January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी र चिकपाको आसन्न १९ औं महाधिवेशन

 नरेन्द्र 

क्टोबर क्रान्तिको शतवार्षिकी 

सन् १९१७ मा युरोप महादेशको अत्यन्त पिछडिएको देश रुसमा समाजवादी क्रान्तिले सफलता हासिल गर्‍यो। सन् १८७४ मा पेरिस कम्युनको विजयपछि समाजवादले प्राप्त गरेको त्यो पहिलो ऐतिहासिक विजय थियो। कार्ल मार्क्सले युरोपका विकसित देशमा समाजवादले विजयको झण्डा फहराउने अनुमान गर्नुभएभन्दा फरक घटना थियो त्यो। सर्वहारा वर्गका नेता लेनिनले आर्थिक सामाजिक रुपमा पछाडि परेको र औद्योगिक विकास भइनसकेको देशमा समेत समाजवादी क्रान्ति विजयमा टुङ्गिन सक्छ भन्ने दृष्टान्त विश्वसामु प्रस्तुत गर्नुभयो। मानव सभ्यताको इतिहासमा त्यति विशाल भू–भागमा एउटा क्रान्ति सफल भई मजदुर वर्गको शासन सत्ता स्थापना भएको भने त्यो पहिलो घटना थियो। अक्टोवर समाजवादी क्रान्तिको सफलताले विश्व समाजवादी आन्दोलनको निम्ति उत्साह–पुञ्जको भूमिका निर्वाह गर्‍यो। साथै उपनिवेशवादविरुद्ध जागी उठ्न जनतालाई उत्प्रेरित गर्‍यो र एशिया, अफ्रिका, ल्याटिन अमेरिका र विश्वका विभिन्न भागमा स्वाधीनता सङ्ग्रामको लहर ल्यायो। विभिन्न देशहरूमा कामदार वर्गका पार्टी, सङ्गठन स्थापना भए र मजदुर आन्दोलनले एउटा निश्चित बाटो पायो। चीन, कोरिया, भियतनाम, लाओस, क्युवा र पूर्वी युरोपमा समाजवादी क्रान्तिले तीव्रता पायो र समय क्रममा सफलता पनि हासिल गर्‍यो। 

मानव समाजको इतिहासमा सोभियत समाजवादले विश्वमा उल्लेख्य योगदान पुर्‍याउँदै अनेकौं सफलता एवं आश्चर्यजनक उपलब्धि प्राप्त गरे तापनि खु्रश्चेभदेखि गोर्भाचोभसम्मको गद्दारीका कारण सन् नब्वेको दशकसम्म आइपुग्दा त्यसले अस्थायी हार बेहोर्‍यो र देश  बिखण्डित हुन पुग्यो। यद्यपि सोभियत समाजवादको तेज आज पनि अनुभव गरिइँदै छ र त्यसको महत्ता आज झन बढेको प्रष्ट छ। फेरि एकचोटि सोभियत समाजवादका उपलब्धि, अक्टोवर क्रान्तिको सफलता, सोभियत नेतृत्वका विराम र समाजवादको पुनरुत्थानबारे चर्चा–परिचर्चा विश्वका कुना कन्दरामा गरिइँदै छ।  

 

चीन र अक्टोबर क्रान्तिको सन्देश 

अक्टोबर क्रान्तिको सफलताले चिनियाँ जनतासमक्ष मार्क्सवादको सन्देश पुर्‍यायो भन्दा अतियुक्ति नहोला। त्यस क्रान्तिको सफलताको चार वर्षपश्चात् चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भयो। जापानी उपनिवेशवाद र सम्पूर्ण प्रतिक्रियावादी शक्तिविरुद्ध लड्न चिकपाले जनतालाई नेतृत्व प्रदान गर्दै समाजवादको विजयका सम्भावना एवं अपरिहार्यता एकपछि अर्को उघार्दै लग्यो र अन्ततः सन् १९४९ अक्टोवर १ को दिन समाजवादी क्रान्तिको सफलताको घोषणा भयो। चिनियाँ समाजवादी क्रान्ति अक्टोबर क्रान्तिको विजयको सिलसिलाकै रुपमा पनि लिइन्छ।  

अक्टोबर क्रान्तिले विशेषगरी मजदुरहरूको तागत विश्वसामु उजागर गर्‍यो र विश्व मजदुर आन्दोलनलाई ठूलो ऊर्जा प्रदान गर्‍यो। त्यसैगरी बहुसङ्ख्यक चिनियाँ किसानहरूमा पनि क्रान्तिको सन्देश पुर्‍यायो र विश्व समाजवादी आन्दोलनमा किसानहरूको भूमिकाबारे विश्वलाई अवगत भयो र विश्वसामु एउटा अर्को ऐतिहासिक उदाहरण बन्यो।  

 

समाजवादी चीन र चिनियाँ लक्ष्य 

एउटा औपनिवेशिक एशियाली मुलुक चीन, उपनिवेशवादी तथा साम्राज्यवादी शक्तिहरूद्वारा धुजा–धुजा पारिएको देश चीन र अत्यन्तै खोक्रो एवं दरिद्र पारिएको चिनियाँ धर्तीमा सर्वहारा वर्गका नेतृत्वमा किसान विद्रोहहरूपश्चात् सशस्त्र क्रान्ति तथा समाजवाद स्थापना भएको भर्खरै ६८ औं वार्षिकोत्सव सम्पन्न भयो। यी सात दशकभित्र चीन अर्थतन्त्रको हिसाबले विश्वमा दोस्रो स्थानमा पुगिसकेको छ र अझ अगाडि बढ्दै छ। विज्ञान तथा प्रविधि, सैन्य क्षेत्र तथा सामाजिक न्याय आदिमा पनि चीन दु्रततर रुपमा अगाडि बढिरहेको यथार्थ हो। पूँजीवादी व्यवस्थाले २–३ सय वर्षमा हासिल गर्न नसकेका उपलब्धि केही दशकमा प्राप्त गर्नसक्नु समाजवादको विजय हो र पूँजीवादभन्दा समाजवाद अगाडि बढेको तथा बेहत्तर व्यवस्था हो भन्ने प्रमाण हो। यद्यपि चिनियाँ नेताहरू चीनमा समाजवाद प्रारम्भिक चरणमा रहेको बताउँछन्। यस अर्थमा समय सँगसँगै चीनले थप 'चमत्कार' देखाउनेमा कुनै विवाद नहोला। 

पछिल्लो समयमा चीनले नयाँ रेशम मार्ग अर्थात् 'एक क्षेत्र एक मार्ग' को अवधारणा बाहिर ल्याएको छ र त्यसलाई साकार रुप दिन आवश्यक तयारी एवं पूर्वाधार निर्माणमा विशेष जोड दिइरहेको छ। विश्वका जनताको समृद्धिमा योगदान पुर्‍याउने, परस्पर हितमा ध्यान दिने र विश्वको शान्ति तथा समुन्नतिमा टेवा पुर्‍याउने लक्ष्यबमोजिम ल्याइएको यो योजना सबैको लागि फलदायी एवं हितकर हुने विश्वास लिन सकिन्छ। यसको सफलता सँगसँगै विश्व विकासको नयाँ चरणमा पुग्ने सम्भावना प्रवल देखिन्छ। 

चीनले समाजवादी व्यवस्था स्थापनाको सय वर्ष पुग्ने समयसम्ममा आधुनिक एवं विकसित समाज निर्माण गर्ने र त्यो भन्दा अगाडि चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको शतवार्षिकी सँगसँगै मध्यम स्तरको समृद्धशाली समाज स्थापना गर्ने लक्ष्य लिएको छ। यी दुइवटै शतवार्षिक लक्ष्यमा चीनलाई सफलता प्राप्त हुनेमा कुनै शङ्का छैन। यसप्रकार यो शताब्दीको पहिलो चौथाइतिर र आधाआधीतिर गरी दुई चरणमा चीन एउटा अगाडि बढेको शक्तिशाली तथा सुसंस्कृत समाज निर्माण गर्ने उद्देश्य आफैमा अनुपम छ। 

१८ औं महाधिवेशन 

नोभेम्वर २०१२ मा सम्पन्न चिकपाको १८ औं महाधिवेशनले कामरेड सि जिनपिङलाई सर्वसम्मत महासचिव चयन गर्‍यो। नयाँ नेतृत्व पाएसँगै चिकपाले पार्टीको आन्तरिक अनुशासन तथा व्यवस्थापनमा विशेष जोड दियो र प्रभावकारी एवं पारदर्शी कार्यशैली अवलम्बन गर्‍यो। भ्रष्टाचारविरुद्ध अभियान नै सञ्चालन भयो। पार्टीभित्र र राज्यका विभिन्न अङ्ग तथा क्षेत्रमा सल्बलाइरहेको भ्रष्टाचार जरैदेखि उखेल्न गरिएका प्रयासको चारैतिरबाट उच्च मूल्याङ्कन गरिएको छ। भिं्कगादेखि बाघसम्मलाई अर्थात ठूला या साना जुनसुकै भ्रष्टाचारीलाई बाँकी नराख्ने नीति चिकपाले घोषणा नै गर्‍यो र कार्यान्वयनमा कुनै किसिमको कन्जुस्याइँ गरिएन। चिकपाले वडो सरल तर प्रतिकात्मक भाषामा भन्यो – बीचमा कुनै स्याल लुकेर बसेको छ भने त्यसलाई पनि छोडिन्न। यसरी असल शासन, जनहितकारी व्यवस्था, चुहावटरहित विकास आदिको निम्ति जुनसुकै जोखिम उठाउन पनि चिकपा तयार रहेको सन्देश दिइएको छ। साथै कानुनी शासनको अवधारणालाई उच्च प्राथमिकतामा राख्दै जनतालाई न्याय, प्रजातन्त्रको यथार्थ किसिमले बोध गराउन यस बीचमा निरन्तर प्रयत्नहरू भएको देखिन्छ। पछिल्लो समय वातावरणीय प्रदूषण हटाउने र त्यसको निम्ति आवश्यक सम्पूर्ण पहल भइरहेको सर्वत्र महसुस गरिएको छ। सहरहरूको सौन्दर्यमा जोड दिने, सहरीकरण तथा औद्योगिकीकरणको क्रममा नागरिकहरूको स्वास्थ्यमा पर्नसक्ने असरतर्फ सरकार अत्यन्त संवेदनशील भएर लागेको पनि अनुभव गरिइँदै छ। एउटा दृढ अठोट तथा उच्च लक्ष्यका साथ गरिवी निवारण तथा समानतामा आधारित समाज निर्माणमा दरिला पाइलाहरू चालिएका छन् र ती पाइला क्रमशः उद्देश्य प्राप्तितर्फ अग्रसर छन्। 

यसबीचमा बलियो तथा सुदृढ सङ्गठन निर्माण तथा विस्तार अर्को महत्त्वपूर्ण उपलब्धि हो। कामरेड सि जिनपिङले तल्लो स्तर र जनस्तरमा सङ्गठन निर्माणलाई दु्रत्तता दिनुभयो र पार्टीभित्र मौलाइरहेको औपचारिकतावाद, कर्मचारी प्रवृत्ति, सुखसुविधाभोगी स्वभाव तथा भ्रष्टाचारलाई निमिट्यान्न पार्ने अभियान चालू राख्नुभयो। साथै नेता कार्यकतालाई जनताको सेवा, देशको आर्थिक उन्नयनमा अहोरात्र खट्न अभिप्रेरित गरेकै कारण आज चिकपाप्रति जनविश्वास बढ्दो छ। 'शक्तिशाली चिनियाँ कम्युनिष्ट पार्टीको निर्माणबाट शक्तिशाली आधुनिक चीन सम्भव छ' भन्ने स्पष्ट अवधारणाका साथ चिकपाको नेतृत्व, चीन र चिनियाँ जनता एकताबद्ध भई समाजवादको विजयको निम्ति लागिपरिरहेका छन्।  

 

चिकपाको १९ औं महाधिवेशन 

चिनियाँ कम्युनिष्ट पार्टी विश्वको सबैभन्दा ठूलो राजनीतिक दल हो। सन् २०१६ को अन्तसम्ममा यसको सदस्य सङ्ख्या झण्डै नौ करोड पुग्यो। जसमध्ये पुरुष ७४ प्रतिशत र महिला २६ प्रतिशत छन् भने कूल सङ्ख्याको ७ प्रतिशत अल्पसङ्ख्यक समुदायका छन्। समकालिन विश्वमा सबैभन्दा लामो अवधि सत्तामा रहेर जनताको ब्यापक सेवा तथा हितमा दत्तचित्त भई लागिरहेको पार्टी चिकपा हो।  

चिकपाले १८ औं महाधिवेशनलगत्तै र १९ औं महाधिवेशनको पूर्वसन्ध्यासम्ममा अत्यन्तै महत्त्वपूर्ण निर्णय लियो र पार्टीलाई एकताबद्ध, शक्तिशाली, प्रभावशाली एवं चोखो बनाउन हरसम्भव यत्नहरू गरिए। विचार, सिद्धान्त र नैतिकतालाई उच्च प्राथमिकता दिँदै सङ्गठन निर्माण तथा विस्तार, नयाँ पुस्ताको व्यवस्थित हुर्काइमा विशेष ध्यान पुर्‍याइएको प्रस्ट देखिन्छ। पार्टीभित्रका गलत तत्त्व र देश तथा समाजविरोधीहरूमाथि कडा ढङ्गमा प्रस्तुत भई पार्टीको क्रान्तिकारी छवि कायम राख्ने तथा जनता र देशप्रति वफादारी प्रष्टरुपमा निरन्तर प्रकट गर्ने कार्यमा चिकपाले सफलता हासिल गरिरहेको छ। विचारधाराप्रति सदा अटल रहँदै चिकपा र यसको नेतृत्वले चिनियाँ विशेषतासहितको समाजवादलाई उजिल्याउँदै लगिरहेको छ र विश्वलाई समाजवादप्रति आशावादी बन्न हौसल्याइरहेकोमा कुनै शंका छैन। प्रस्ट छ, आजको चीन र चिकपा येनान संस्कृतिको जगमा उठेको, हुर्केको र अगाडि बढेको हो। साथै अध्यक्ष माओ त्से तुङ विचारधाराको उज्यालो पाएरै आजसम्म चीन, चिकपा र चिनियाँ जनताले नयाँ, झन नयाँ चमक पाएको हो। यही अक्टोबर १८ तारिखमा सुरु हुने १९ औं महाधिवेशनले चिकपालाई सैद्धान्तिक तथा वैचारिक रुपमा अझ दरिलो र थप परिपक्व बनाउने र दूरदर्शी, जनप्रिय तथा प्रचुर क्षमताले युक्त नेतृत्व चयन गर्ने विश्वास छ, त्यसको लागि शुभकामना ! 

२१ औं शताब्दीको यो संवेदनशील कालखण्डमा हुने सम्मेलनले समाजवादको नयाँ लहर ल्याउन, समाजवादप्रति अगाढ आस्था एवं विश्वास जगाउन, विश्वभरि नयाँ आशाको सञ्चार गर्न सफल हुने दृढ विश्वास छ। विश्व साम्राज्यवाद नयाँ नयाँ सङ्कटमा फस्दै गइरहेको र आफ्नो शोषणको 'स्वर्ग' कायम राख्न छटपटाइरहेको तथा आतङ्कवाद, फासीवादले विध्वंश मचाउन थालेको आजको विश्व परिस्थितिमा चिकपाले महत्त्वपूर्ण निर्णय लिने र सुझबुझपूर्ण राजनीतिक व्यवहारलाई विश्वसामु अझ प्रस्ट रुपमा प्रस्तुत गर्दै युगले सुम्पेको जिम्मेवारी बहन गर्न अग्रसर हुने अपेक्षा छ। चीनलाई घेर्ने, युद्धमा तान्ने र फसाउने, अन्तर्ध्वंश मचाउने, आन्तरिक एकता खल्बल्याउने, बिखण्डित पार्ने जस्ता साम्राज्यवादीहरूका सम्पूर्ण प्रयास विफल पार्न जसरी चीन सफल सावित भइरहेको छ र विश्व शान्ति, साझा समृद्धि, चिनियाँ सपना, नयाँ रेशम मार्गजस्ता युगान्तकारी महत्त्वका विषयमा पनि सफलता हासिल गर्न सकोस्, शुभकामना हृदयदेखिको ! 

नब्वेको दशकमा सोभियत समाजवादको अस्थायी हार हुनेबित्तिकै पूँजीवादी चिन्तक तथा नेताहरूले समाजवादको अन्तिम दाहसंस्कारको घोषणा गर्दै मार्क्सवाद असफल सिद्ध भएको बताउँदै धेरै – धेरै बेर हाँसेका थिए। ठीक २५ वर्षपछि अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीमा चीन र चिकपाले पुष्टि गरोस् ती पूँजीवादीहरूले अलि चाँडै हाँसे, समाजवाद चिहानबाट उठेर तिनीहरूको ब्रम्हलुटको 'स्वर्ग' माथि अझ व्यवस्थितरुपमा धावा बोल्न तयार भइसक्यो, एक्काइसौं शताब्दी समाजवादको विजयको शताब्दी हुनेछ। चिकपाको १९ औं महाधिवेशनको पूर्वसन्ध्यामा चिकपा, चिनियाँ नेतृत्व र चिनियाँ जनतालाई नेपाली कामदार जनताको तर्फबाट शुभकामना तथा बधाई !