको संस्कृति भनेको कसको भनेर मैले जिज्ञासा राख्दा जवाफ आयो, बाहुन क्षेत्रीको। त्यसको अर्थ मलाई गैर बाहुन क्षेत्री भनेर चिनेछ। त्यही भएर ऋषि पञ्चमीबारे गरेको मेरो विचार बाहुन क्षेत्रीको संस्कृतिप्रति अपमान ठहर गरेको रहेछ। यदि मैले गरेको टिप्पणी बाहुन क्षेत्री थर जनाउने कुनै मान्छेले गरेको भए त्यसमा साथीको यस्तो आपत्ति रहने थिएन होला। वास्तवमा मैले अन्धविश्वासको मात्र विरोध गरेको हो, कुनै जाति विशेषप्रति अपमान गरेको होइन। हाम्रो देशमा जातीयताले कति नराम्ररी जरो गाडिएको रहेछ भन्ने यो एउटा प्रतिनिधि घटनामात्र हो। नेपालमा जात जातिबीचको बैमनस्यता पढेलेखेका भनाउँदासमेत जातीय विवादमा कसरी नराम्रो ढङ्गले फसिसकेका रहेछन् भन्ने कुराको यो एउटा सानो दृष्टान्त हो। 

एउटै जातिका दुई व्यक्तिबीच विवाद भयो भने, झगडा विषयवस्तुमै सीमित हुन्छ तर फरक जातका व्यक्ति पर्‍यो भने चाहिँ विवाद जातीयतामा गएर टुङ्गिन्छ। उदाहरणको लागि लिम्बु र बाहुनबीच विवाद भयो भने लिम्बुले भन्छ, 'बाहुन भनेका मान्छे ठिक छैन', अर्कोतिर बाहुनले भन्छ, 'यो मतुवाली जातसित सङ्गत गर्न हुँदैन।' विवाद हुनुको कारण एक जातले अर्को जातमाथि दोष लगाइन्छ। मानौ झगडाको कारण आफू नभई फरक जातले गर्दा भएको हो। अनि आफ्नो जातका व्यक्तिमात्र असल हुने र फरक जातका मान्छे खराब हुने। 

केही समय अगाडि भारतीय चर्चित अभिनेता अमिताभ बच्चनले एउटा सन्दर्भमा आफ्ना नातिनीहरूलाई एउटा पत्र लेखेका थिए। उक्त पत्रको आशय अरू कुनै होला तर अमिताभले आफ्नो जात र थरको अति गर्वका साथ उल्लेख गरेका छन्। अमिताभ गर्वका साथ आफ्ना नातिनीलाई भन्छन्, तिम्रो हजुरबाजेको गरिमामय थर तिमीहरूको काँधमा आएको छ। अनन्तकालसम्म यसलाई कायम राख्ने प्रयास गर्नू। यो प्रसङ्गले पनि देखाउँछ कि, मान्छे जति नै विद्वान भए पनि ठूला जातलाई आफ्नो जातमाथि अभिमान हुनेरहेछ। त्यसैले जति नै समानताको कुरा उठाए पनि ठूला जातले मनैदेखि जातको मामलामा उदार हुन सकेको छैन। नेपालको पश्चिमी क्षेत्रमा एउटा थर छ 'चन्द'। जुन थरले त्यस क्षेत्रको रैथाने, उपलो जात र खानदानी वर्ग जनाउँछ। त्यस जातका केही मान्छेहरू अहिले ठकुरी जोडेर आफ्नो थरलाई अरूभन्दा अझै उपल्लो जात भएको देखाउने प्रयास गर्दैछन्। तर यो स्थितिको ठीक उल्टो कुनै कुनै जातका मान्छे आफ्नो थर लुकाउन चाहन्छन्। नेपालमा यस्ता साना जातको रूपमा विभाजित गरिएका वर्ग पनि छन् जसलाई आफ्नो वास्तविक जात र थर भन्नलाई लाज लाग्छ। तिनीहरू आफ्नै थरका कारणले हिनताबोधले ग्रसित छन्। त्यसैले तथाकथित साना जातका मान्छेले आफ्ना थर भन्न हिचकिच्याउँछन्। उनीहरू आफ्नो थर फेर्नसमेत अग्रसर रहेका हुन्छन्। कतिको त थर फेरीदा सरकारले दिएको आरक्षणको सुविधाबाट बञ्चित हुनुपरेको कैयौ घटना छन्। यसबाट के प्रष्ट हुन्छ भने तल्लो जात भनेर समाजले कलङ्कित गरेका मान्छेहरूले कति मानसिक तनावमा जीवन बिताइरहनु परेका रहेछन्। हालसालै मात्र तथाकथित तल्लो जातिले 'दलित' हटाइ शिल्पी शब्द समावेश गर्न माग गरेका छन्। राष्ट्रिय शिल्पी आन्दोलन नेपालले नेपालको संविधानमा आफूहरूलाई हेला गरी 'दलित' भनी लेखिएकामा आपत्ति जनाउँदै दलित हटाई 'शिल्पी' शब्द समावेश गर्न माग गरेको छ। आदिम कालदेखि पेशाका रुपमा लत्ताकपडा, गरगहना, हातहतियार, भाँडावर्तन, कृषि औजार, जुत्तालगायत सामग्री, पोशाक, घर, मठमन्दिर, महल दरबार, देवस्थल, मुकुट, सिंहासनलगायत शिल्पसम्बन्धी पेशा व्यवसाय गर्दै आएका विश्वकर्मा, सार्की, दमाईं, गन्धर्व, वादी, पोडे, च्यामे, मोची, धोबी, कोरी, तत्मा, दुसाध, पासीलगायत जातिलाई अपमानित गरेर दलित भनिएकामा विरोध गरिएको छ। 

जातीयता कति सापेक्ष हुनेरहेछ भन्ने कुरा भारतमा माहात्मा गान्धीको हत्या हुँदा त्यहाँका तत्कालीन सहर प्रमुखले सोधेका थिए “मार्ने मान्छे को हो?” माहात्मा गान्धीको हत्या गर्ने व्यक्ति 'हिन्दू' भएको कुरा सुन्दा उसले ठुलै राहतको सास फेरेका थिए। कुरो के रहेछ भने मुसलमानले मारेको भए देशमा ठूलै दङ्गा हुने थियो। यसरी हत्या पनि निरपेक्ष रहन सकेन, कारण जातीयता नै हो। 

देशभित्र जातीयताको बहसले स्पेन टुक्रिने तरखरमा छ। जातीय द्वन्द्वले रोहिन्गा मुसलमान आफ्नो थातथलो छोडेर शरणार्थी भएर बसिराख्नुपरेका छन्। अमेरिकाले सिरियामा जातीय एकतालाई समूल नष्ट गरेर अरब देश एक हुने सम्भावनालाई सदाको लागि अन्त्य गर्न चाहन्छ। सिरियामा सिया र सुन्नी प्रमुख जाति रहेछन्। सरकार सिया समुदायका राष्ट्रपति बसर अल असादको नेतृत्वमा रहेको छ। पश्चिमाहरूले यही कुराको आडमा सुन्नीहरूलाई उचालेर विद्रोह मच्चाइरहेका छन्। गजबको कुरा के भने त्यसको ठीकविपरीत इराकमा सियालाई उचालेर सुन्नी जातका सद्दाम हुसेनको विरुद्ध विद्रोह गर्न लगाए। परिणामस्वरुप भएको द्वन्द्व अहिले पनि साम्य हुन सकेको छैन। संसारभरिको वर्तमान द्वन्द्व वास्तवमा जातीय कारणले भइरहेको भन्ने कुरामा दुईमत नहोला। जस्तो अफ्रिकाकै द्वन्द्वलाई लिने हो भने पनि जातीय कारणले नै हो। जातीय कारणले नै नाइजेरिया टुक्रिएर पनि फेरि जोडेको मुलुक हो। त्यसैगरी जातीय द्वन्द्वले राजनीतिक भागबण्डा कतिसम्म हँुदोरहेछ भन्नेे कुराको लेबनान एउटा राम्रो उदाहरण हो। त्यहाँ उच्च पद विभिन्न जात जातिलाई छुट्याइएको हुन्छ। राष्ट्रपति क्रिश्चियन, प्रधानमन्त्री सुनी मुस्लिम, सभामुख सिया मुस्लिम, उपप्रधानमन्त्री इष्टर्न अर्थडोक्स आदि। कुनै पनि मुलुकभित्रको वर्तमान द्वन्द्व वास्तवमा जातीय कारणले भइरहेको भन्ने कुरामा दुईमत नहोला। 

त्यसैले कुनै पनि मुलुक एकपटक जातीय द्वन्द्वमा फसेपछि हतपत्ति त्यसबाट मुक्त हुनसक्दैन र त्यतिबेला विदेशीले उनीहरूको अनुकुलताअनुसार द्वन्द्वरत देशलाई नचाउन सक्दारहेछन्। उत्तर कोरियामा विदेशीले खेल्न नसक्नुको अनेक कारणमध्ये कोरियालीहरू एकै जातको भएर पनि हो। यो कुरा हामी सबै नेपालीले मनन गर्नसके विदेशीले खेल्ने 'स्पेस' कम हुन्छ। त्यसैले नेताहरूले नेपालीहरूबीचको जातीय वैमनस्यलाई हटाउन नेपालीमात्र पहिचान गर्ने खालको नयाँ उपायको खोजी गर्नुपर्छ जसले 'नेपाली' बाहेक अन्य कुनै परिचयको आवश्यकता नै नपरोस्। समाजको हितको लागि भनेर राजनीति गर्नेले अब ज्यानको माया मारेर होइन आफ्नो जातको माया मारेर राजनीति गर्नुपर्ने देखिन्छ। ठूला दलका ठूला नेताहरू प्राय तथाकथित ठूलै जातका परेका छन्। ठूलाले ठूलो मन देखाएर उनीहरूबाट यो कामको थालनी हुनुपर्छ। यदि राष्ट्र्रलाई बचाउने अनि सम्पूर्ण जनताको हितको रक्षा गर्ने हो भने जातीयता पनि त्याग्न सक्नुपर्छ अनिमात्र हामी आधुनिक, सुन्दर, शान्त र समतामूलक नेपालको परिकल्पना गर्न लायक नागरिक बन्न सक्छौं की? 

नेपालमा अहिले जुन जातभातको कुरा उठिरहेको छ त्यो राष्ट्रबाट आएको राष्ट्रियतासँग जोडिएको हो। नेपालमा जसलाई जाति भनिन्छ त्यो जाति नभई वर्ण व्यवस्थामात्र हो। जाति भन्नाले आर्य, द्रबिड, हब्सी, ककेसियन, मङ्गोलियन आदि मान्छेका जाती हुन्। ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र आदि वर्ण व्यवस्थाका उपज हुन्। वैदिक ज्ञानमा रहेर हेर्दा पनि ब्राह्मण, क्षेत्री, बैश्य, शुद्र एकै कुल वा जातिका सन्तान हुन्। यो त्यतिखेरको श्रम विभाजन व्यवस्थाले गरेको विभाजनमात्र हो। जेसुकै होस् जबसम्म यो नामको पछाडि तथाकथित जात जनाउने शव्द हुन्छ हामीलाई निरपेक्ष रूपमा सत्य बोल्न गाह्रो हुने भयो। अब यो समस्या समाधानको लागि हामीले जात त्यागेर देखाउनुपर्छ। कोही छ त्याग्न तयार ?