January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

न्हू दँ (नयाँ वर्ष) मा सांस्कृतिक र्‍याली

आज म्ह पूजा, नेपाल संवत् फेरिएको दिन। आज शुक्रबारदेखि नेपाल संवत् ११३८ सुरू भएको छ। नेपाल संवत् फेरिएको अवसरमा नेपालभाषा साहित्य तःमुंज्याले शुक्रबार सांस्कृतिक र्‍यालीको आयोजना गर्‍यो। र्‍यालीमा तःमुंज्याले नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप बन्द गर, साम्राज्यवादी युद्धको धम्की बन्द गर, दुईदलीय तानाशाही मुर्दावाद, देशद्रोही र जनविरोधी शासक दलहरूदेखि सावधान, अपराधीकरण र गुण्डागर्दी मुर्दावाद आदि नारा अघि सार्‍यो।  

र्‍यालीमा हजारौं प्रदर्शनकारीहरूको सहभागिता रह्यो। दर्जनौं वाद्यवादनको टोलीले बजार सङ्गीतमय रह्यो। बाँसुरीको धुन, मादल, धाँ, लालाखिं, पछिमाय् र धिमाय् बाजाको टोली र्‍यालीको आकर्षण रह्यो। गलसी पुखुको माक प्याखँ (बाँदर नाच) र भार्वाचाको श्री नासखल हैमा बाजाखलको प्वङासहितको सांस्कृतिक टोली अर्को आकर्षणको पक्ष रह्यो।  

र्‍यालीमा नेमकिपाका नेता तथा कार्यकर्ता, किसान, मजदुर, शिक्षक, महिला, युवा, विद्यार्थी, कर्मचारी, उद्योगी, व्यापारी, व्यवसायीमात्र होइद वृद्धवृद्धाहरू पनि सरिक भए। र्‍यालीको अर्को आकर्षण महिलाहरूको मात्र होइन स्कूल र कलेजस्तरका विद्यार्थीहरूले लाएको नेवारी पोशाक रह्यो। नेवारी पोशाक लाएका विद्यार्थीहरू बाजाको ताल र सुरूमा परिक्रमा अवधिभर नाच्दै आएको दृश्यले दर्शकहरूको मन खिच्यो।  

सूर्यमढीबाट सुरू भएको सो सांस्कृतिक र्‍याली दत्तात्रय, इनाचो, सुकुलढोका, टौमढी, नासमना, तेखापुखु, इटाछें हुँदै खौमामा पुगी सभामा परिणत भएको थियो। र्‍यालीमा टोल–टोलका विभिन्न वाद्यवादनको टोली, विभिन्न सहकारी संस्था, दाफाभजनका समूह, सामाजिक सङ्घ संस्था, विद्यालय, पुस्तकालय, खेलकुद समिति आदिको व्यापक सहभागिता थियो।  

व्यापक सहभागिता र्‍यालीको सकारात्मक पक्ष हो। र्‍यालीको स्वागतार्थ बजारको दायाँ बायाँ बसेर हेर्ने हजारौं दर्शकहरूको उपस्थिति अर्को सकारात्मक पक्ष हो।  

र्‍यालीको समापनमा पार्टीका नेता तथा कार्यकर्ता, जनप्रतिनिधि, वाद्यवादनका गुरू, वाद्यवादन टोली प्रमुख, शिक्षक, महिला, युवा, विद्यार्थी, समाजसेवी, भाषाप्रेमी आदिले खौमास्थित मास्टर जगतसुन्दर मल्लको प्रतिमामा पुष्पार्पण गरेका थिए। पुष्पार्पणसँगै अतिथिहरूको मन्तव्य व्यक्त भयो। त्यस्तै १९ औं विविध भाषा साहित्य सम्मेलनले पनि सोही दिन बिहान सांस्कृतिक र्‍याली गर्‍यो। भिन्तुना र्‍याली चारदोबाटो बोडबाट सुरु भएको थियो। 

–मेरिना शाक्य