January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

सभ्य नागरिक बनौं

भक्तपुर नगरपालिका जनतालाई सेवा सुविधा दिन र पुर्‍याउन तत्पर छ। यसले शिक्षा, स्वास्थ्य र सरसफाइमा  उत्तिकै योगदान गर्दै आएको छ। सुन्दर, सफा, सभ्य नगरमा परिचित भक्तपुर नगरले पुर्‍याउँदै आएको भूमिका सिङ्गो राष्ट्रको लागि गौरवको विषय हो। देशका अरू नपाले पनि भक्तपुर नगरबाट धेरै सिक्नु छ, प्रेरणा लिनु छ। नपाको काम कारबाही अझ राम्रो बनाउन नगरवासीले आलोचना र विभिन्न विषयमा सुझाव दिइरहनुपर्ने हुन्छ। आलोचना र सुझावले सही, उचित, राम्रो बाटो देखाउँछ। राम्रोको प्रशंसा र कमिकमजोरीको आलोचना गर्नु नगरवासीको कर्तव्य हो।  

दरवार स्क्वायरको पश्चिम–दक्षिणको  लामो पाटी छेउबाट घट्खा हुँदै पोर्टरी स्क्वायरसम्मको बाटो पर्यटकीय एरिया भएकोले बढी हिंड्दुल गर्ने र चहल पहल हुने बाटो हो। ती क्षेत्रको बाटोमा बाटो नै ढाक्ने गरी पर्यटकीय पसलहरूले आफ्नो सामान फिजाइरहने गरेकाले यात्रुहरूलाई हिंडदुल गर्न समस्या भइरहेको छ। यसरी सामान फिजाइरहँदा अपर्झट एम्बुलेन्सजस्ता अत्यावश्यक सुविधाहरू लिनुपरेमा बाधा हुने निश्चित छ। यसतर्फ सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ। हो, पर्यटकीय क्षेत्रको विकास गर्नुपर्छ। पर्यटकीय केन्द्र बनाएर आयआर्जन गर्नुपर्छ।  

त्यस्तै नगरको पूर्वी प्रवेशद्वार च्याह्मासिंहदेखि दूधपार्टीसम्मको बजारको बाटोमा यत्रतत्र मोटरसाइकल पार्किङ बढिरहेको छ। कहिलेकाहीं बाटो साँगुरो भएको कारण स–साना गाडी चलाउन पनि समस्या हुन्छ। मोटरसाइकल पार्किङ गरिरहँदा यात्रुहरूलाई हिंड्ने बाटो नै हुँदैन। बन्द भएको हुन्छ। बजार क्षेत्रमा बाटौ छेक्नेगरी जहाँतहीं मोटरसाइकल पार्किङ गर्न निषेध गर्नुपर्छ। यसबारे नगरवासी आफै सचेत हुनु जरूरी छ भने नगरपालिकाले पनि उचित कदम चाल्नुपर्ने आवश्यक छ।  

– कृष्णराम सुवाल, भक्तपुर