January 20, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

आदर्शाेन्मुख समाज आजको आवश्यकता

सरकारले बनाएको ऐन कानुन सबैको लागि मान्य हुन्छ, हुनुपर्छ। कानुन सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्मको लागि हुन्छ, हुनुपर्छ। तर यहाँ जसको तरवार उसको दरवार भइरहेको छ। सामन्तवादी व्यवस्थाको अन्त्यसँगै हुर्किरहेको यो पूँजीवादी बन्दोबस्तमा अराजकताले ठाउँ पाउनु अस्वाभाविक होइन। यहाँ धनी र गरिबमात्र होइन असल र खराब चरित्रका पात्र छन्। समानताको बखान गरेर असमान व्यवहार गर्ने, चरित्रवान र चरित्रहीनहरू छन्। जनताको सेवा गर्ने र जनता ठग्नेमात्र होइन इमानदारीपूर्वक व्यापार व्यवसाय गर्नेदेखि कालाबजारी, कमिसनखोरहरू पनि यहाँ नभएका होइनन्। आफूलाई प्रजातन्त्रवादी र स्वतन्त्रताप्रेमी ठान्छन् तर अराजनीतिक गतिविधि गर्छन्, उद्दण्ड या उच्छृङ्खल राजनीति गर्छन्।  

समाजमा इमानदार राजनीतिक कार्यकर्ता छन्। समाजसेवी र बुद्धिजीवीहरू छन् तर मूर्ख बुद्धिजीवीहरू या अवसरवादी बुद्धिजीवीहरू पनि त्यत्तिकै छन्। यही समाजमा गुण्डा, डन, चोर, डाँका र उच्छृङ्खल व्यक्तिहरू छन्। हत्या–हिंसाको बाटो खोज्ने, चेलिबेटी बेचबिखन गरेर, बालबालिका बेपत्ता पारेर सम्पत्ति कुम्ल्याउने पेशेवर कार्यकर्ताहरू पनि छन्। मानव तस्करी, मृगौलाको व्यापार गर्ने तस्करीमात्र होइन यहाँ भ्रष्टाचारी, आर्थिक अनियमितता गरेर पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउने नेता, मन्त्री र कार्यकर्ताहरू छन्। मै लाउँ, मै खाउँ, मै मोज गरूँ भनी पल्केका समाजका पात्रहरूलाई नबदलेसम्म राम्रो समाज स्थापना हुँदैन, आदर्शोन्मुख समाज बन्दैन।  

सामाजिक अपराधीहरू दण्डनीय हुन्छ, हुनुपर्छ। अपराधी या दोषीमाथि कारबाही हुनुपर्छ। न्याय, स्वतन्त्रता जनताले पाउनुपर्छ। पक्षपात, शोषण, दमन हुनुहुँदैन। काखा र पाखाको व्यवहार गर्नुहुँदैन। शोषणरहित समाज स्थापना गर्नेतर्फ दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी, समाजसेवी र देशभक्त जनता लाग्नुपर्छ। समाजसेवीहरूको अभावले पनि समाजमा व्यक्तिवादी सोच र चिन्तनको विकास भइरहेको हो। दलका नेता तथा कार्यकर्ताहरू देश र जनताप्रति जिम्मेवार नभएसम्म, जिम्मेवार भएर समाजमा नभिजेसम्म न आदर्शोन्मुख समाज स्थापना हुन्छ न त शोषणरहित समाज नै स्थापना हुन्छ।  

–गौरव प्रधान